सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा चर्चित दुई ताल छन्, बुलबुले ताल र बराहताल । सुर्खेतको पर्यटन क्षेत्रमा यी दुई तालको विशेष महत्व छ । बुलबुले ताल नेपालकै चर्चित ताल हो । विभिन्न गीत संगीत र सडक सञ्जालका कारण बुलबुले ताल रारा र फेवा तालभन्दा पनि बढी चर्चित मानिन्छ ।
सडक सञ्जालबाट केही भित्र पर्ने भएकाले बराहताल धेरै चर्चित मानिदैन । तर पनि सुर्खेतमा यी दुई तालको महत्व बेग्लै छ । ताल पर्यटनको कुरा गर्दा यी दुई तालको नाम जिब्रोमै झुण्डिन्छ । नाम र चर्चाका हिसाबले बेग्लै भएपनि यी दुई तालको वर्तमान अवस्था भने फरक छ ।
नामअनुसार ताल हेर्न बुलबुले र बराहताल पुगेका जोसूकै यतिबेला निराश भएर फर्किने गरेका छन् । बुलबुले ताल यतिबेला फोहोरको डुंगुर बनिसकेको छ । बुलबुले तालको मुहान सफा देखिएपनि त्यो पानी गएर तालमा जम्मा हुँदा भने फोहोरको डंगुर देखिन्छ ।
तालमा प्लाष्टिक मात्रै थुपारिएको छ । पानी लगभग भूमिगत पारिएको छ । झारपात धेरै छ । तालमा पानी देखिदैन । पानी नदेखिए माछा देखिने कुरा झनै हुँदैन । बाहिरबाट हेर्दा बुलबुलेमा दिनमा सयौँ मान्छे पुग्दा त्यही फोहोर मात्रै हेरेर फर्किने गरेका छन् ।
बुलबुले ताल ठूलो क्षेत्रफलमा फैलिएको छ । तर क्षेत्रफलअनुसारको तालको संरक्षण देखिएको छैन । सफा गर्न नसकिएपनि फोहोर गर्न रोक्न सकिन्थ्यो । तर त्यो काम पनि देखिएको छैन । तालको उद्यानभित्र सयौँ मान्छे पुग्छन् । घुमघाम गरेर फर्किन्छन् ।
तर बुलबुले तालको पुननिर्माण, संरक्षण र व्यवस्थापनको काम नहुँदा नेपालका विभिन्न ठाउँबाट ताल पुग्ने मानिस निराश हुने गरेका छन् । उनीहरुले तालको दर्दनाक अवस्था देखेर कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिमाथि आक्रोशित हुने गरेका छन् ।
केही हप्ताअघि मात्रै कर्णालीका नामी डाक्टर नवराज केसीले बुलबुले ताल परिसरमा डुंगा लिएर प्लाष्टिक फोहोर संकलन गरेर सफा गरे । तर उनले सफा गर्दा फेरि त्यहाँ फोहोर थुप्रिसकेको छ । ‘ग्रिन सुर्खेत, क्लिन सुर्खेत’ अभियान उनले सयौँ हप्तामा लैँजादा पनि सुर्खेती पालिका र प्रदेश सरकार भने रमिते बनेको देखिन्छ ।
बुलबुलेभन्दा नाजुक र अस्तित्व लोप हुने अवस्थामा बराहताल बनेको छ । जसको पानी केही समयअघि नै सुकिसक्यो । तर तालको पानी किन सुक्यो भन्नेबारे अहिलेसम्म गहिरो अध्ययन तथा अनुसन्धान हुन सकेको छैन ।
बराहतालकै नामबाट सुर्खेतको बराहताल गाउँपालिका बनाइएको छ । तर ताल सुकिसकेको गाउँपालिकाले अहिलेसम्म त्यसको संरक्षणका लागि कुनै प्रयास गरेको छैन । कर्णाली प्रदेश सरकारमा बराहताल घर भएकै बिन्दमान बिष्ट अर्थमन्त्री छन् ।
तर उनले बजेटमा बराहताल संरक्षण गर्ने गरि कुनै शीर्षक र बजेट छुट्याएका छैनन् । यसले पनि कर्णालीको ताल पर्यटन ओझेलमा परेको देखिन्छ । बुलबुले तालको पर्यटन प्रवद्र्धनमा पछिल्लो समय कर्णाली उत्सवले उल्लेख्य योगदान दिएको छ ।
बुलबुले उद्यानमा लगातार तेस्रो वर्ष कर्णाली उत्सव कार्यक्रम आयोजना गर्दा पनि ताल संरक्षणमा प्रदेश सरकार र नगरपालिकाले कुनै चाँसो दिएका छैनन । ताल निर्माण तथा व्यवस्थापन गर्ने ठेकेदार कम्पनीलाई दोष देखाउँदै सबै पन्छिरहेका छन् । यसले कर्णालीको महिमा बढाउने सम्भावना रहेपनि वर्तमान अवस्थाले भने कर्णालीको अल्छी प्रवृत्ति सतहमा ल्याइदिएको छ ।
कर्णालीको राजधानी सुर्खेतमै रहेका बुलबुले र बराहताल संरक्षण गर्न नसक्नुले प्रदेश र पालिका सरकारले नेपालकै ऐतिहासिक राराताल, शे–फोक्सुन्डो ताल, स्यार्पू ताल र कुपिन्डे दह जस्ता पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धनमा पनि बेवास्ता देखाइरहेका छन् ।
जलवायू परिवर्तनले पर्यटकीय स्थल र ताल संरक्षण चुनौतिपूर्ण बनेका बेला भविष्यमा प्रदेश र स्थानीय सरकारको बेवास्ता महंगो पर्नेछ ।