दैलेखको महाबु, हुम्लाको लिमी र जुम्लाको पाटन । फोटो स्रोत : कर्णाली ग्यालरी/गुगल/फेसबुक
सुर्खेत : कर्णालीको भौगोलिक विकटता, अभाव, गरिबी र खराब प्रवृत्तिका विषयमा धेरै बहस हुन्छ । त्यससँगै कर्णालीको सुन्दर पर्यटकीय क्षेत्रका बारेमा पनि त्यत्तिकै चर्चा परिचर्चा हुन्छ । तर कर्णाली प्रदेश पर्यटकीय क्षेत्रले भरिपूर्ण भएपनि यसको सम्भावना भने अझै उजागर हुन सकेको छैन ।
कर्णालीमा ट्रेकिङ पर्यटनका हिसाबले विभिन्न जिल्लाका पाटनहरु सर्वाधिक सुन्दर छन् । तर ती पर्यटकीय गतिविधि र प्रवद्र्धनका हिसाबले ओझेलमा छन् । कर्णालीका पाटनमा दैलेखको महाबु क्षेत्र, जुम्लाको तातोपानी पाटन र हुम्लाको लिमी भ्याली उपत्यकाको पाटन क्षेत्र सर्वाधिक सुन्दर छ ।
तर यो क्षेत्रको पर्यटन प्रचार प्रसार भने पर्याप्त छैनन । अहिलेसम्म यी पाटन क्षेत्रलाई लक्षित गरेर कुनै पनि पर्यटकीय गतिविधि सञ्चालन गरिएको छैन । यसका साथै पाटन क्षेत्रलाई थप व्यवस्थित गर्ने र पर्यटक जाने बाटो समय बनाइएको छैन् ।
जसले गर्दा कर्णालीमा पनि स्वीजरल्याण्डजस्ता पर्यटकीय पाटन क्षेत्र भएपनि ओझेल परेका छन् । विगत पाँच वर्षमा कर्णाली प्रदेश सरकारले पाटनलाई प्रवद्र्धन गर्न कुनै पनि योजना र बजेट ल्याइएको छैन ।
यस वर्ष कर्णाली प्रदेश सरकारले हुम्लाको लिमी भ्यालीलाई संग्राहालय बनाउने घोषणा गरेको छ । केही बजेट पनि विनियोजन गरेको कर्णाली प्रदेश सरकारको बजेटमा उल्लेख छ । तर त्यो कार्यान्वयन कसरी हुन्छ ? हेर्न बाँकी छ ।
यस्तै दैलेखको महाबु क्षेत्र जति सुन्दर छ । त्यसलाई चलचित्र छायांकन स्थलका रुपमा प्रचार प्रसार गर्ने उद्धेश्य कर्णाली प्रदेश सरकारले राखेको छ । तर अहिले पनि उचित व्यवस्थापनको काम भएको छैन । प्रदेश सरकारले पाटन क्षेत्रमा पर्यटन प्रचार प्रसार बढाएपनि पालिका सरकारले भने बेवास्ता गर्दै आएका छन् ।
जुम्लाको सुन्दर पाटन क्षेत्रमा भने अहिलेसम्म गोठालाहरुको मात्रै भ्रमण छ । यार्सागुम्बा टिप्न जाने बेला केही स्थानीय पनि पाटनमा बस्ने गरेका छन् । तर त्यस्ता हरियाली पाटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु भने जान सकेका छैन ।
जाने बाटो र पूर्वाधार पनि बनाइएको छैन । जसकारण कर्णालीका हरियाली र सुन्दर पर्यटकीय क्षेत्र पाटन ओझेलमा छन् । ती पाटनमा होटल, रिसोर्ट, गल्फ सेन्टर, ट्रेकिङ रुट जस्ता पूर्वाधार कहिले बन्छन् ? एकिन छैन । जसकारण कर्णालीका पाटन क्षेत्र स्वीजरल्याण्ड बन्ने सम्भावना रहेपनि सम्भावनाकै गर्भमा सीमित रहेका छन् ।