म्याग्दी : मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ ।जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा र बेनी नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतानलगायत ठाउँमा यतिखेर धान रोपाइँ सुरु भएको हो ।
रासायनिक मल नपाएपछि मकै बालीमा पनि मल नहालेका यहाँका किसान धानखेतीका लागि नभई नहुने रासायनिक मल नपाइँदा विनामल खेत रोप्न बाध्य भएका हुन् ।“पानी परेर खेतका गरा भरिएका छन्, ब्याडमा बीउ बढेर घाँस बन्न थालेको छ, मल पाइन्छ कि भनेर केही दिन कुरेका हौँ”, अहिलेसम्म पनि मल नपाइएपछि विनामल नै रोपाइँ सुरु गरेका छौँ”, बेनी नगरपालिका–२ सानालेखका नारायण सापकोटाले भने ।
विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष छिटो पानी परेकाले रोपाइँ सुरु गरिएको स्थानीय किसानको भनाइ छ । पानीको समस्या नभएपछि विनामल नै किसानले रोपाइँ गरेका हुन् । कतिपय किसानले त धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् ।
उनीहरुका अनुसार खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैन, यस्तो अवस्थामा पनि धान रोप्नै प¥यो, मल नपाए यस वर्ष उत्पादन घट्ने चिन्तामा किसान छन् ।
“समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्ने थियो तर मलविना नै खेती गरेका छौँ, धानबाली पनि मकै बालीजस्तै हुने हो कि भन्ने चिन्ता छ”, पाखुका कृषक भविलाल घिमिरेले बताए । रासस