मुगुको खेसमालिका पहाड । जुन अग्लो टुप्पो छ । त्यो ठाउँमा प्राय हिउ पर्छ । हिउँ पर्दा सुन्दर देखिन्छ ।
सुर्खेत : मुगु कर्णालीको हिमाली जिल्ला हो । जसलाई कर्णालीको सिरानी पनि भनिन्छ । नेपालको सबैभन्दा ठूलो राराताल मुगुमै भएका कारण पनि मुगुको सुन्दरता र अलौकिक महत्व देश विदेशमा चर्चाको विषय हो ।
तर रारातालको सुन्दरतामा रमाउने धेरैलाई मुगुका अन्य ठाउँका विषयमा धेरै थाहा नभएको हुन सक्छ । राराताल बाहेक मुगुलाई कर्णालीकै आँखाबाट हेर्नेको संख्या पनि ठूलै छ । यस्तो पुरानो दृष्टिकोण बदल्न लागिपरेका युवा हुन्, मुगुकै वीरेन्द्र रोकाया ।
उनी खासगरि फोटोग्राफी गर्न रुचाउँछन् । अहिलेसम्म उनले फोटोग्राफीलाई मात्रै व्यवसायिक बनाएका छैनन । तर उनको फोटो कुनै व्यावसायिक फोटोग्राफर भन्दा कम छैनन । सामाजिक सञ्जाल फेसबुक र आफ्ना फोटोहरुमा वीरेन इरागन भन्न तथा लेख्न रुचाउने उनी मुगुका नाम चलेको फोटो पत्रकारका रुपमा परिचित छन् ।
उनले मुगु छाडेका छैनन । सुर्खेत र काठमाडौँ पनि त्यति धेरै परिचय बनाएका छैनन । तर मुगुमै बसेर उनले राराताल बाहेकको सुन्दरलाई पनि नेपाल र विश्वभरी चिनाइरहेका छन् । मुगुका सचेत र जाँगरिला युवामा पर्ने इरागन आफ्नो रुचिलाई व्यावसायिकतामा ढाल्न प्रयासरत छन् ।
उसो त उनी मुगुको खत्याड आसपासका सूचना पनि जिल्ला बाहिर दिन्छन् । तर त्यो भन्दा बढी उनी आफ्नो खत्याड क्षेत्रको सुन्दरतालाई क्यामेराको लेन्समार्फत विश्वभर चिनाउन प्रमुख भूमिका खेल्दै आएका छन् । उनको फोटोग्राफी नजिकबाट नियाल्नेका लागि हामीले उनैले खिचेका ११ वटा तस्बिर प्रस्तुत गरेका छौँः
मुगु र बाजुराको बीचबाट बग्ने कर्णाली नदीको अविरल यात्रा ।
मुगुको नौलामेलाबाट देखिएको चिमाडुग्री गाउँ । जुन साच्चिकै सुन्दर छ । तर स्थानीयको संघर्ष पनि त्यत्तिकै छ ।
मुगुको कवा खोलो । अनि छेउकै रानिचौर, गडिगा बस्ती । बाटो र खोलाको आकर्षक दृश्य ।
रारा ताल जाने खत्याडको बाटो । छेउमा खोला अनि शितल र हरियाली बाटोको सम्मिश्रण ।
मुगुको गम्था जिउलो । बाटो, माटो र भिरालो ठाउँमा बस्ती बस्दा पनि सुन्दर देखिन्छ ।
जुम्लाको जिलजिला पाटन क्षेत्र । जहाँ भेडाका बथान मात्रै होइन, खोलाको पानी र हरियालीको बेग्लै सुन्दर दृश्य छ ।
मुगुको ब्रुसु र रिठा रातापानी गाउँ । स्थानीय तहका जनप्रतिनिधिको डोजरे विकासको एउटा नमूना काम ।
खत्याड गाउँपालिकाको सैन गाँउ र सुकाढिक । जहाँ पहाडमा घर र तल सम्ममा खेतबारी छ । मन लोभ्याउने तस्बिर ।
मुगुको खत्याड क्षेत्रका घर र बस्ती । जहाँ साँघुरो बाटो छ । पहाडमा घर छन् । तर सुन्दर देखिन्छन् ।
खेतबारीको छेउमै टुसुक्क बसेर सुल्पामा तमाखु हालेर सन्तुष्टिको श्वास फेर्दै मुगाली ।
मुगुको खत्याड क्षेत्रका घर र पारिपट्टि सुदूरपश्चिमको चर्चित सैपाल हिमाल ।