कालिकोट । कालीकोटमा निर्माणाधीन दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र परेका छन् । रकम अभावले आयोजना अलपत्र परेका हुन् । जिल्लाका उच्छव खोला, हाउडिगाड, बालीगाड, घट्टेगाड, थिर्पुगाड, मालकोट लघुजलविद्युत् आयोजना निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् ।
यसैगरी केही समय सञ्चालन भएर मर्मत सम्भारको अभावमा बन्द भएका लघु जलविद्युत्मा घट्टेखोला, लाफागाउँ, औंँलाखोला, बच्चुगाड, भर्तागाड, बालीगाड, नाग्मगाड छन् । सान्नीगाड र भ्याकुने लघुजलविद्युत् मात्रै सञ्चालनमा छन् ।
यसैगरी करिब २० मेगावाट विद्युत् उत्पादन हुने लघुजलविद्युत् आयोजना रकम अभाव, स्थानीयवासीको विवाद र मर्मत सम्भारको अभावलगायतका कारणले अलपत्र भएका हुन् । अलपत्र परेकामा तिलागुफा नगरपालिका–१ फाइमहादेवको नाग्मगाडस्थित ५७ किलोवाट, नरहरीनाथ गाउँपालिका–७ माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला आयोजना छन् ।
त्यस्तै ३० किलोवाट क्षमताको तिलागुफा नगरापलिका –७ छाप्रेको वालिगाड खोला आयोजना, ३ किलोवाट क्षमताको तिलागुफा नगरपालिका–१० चिल्खायाको घट्टेखोला आयोजना विद्युत् उत्पादन भएर पनि समयमा मर्मत सम्भारको अभावमा बन्द भएका हुन् ।
यसैगरी ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडिगाड, नरहरिनाथ गाउँपालिकाको माल्कोट माइक्रो हाइड्रो र तिलागुफा नगरपालिकाको वालिगाड खोला लघुजलविद्युत् आयोजनालगायत दर्जनौैं आयोजना रकम अभावले अलपत्र छन् ।