म्याग्दी : म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एक दशकयता झाडीमा परिणत हुँदै गएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा ग्रामीण विपन्न वर्ग समस्यामा पर्दै गएका छन् । उनीहरूलाई साँझ, बिहान हातमुख जोड्न पनि मुस्किल हुँदै गएको छ ।
सुविधा भोगी प्रवृत्ति, बसाइँसराइ र स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडी मुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझिएको हो । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएको भए पनि जिल्लाका युवा भने पाए युरोप–अमेरिका नपाए खाडी मुलुक भए पनि जान बाध्य छन् ।
चुनावका समयमा कृषि क्रान्तिका भाषण गर्ने राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवाला सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले भू–उपयोग नीतिलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा भएको जग्गा जमिन बाँझै राखेर चर्को मूल्यमा आयातित खाद्यान्न किनेर खान बाध्य हुनु परेको छ । युवा विदेशिने र सहर पलाएन हुनेक्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो ।
बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा, जमिन बाँझै छाडेका छन् । युुवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ ।
स्थानीय तहको निर्वाचनका लागि सहरबाट गाउँ आएका युवा केही दिनका पाहुना जस्तै मात्र भएका छन् । ्््दसैँ, तिहार, महामारी, प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाले भरिभराउ हुने गरे पनि सहज अवस्थामा भने गाउँ युवा विहीन हुने गरेको बेनी नगरपालिका–२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताए ।