जनकपुर : कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जनभन्दा बढी गाउँ बस्ती डुबान र कटानबाट सुरक्षित भएका छन् ।
धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीमा आउने बाढीका कारण बर्सेनि डुबान र कटानको समस्या खेप्दै नदी आसपासको गाउँ बस्ती तटबन्ध निर्माणसँगै सुरक्षित भएका हुन् ।
तटबन्ध निर्माणसँगै धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबेला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका तथा सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकाको विभिन्न वडाका गाउँ बस्ती सुरक्षित भएको स्थानीयले बताएका छन् ।
बस्ती संरक्षण तथा कटानमा परेका जग्गा उकासका लागि कमला नदी नियन्त्रण आयोजना जनकपुरधामले कमला नदीमा तटबन्ध निर्माण गरेपछि बस्ती मात्र सुरक्षित भएको छैन, ठूलो क्षेत्रफलमा जग्गा नदी उकाससमेत भएका छन् ।
बस्ती सुरक्षित बनाउन कमला खोलामा माटो, चपरी तथा ढुङ्गा हालेर तटबन्ध निर्माण गरेपछि धनुषा र सिरहाको करिब २६ हजार ८८७ घरधुरी लाभान्वित भएको कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।
उनका अनुसार कमला नदीमा ६८ दशमलव २५ किलोमिटर तटबन्ध बनाउँदा दुवैतर्फ करिब दुई हजार ५०० हेक्टर जग्गा उकास भएको छ भने ५० हजार हेक्टर खेतीयोग्य जग्गा सुरक्षित भएका छन् । जसका कारण एक लाख ४५ हजार ६५३ प्रत्यक्ष लाभान्वित भएको प्रमुख यादवले बताए ।