जाजरकोट । विगत १० वर्षको बीचमा भारी क्षति व्यहोरेको जाजरकोट बल्ल लयमा आएको छ । स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासका साथै गाउँमा जोडिएका सडकले यहाँको स्वास्थ्य क्षेत्र सुधारिएको हो ।
कहिले झाडापखाला त, कहिले भाइरलका कारण समस्या भोगिरहने जाजरकोट पछिल्ला दुई वर्षमा सो दर शून्यमा झरेको छ । स्वास्थ्य क्षेत्रमा बढेको जनचेतना र राज्यको लगानी भित्रिएपछि जाजरकोटले स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको छ ।
दुई वर्षअघि डोकोको सहारामा पिठ्युँमा बिरामी बोक्ने जाजरकोटका गाउँमा अहिले यातायातका साधनमै सजिलैसँग स्वास्थ्य संस्था पुग्न थालेको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंहको भनाइ छ ।
उनी भन्छन्, “भर्खरै मात्र १५ शय्याको अस्पताल शिलान्यास भएको छ । प्रशासकीय केन्द्रलगायत तल्लो क्षेत्रमा सडक सञ्जालले छोएपछि आम मानिस सजिलै स्वास्थ्य संस्था जान र आउन सक्ने भएका छन् ।”
“पहिले बारेकोटबाट बिरामी बोकेर सदरमुकाम ल्याउन दुई दिनभन्दा बढी लाग्ने गर्दथ्यो” उनले थपे, “अहिले अधिकांश औषधि लिम्सालगायत सबै वडामा रहेका स्वास्थ्य संस्थामा पाइने गरेको छ ।” झाडापखालाको समयमा बढी थलिएको बारेकोटमा अहिले स्वास्थ्य सूचक जिल्लाकै एक नम्बर भएको छ ।
सदरमुकाममा ५० शय्याको अस्पताल निर्माण शुरुसँगै नयाँ आशाका किरण पलाएको नागरिक अगुवा सहदेव बस्नेतले जानकारी दिए । । उनले भने, “कर्णाली प्रदेशमा ५० शय्याको अस्पताल सुर्खेतपछि जाजरकोटमा निर्माण हुन लागेको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल मात्र भएको सन्दर्भमा जाजरकोटमा ५० शय्याको अस्पताल निर्माण शुरु भएको छ ।”
हालका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री रहँदा विसं २०७३ जेठ १० गते ५० शय्यामा स्तरोन्नति भएको भनी उद्घाटन गरिएको थियो । अहिले जिल्लाको शिवालय, नलगाड, छेडागाड र बारेकोटमा १५ शय्याको अस्पताल उद्घाटन गरी सेवा शुरु गरिएको छ ।
स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्था कसले राम्रो बनाउने विषयमा होडबाजी छ । औषधि पसलको सहारामा चलेको जाजरकोटको स्वास्थ्य सेवा विस्तारै सरकारी सेवाको पकडमा आएको आम नागरिक बताउँछन् ।
धामी, झाँक्रीको भरोसा मान्ने समाज स्वास्थ्य सेवाप्रति विश्वस्त हुँदै आएको छ । असुरक्षित तरिकाले गोठमा सुत्केरी हुन बाध्य पार्ने जाजरकोटको कुनाकन्दराका गर्भवतीहरु अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुँदा सो दरसमेत ह्वात्तै बढेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले बताएको छ ।
अन्य क्षेत्रभन्दा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सबै सरोकारवाला सहमत मात्र भएका छैनन्, जिल्लामै डिप्लोमा इन फार्मेसी पढाइसमेत शुरु भएको छ । गाउँगाउँमा भारी मात्रामा पाइने औषधि पसल विस्थापित भएका छन् ।
औषधि पसलमा जथाभावी औषधि सेवन गर्दा सरकारी स्वास्थ्य सेवाबाट पाइने औषधिले काम नगर्ने समस्या अहिले मेडिकल विस्थापितसँगै हल भएको छ । जाजरकोटमा पहिलोपटक लागेको झाडापाखालबाट सरकारी रेकर्डअनुसार १६६ जनाको मृत्यु भएको थियो । दोस्रोपटक २९ जनाले ज्यान गुमाएका थिए ।