सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बस्ने धेरै जसोलाई याद छ, ‘दाह्री भाईको चिया पसल ।’ याद नभएपनि केही छैन । एकपटक काँक्रेविहार पुग्नेलाई दाह्री भाईको चिया पसल थाहा भैहाल्छ ।
नाम जस्तै स्पष्ट छ, दाह्री भाईको चिया पसलको विशेषता । सजिलो गरि भन्दा उनी चिया बेच्छन् । सरल चिया । एक कप चिया बेच्ने यात्रा थालेका भाईको नाम हो, सुरज क्षेत्री । भाई भन्नेबित्तिकै उमेरको कुरा आउँछ, २४ वर्ष ।
उनले २० वर्षकै उमेरमा चिया पसल खोलेका हुन् । गहुँगोरो गोलो अनुहारमा कालो दाह्री भएका कारण उनी दाह्रीवाला बने । एक समय विश्वकै चर्चित सेलिब्रेटी लियोनल मेस्सी, विराट कोहली, म्याक्सवेल, नेयमार, करिम बेन्जेमा जस्ता खेलाडीलाई दाह्रीवाला भनिन्थ्यो ।
अनि दाह्री भएका युवाहरुले जिस्क्याउनैका लागि ‘दाह्री ग्याङ’ बनाएका थिए । अनुहारमा दाह्री पाल्न रुचाउने भएपछि सुरज पनि त्यसैमा मिसिएका हुन् ।
उनको त्यही दाह्रीले आज युवाहरुको रोजाईको व्यापारी बनाएको छ । अनि त्यही नामको चियापसलबाट आज उनी हजारौँ रुपैयाँ कमाइरहेका छन् ।
घुम्ती पसलबाट चिया पसल
उनले सानैदेखि बोर्डिङ स्कुल पढे । सुर्खेतमा बोर्डिङ स्कूल पढ्नु पैँसा तिर्न फलामकै चिउरा चपाउनुसरह । उनलाई पढाउन आमाबुवालाई दुःख भयो । त्यो उनले राम्ररी महसुस गरेका थिए ।
जेनतेन एसएलसी उनले पास गरे । के पढ्ने ? धेरैथोक मनमा आयो । जतिबेला उनका आमाबुवाले घरै अगाडि घुम्ती पसल राखेका थिए ।
घुम्ती पसलमा त्यही चाउचाउ, चुरोट, बिस्कुट थियो । आम्दानी खासै थिएन । तर जेनतेन घरमै बसेका बेला आमाबुवालाई व्यस्त बनाउँथ्यो ।
एसईई पास गरेपछि सुरजलाई के गरौँ के गरौँ ? लाग्यो । सोच्दासोच्दै उनलाई चिया बेचौँ भन्ने लाग्यो । त्यसपछि उनले घरमै रहेको ग्यास अगाडि राखेर चिया बनाउन थाले । साथ दिने आमा बुवा छँदै थिए । दाजु भाउजु पनि थपिए ।
थोरै प्लाष्टिकका कुर्सी थपे । प्लाष्टिककै टेबल पनि राखे । चार पाँच जना अट्न मिल्ने ठाउँ बनाए । काँक्रेविहार जाने बाटोमै उनले घुम्ती पसलबाट चिया पसल थाले ।
सुरुमा दिनमा १५ देखि २० वा २५ कपसम्म चिया बिक्री हुन थाल्यो । चिया खानेले चुरोट पनि खान थाले । घुम्ती पसलभन्दा चिया पसलबाट कारोबार बढ्यो । आम्दानी पनि बढ्ने भयो नै । सुरुमा दिनमा चार पाँच सय व्यापार हुन्थ्यो ।
चिया पसलबाट दैनिक १५ सयको ब्यापार कट्न थाल्यो । सुरज फुरुङ भैहाले ।
‘चिया पसल खोलेको पहिलो दिनमै ७०० कमाई भयो । त्यतिबेला मन यति धेरै खुशी भयो’ त्यतिबेलाको उत्साह र उमंग सम्झिदै सुरजले भने, ‘हामीलाई पैँसा पनि चाहिएको थियो । पहिलो दिनबाटै राम्रो कमाई भएपछि धेरै खुशी भयौँ ।’
त्यसपछि उनको चिया पसलले रफ्तार समात्यो । दैनिक ७ सयदेखि १५ सय हुँदै पाँच हजारको हाराहारीमा कमाई हुन थाल्यो । अहिले उनको दैनिक त्यो कारोबार उकालो लाग्दो छ ।
चियाबाट मट्का चिया
पछिल्लो दुई वर्षदेखि उनी मट्का चिया पनि बेच्छन् । मट्का काठमाडौँमा चर्चित बनेको ब्राण्ड हो । भक्तपुरका एक जना साथीबाट उनले मट्कालाई सुर्खेतमा भित्र्याएका हुन् ।
पछिल्लो समय उनी मट्का चियाका लागि नेपालगञ्जबाट माटोको कप ल्याउने गरेका छन् । सुरुमा सुरुमा उनी बाइकमा माटोको कप ल्याउने गरेका थिए । जतिबेला उनले साह्रै संघर्ष गर्नुपर्यो ।
तर अहिले सजिलै नेपालगञ्जबाटै ढुवानी भएर उनकोमा आइपुग्छ । त्यति गाह्रो छैन । मट्का चिया स्वादिलो पनि छ । महंगो पनि छ । त्यो भन्दा महत्वपूर्ण कुरा मट्का चियाको स्वाद बेग्लै छ ।
त्यही स्वादमा युवाहरु झुम्मिएका छन् । यसैले दाह्री भाई चियापसलवाला सुरजको व्यापार पनि फस्टाउँदो छ । चियाबाट मट्का चियाको ब्राण्ड बेचिरहेका उनी स्पेशल चियाका साथै बदाम राखिएको पिनल चिया पनि बेच्ने गरेका छन् ।
त्यसबाहेक लस्सी लगायतका खानेकुराको आइटम उनी थप्दै गएका छन् । यसले उनको व्यापारको ग्राफ झन् उकालो लाग्ने देखिन्छ ।
चियाँ खादै देश बनाउनेको लर्को
उनको चिया पसलले चर्चा कमाउनुको पछाडि पसलमै बोर्ड टाँसेर लेखेका छन्, ‘देश बनाउँदै चिया खाने कि चिया खाँदै देश बनाउने ?’ यो स्लोगानले युवाहरुको ध्यान तान्छ ।
गफले देश बन्दैन । उनको ध्येय त्यही छ । त्यसैले चिया खाऔँ । अनि देश बनाउने कुरा पनि गरौँ । बनाउन नसकेपनि देश बनाउने कुरा गर्न सकिन्छ ।
प्रयासलाई सही थाप्न सकिन्छ । समर्थन गर्न सकिन्छ । वीरेन्द्रनगरको मुटु मंगलगढी चोकबाट काँक्रेविहार जाँदा गेट नजिकै दाह्री भाईको चिया पसल पुगेपछि देश बनाउने थुप्रै कुरा सुन्न पाइन्छ ।
मट्का चियाको स्वादसँगै घरदेखि बजार र काठमाडौँसम्मका चर्चा स्वभाविक रुपमा चल्छन् । एकान्त । शान्त । विशेष । अनि सररर हावा लाग्ने भएकाले पनि उनको चिया पसल युवाहरुको गफ चुट्ने थलो बनेको छ ।
चियासँगै देश बनाउने, भत्काउने र बिगार्नेको चर्चा स्वभाविक चलिहाल्छ । सुर्खेतमा रन्थनिएका धेरै युवा उनको चिया पसल पुग्छन् ।
उनी चियाले उनीहरुको आवेग शान्त पार्ने प्रयास गर्छन् । खासगरि विदेश जाने युवाका लागि उनी प्रेरणादायी युवा हुन् । २० वर्षकै उमेरमा उनले थालेको चिया पसलले अहिले मासिक डेढ लाखको कारोबार गर्छ । यो ग्राफ अझै उकालो लाग्दो छ ।
दैनिक पाँच हजारको हिसाब गर्दा मात्रै पनि यो आँकडा निस्कन्छ । उनका आगामी योजनाले मूर्त रुप पाएमा यो ग्राफले झ्न् फड्को मार्छ ।
कोरिया, जापान, अष्ट्रेलिया जाने सपना पालेका युवाका लागि उनी गाउँघरमै राम्रो व्यवसाय गर्न सकिन्छ भन्ने भरपर्दो उदाहरण हुन् ।
उसो त उनी आफैँ पनि विदेश जानैपर्ने दबाबलाई झेलेरै चिया पसल खोलेर राम्रो आम्दानी गरिरहेका युवा हुन् ।
‘एकपटक विदेश जानैपर्छ भन्ने ठूलो दबाब थियो । तर त्यो दबाब झेलेरै चिया पसल खोलेर काम थालेको हुँ’ उनले सारमा भने, ‘तर लाखौँ खर्चेर विदेश जानुभन्दा यही राम्रो गर्न सकिन्छ भन्ने उदाहरण सेट गरेका छौँ । यही ठूलो कुरा हो । त्यही भएर म त भन्छु, विदेश जानुपर्दैन । यतै केही गरौँ ।’