सुर्खेत : सुर्खेतका ९ वटै पालिकाले नयाँ आर्थिक वर्षको बजेट ल्याएका छन् । शुक्रबार सबैजसो गाउँपालिका तथा नगरपालिकाले आफ्नो बजेट ल्याएका हुन् । बजेट ल्याएका पालिकामध्ये सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकाले झण्डै दुई अर्बको बजेट ल्याएको छ । सबैभन्दा कम बजेट भने चिंगाड गाउँपालिकाले ल्याएको छ । जसको बजेट आकार ४९ करोड मात्रै छ ।
सुर्खेतका सबैजसो पालिकाले आफ्नो क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्न बजेट ल्याएका छन् । तर बजेट कार्यान्वयनका लागि स्पष्ट खाका ल्याउन भने सबैजसो जनप्रतिनिधि चुकेका छन् । मोटामोटी शीर्षक हालेर बजेट ल्याएपनि सबै कर्मचारीकै भर पर्दा वैज्ञानिक अध्ययन, अनुसन्धान र आवश्यकतालाई सम्बोधन गर्न जनप्रतिनिधि चुकेका देखिन्छन् ।
वीरेन्द्रनगर नगरपालिकाले पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउने योजना अघि सारेको छ । जसमा १ अर्ब ९४ करोड ११ लाख रुपैयाँको बजेट छ । जसमा चालु खर्च धेरै छ । पुँजीगत खर्च भने ५३ करोड रुपैयाँ मात्रै छ ।
पूर्वाधार विकास पर्याप्त नहुँदा वीरेन्द्रनगर उपमहानगरपालिका बन्न पनि सकिरहेको छैन । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि ५७ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको छ । जहाँ पूर्वाधार विकासदेखि रंगशाला निर्माणसम्मका योजनालाई प्राथमिकता राखिएको छ । धेरैजसो पुरानै योजना राखेर बजेट ल्याइएको छ ।
पञ्चपुरी नगरपालिकाले झण्डै ८६ करोड बराबरको बजेट ल्याएको छ । लेकवेशी नगरपालिकाले ७४ करोड ८७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ भने भेरीगंगा नगरपालिकाले ६७ करोड ५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सिम्ता गाउँपालिकाले ५९ करोड ३४ लाख बराबरको बजेट ल्याएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाखको बजेट ल्याएको छ । बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाखको बजेट ल्याएको छ । चिङ्गाड गाउँपालिकाले ४९ करोड ३८ लाखको बजेट ल्याएको छ । सबैभन्दा कम बजेट ल्याउनेमा चिंगाड गाउँपालिका परेको छ । चिंगाडभन्दा चौकुने र सिम्ताले ५० करोड कटाएर बजेट ल्याएका छन् ।
सुर्खेतका सबैजसो गाउँ तथा नगरपालिकाले पूर्वाधार विकासलाई जोड दिएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रको बजेट थोरै भएपनि स्पष्ट छैन । सडकमा धेरै बजेट हाल्दा पर्यटन र कृषिको पूर्वाधारमा बजेट पर्याप्त देखिएको छैन ।