कर्णाली खबर डटकम तपाईहरु माझमा प्रस्तुत गर्न पाउँदा हामी खुशी व्यक्त गर्छौ । दोभान मल्टिमिडिया प्रा.लि.द्धारा सञ्चालित कर्णाली खबर २०७७ बैशाख ३१ गतेदेखि प्रकाशनमा आएको कर्णाली प्रदेशकै विश्वसनीय समाचार पोर्टल हो ।
तीन महिनाको परीक्षण अवधि राखेर सञ्चालन गरिएको समाचार पोर्टलले झण्डै ९ महिनापछि परिपक्व भएर हुर्किदै नेपाल सरकार, सूचना तथा प्रसारण विभागबाट प्रकाशनको अनुमति लिन सफल भएको छ । यसका लागि सूचना विभागलाई धन्यवाद ।
परीक्षणकै क्रममा रहेको पोर्टलमाथि एउटा समाचारमा प्रयोग भएको विभत्स फोटोको कारण देखाएर प्रेस काउन्सिलले गएको जेठ २१ गते समाचार पोर्टल बन्द गरेको थियो ।
चर्चित सोती जातीय नरसंहारमा नवराज विक लगायत ६ जना युवा मारिएको घटनाका भित्री रहस्य खोल्दै समाचार लेख्ने क्रममा हामीले समाचार पोर्टल सञ्चालन गरेको २२ दिनमै काउन्सिलबाट प्रतिबन्ध झेल्नु परेको थियो ।
जुन नौ महिनापछि सूचना विभागमा दर्ता र प्रेस काउन्सिलमा अनलाइन साइट सूचीकृत भएपछि खुल्यो । यसबीचमा झण्डै नौ महिना हामीले निकै कष्टपूर्ण समय बितायौँ ।
एउटा विभत्स फोटो परेपनि त्यसको केही समयमै हामीले त्यसलाई सच्याएका थियौ । सोती घटनामा मारिएका जाजकोटका युवा नवराजसँगै गोविन्द शाहीको शव १० दिनपछि फेला परेको थियो ।
जसलाई कुटी कुटी मारेर भेरी नदीमा फालेको प्रमाणसहित शवका फोटोहरु हामीले प्रकाशन गरेका थियौँ । जुन कुरा पछि पक्राउ परेका अभियुक्तले समेत स्वीकार गरेका छन् ।
हामीले सप्रमाण समाचार प्रकाशन गर्दा र भएको गल्ती केही समयमै सच्याउँदा पनि प्रेस काउन्सिलले समाचार पोर्टललाई हेर्न नमिल्ने गरी ‘ब्लक’ गरिदियो ।
जसले पत्रकारितामा खरो उत्रिने हाम्रो योजनामा गम्भिर धक्का लाग्यो । यद्यपी हामीले दर्ताका लागि प्रयास गर्दा गर्दै ९ महिनापछि ब्लक साइट खोल्न सफल भयौ ।
यसका लागि फेरि पनि सूचना विभागलाई धन्यवाद छ । तर एउटा विभत्स फोटोकै कारण समाचार पोर्टल नै बन्द गर्नु प्रेस काउन्सिलको बाध्यता हो ? वा अधिकारको दुरुपयोग ?
हामीले गल्ती सच्याउँदा पनि काउन्सिलले हामीलाई प्रतिबन्धको सूचीबाट हटाउन आवश्यक ठानेन् । हामीले समाजमा भएका गम्भिर विषयलाई उद्घोष गर्ने जमर्को गर्दा काउन्सिलबाट प्रतिबन्धको सजाय झेल्नुपर्यो । जसकारण दुई जना पत्रकारको रोजगारी गुम्यो ।
लामो प्रतिबन्धपछि हामी फेरि फर्किएका छौँ । फेरि सपना देख्न थालेका छौँ । कर्णाली प्रदेशका हरेक नागरिकका सपना र बाध्यताका समाचार प्रकाशन गर्ने हाम्रो उद्धेश्य हरहालतमा पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।
कर्णालीका हरेक कथालाई समाचारका माध्यमबाट बाहिर ल्याउने हाम्रो योजना छ । यसका लागि तपाईहरुको साथ पाउनेमा विश्वस्त छौ ।
सपना र सम्भावनाको सहरबाट यसको थालनी गरेपनि कर्णालीका हरेक बस्तीका वास्तविकता बाहिर ल्याउने हाम्रो मूल उद्धेश्य हुनेछ ।
अहिलेसम्म धैर्य गरेकामा र विगतमा छोटो समयमै असाध्यै माया गरेर जिम्मेवारी बोध गराएकोमा आभार व्यक्त गर्दै हामी हाम्रो कर्तव्य इमान्दार रुपमा पूरा गर्नेछौ ।