७ चैत, काठमाडौँ । कोरोना कहरका बीचमा कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भयो । गएको असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध यामलाल कँडेलको नेतृत्वमा झण्डै डेढ दर्जन प्रदेश सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
जुन अविश्वास प्रस्तावले मुख्यमन्त्री शाहीको सरकार हल्लियो । माओवादी पक्षका केही सांसद र ओली पक्षका सांसद मिलेपछि मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । त्यही अविश्वास प्रस्तावले नेपालमा अस्थिरताको जरा गाड्यो ।
पाँच वर्षे स्थायी सरकारको जनमत लिएर बनेको संघीय सरकारमाथि औला ठडियो । कर्णालीमा तुहिएको अविश्वास प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सिंहदरबारमा दर्ज भयो । प्रचण्ड र माधव नेपाल पक्षका नेता तथा सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरे ।
त्यसपछि नेपाली राजनीतिमा तुफान आयो । मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव त्यत्तिकै तुहियो । प्रस्तावको पक्षमा हस्ताक्षर गरेका सांसदहरु प्रलोभनमा फसे । अविश्वास प्रस्ताव ल्याउने यामलाल कँडेल एक्लिए ।
तर कर्णालीमा उक्लिएको ओली पक्ष भने काठमाडौँमा झन नयाँ तानाशाहका रुपमा प्रस्तुत भयो । अविश्वास प्रस्ताव दर्ता भएलगत्तै ओलीले संसद विघटन गरे । विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परे । तीन महिना सुनुवाई भयो ।
अन्ततः सर्वोच्चले ओलीको संसद विघटनको निर्णय बदर गरिदियो । सँगसँगै सर्वोच्चमा नेकपाको आधिकारिताका विषयमा पनि महिनौ मुद्धा चल्यो । ओलीको निर्णय उल्ट्याएको सर्वोच्चले नेकपाको साँचो ऋषि कट्टेलको हातमा दियो ।
नेकपाबाट आजित भएका ओलीलाई सर्वोच्चले एमाले ब्युताएर सरप्राइज दियो । जसको असर मात्रै नेपाली राजनीतिमा धेरै छ । दीर्घकालिन रुपमा नेकपा फेरि एकपटक फुटेको छ । अहिले तीन टुक्रा बनेको नेकपा अलगअलग छ ।
प्रचण्ड, माधव नेपाल र ओली पक्षको कम्युनिष्ट राजनीतिले जनतालाई पनि वाक्क दिक्क बनाएको छ । दुई तिहाई बहुमत दिलाउने संसद नै विघटन गर्ने ओलीको निर्णय जनताका लागि घातक बन्यो । नेपाली राजनीतिमा बिरलै पाउने एकताको आधारशीला उठाउन नेताहरु असफल भए ।
नेकपालाई तीन टुक्रा बनाउने कामको सुरुवात कर्णालीबाट भएको थियो । ओलीकै अनुमतिमा भएको कामले आज नेपाली राजनीतिलाई अध्यारो बनायो । आज ओली सरकार ढालेर नयाँ सरकार बनाउने रणनीतिमाथि तीब्र छलफल भएको छ । यद्यपी यसबारेको विस्तृत नतिजा आउन बाँकी छ ।
तर कर्णाली सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावले गर्दा नेपाली राजनीति अध्यारो सुरुङमा फसेको छ । यसबाट अहिले अस्तित्वमा आएका एमाले र माओवादी अब के हुन्छन् ? भनेर हेर्न बाँकी छ । तर त्यो भन्दा धेरै कम्युनिष्ट नेता कार्यकर्ताको भने हरिबिजोग भएको छ ।
नेकपाको फुटले कांग्रेसको दुवै हातमा लड्डु परेको छ । तर पनि कांग्रेस सभापति शेरबहादुर देउवाको कमजोर राजनीतिले नयाँ सरकार बन्ने वातावरण बनिसकेको छैन् । बरु ओलीलाई हटाउने प्रचण्ड, माधव नेपाल र देउवाकै सपनामा फेरि एकपटक आगो झोसिएको छ ।