कालिकोट : कर्णालीको गौरवको पर्यटकीय केन्द्र राराको प्रवद्र्धनका लागि पहिलोपटक अन्तरजिल्ला सुरक्षा बैठक रारा तालमा बसेको छ । सोमबार मुगुको रारामा अवस्थित ताल परिसरमा अन्तर जिल्ला सुरक्षा बैठक बसेको हो ।
बैठकमा कालीकोट, जुम्ला र मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता रहेको थियो । कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार रारा ताल परिसरमा भएको बैठकमा शान्ति सुरक्षा सम्बन्धी छलफल भएको थियो ।
त्यससँगै विपद् व्यवस्थापन, जडीबुटी चोरी निकासी नियन्त्रण, कर्णाली राजमार्ग स्तरोन्नति, कर्णाली करिडोर लगायतका विषयमा पनि छलफल भएको थियो । पछिल्लो समय कर्णाली प्रदेश सरकारले राराको पर्यटन प्रवद्र्धनका लागि विभिन्न किसीमका बैठक रारामा गर्न पनि आग्रह गरेको छ ।
कर्णाली प्रदेशका पर्यटन मन्त्रालयका सचिव मोहनदेव जोशीका अनुसार आगामी दिनमा छिट्टै कर्णालीको मन्त्रिपरिषद् बैठक रारामा बस्ने तयारी छ । त्यसपछि विश्व खाद्य कार्यक्रमको एउटा बैठक पनि रारामा गरेर पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने योजना रहेको सचिव जोशीले बताए ।
‘कर्णालीको गौरव पर्यटनका विषयमा रारालाई केन्द्रमा राखेर प्रचार प्रसारको काम भइरहेको छ,’ सचिव जोशीले कर्णाली खबरसँग भने, ‘छिट्टै क्याबिनेट बैठक र विश्व खाद्य कार्यक्रमको बैठक पनि गर्ने तयारी छ । अब राराको पर्यटन प्रचारप्रसारमा सबैले जोड दिन आवश्यक छ ।’