फाइल फोटो
काठमाडौं – ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार- २०७८’ जुम्लाका डा. गोविन्द नेपालीसहित तीन जनालाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त पुरस्कार सम्बन्धी जानकारी दिएको हो ।
भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार तीन विधामा प्रदान गरिने भएको हो । दलित मुक्ति आन्दोलनको क्षेत्र, समाज सुधार अभियानको क्षेत्र, सीप कला, शिक्षा, साहित्य लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्र वितरण गर्ने भएको हो ।
त्यस मध्ये डा. नेपालीलाई सीप कला, शिक्षा, साहित्य लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रको पुरस्कार प्रदान गरिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव टोकराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार, दलित मुक्ति आन्दोलनको क्षेत्रमा कञ्चनपुरका लालबहादुर विश्वकर्मालाई, समाज सुधार अभियानको क्षेत्र तथा राजनीतिक, सामजिक, शैक्षिक र साँस्कृतिक क्षेत्रको पुरस्कार लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलालाई प्रदान गरिने भएको हो ।
डा. नेपाली लामो समयदेखि सीप कला, शिक्षा, साहित्य लेखन तथा अध्ययन अनुसन्धान गर्दै आएका छन् । उनले दलित समुदायको सांस्कृतिक पक्षका विविध आयामको अनुसन्धान गरेर विद्यावारिधी समेत गरेका हुन् ।