(आगामी साउन ६ र ७ गते हेटौँडामा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन हुँदैछ । त्यहीँ अनुसार, विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी घोषणा गरिरहेको अवस्था छ । यस मध्येकी कुसुम सेञ्चुरी पनि हुन् । सेञ्चुरीले समावेशी महिलातर्फको उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनै सेञ्चुरीको यो विचार नेपालबहस डटकममा समेत प्रकाशित छ ।)
नेपालको सबैभन्दा पुरानो एवं ऐतिहासिक बिरासत बोकेको एकमात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको ‘शुभेच्छुक’ संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको तयारी तीव्र बनाइएको छ । आगामी साउन ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटाैंडामा हुने महाधिवेशनले लोकतन्त्रवादी पत्रकारहरुको नयाँ नेतृत्व र नीति चयन गर्दैछ ।
नेपाली कांग्रेसका संस्थापक नेता एवं जननायक बीपी कोइरालाको स्मृतिदिवसकै अवसर पारेर साउन ६ गते हेटौंडामा महाधिवेशन सुरु हुँदैछ । ‘प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार र पेशागत सुरक्षाः मर्यादित पत्रकारिता हाम्रो प्रतिबद्धता’ भन्ने यो महाधिवेशनको मूल नारा तय भएको छ । देशभरका झन्डै ८ हजार पत्रकार आबद्ध प्रेस युनियनको महाधिवेशनमा १५ सय प्रतिनिधि/ पार्षदहरु सहभागी हुँदैछन् ।
२०७१ भदौ २१ र २२ गते पोखरामा सम्पन्न आठौं महाधिवेशन भएको ९ बर्षको लामो पखाईपछि हुन लागेको यो महाधिवेशनमा लोकतन्त्रवादी पत्रकारहरुबीच आकांक्षाको होडबाजी पनि चल्न थालेको छ । केन्द्रीय अध्यक्षदेखि पदाधिकारी एवं सदस्य पदमा उम्मेदवारी दिनेहरुको सामाजिक सञ्जालमा लर्को हेर्दा रोमाञ्चकता लाग्छ नै । लामो समयको अन्तरालपछि हुन लागेको महाधिवेशनले गर्दा आकांक्षीहरुको लर्को लाग्नु स्वभाविक भएपनि क्रियाशील पत्रकार र कुनै समय पत्रकारिता गरेका भएपनि हाल नेताहरुको घरदैलो मात्र गर्ने तर एउटा लेख वा समाचार समेत नलेख्ने गैह्रपत्रकारहरुको फूर्तिफार्ती हेर्दा भने दिग्दार लाग्ने गरेको छ ।
खासमा यो ११ औं महाधिवेशन हुनुपर्ने हो यदि संगठनलाई बिधि, पद्धति र विधान अनुसार अघि बढाइएको भए । प्रेस यूनियनको विधानले हरेक ३/३ बर्षमा संस्थाको महाधिवेशन हुनुपर्ने स्पष्ट किटान गरेको छ । यस अघिका महाधिवेशनहरु प्राय समयमै भएको पनि हो । तर विभिन्न बाहानामा मिति तोक्दै सार्दै गर्दा यो संस्था मृत प्रायः हुन पुगेको छ भने संस्थालाई भजाएर खान पल्केकाहरुको बोलवाला बढेको छ । उल्टै उनीहरुबाट नेतृत्वमा जान चाहानेहरुलाई हैसियतको प्रश्न सोधेर हतोत्साहित पार्ने धृष्टता पनि शुरु भएको छ । संगठनमा जबरजस्त कब्जा जमाएर पदलाई भजाएर खानेहरुको यस्तो धृष्ठता कदापि क्षम्य हुने छैन र देशभरबाट आउने प्रतिनिधि/पार्षदहरुले त्यस्ता व्यक्ति वा समुहलाई परास्त गर्ने कुरामा दुविधा छैन् ।
आवधिक रुपमा महाधिवेशन भैदिएको भए यतिबेला केन्द्रीय नेतृत्वमा बस्नेहरु यो संस्थाबाट अलग भई नेपाल पत्रकार महासंघ वा पार्टी राजनीतिमा आबद्ध भैसकेका हुने थिए । अहिले अध्यक्षदेखि पदाधिकारीहरुमा ९ बर्ष अघि जिल्ला नेतृत्वमा रहनेहरु बीच प्रतिस्पर्धा हुने थियो । किनभने महाधिवेशन भनेकै हरेक संस्थामा नयाँ नेतृत्वको विकास गर्ने, नयाँ नीति तथा कार्यक्रम लागु गर्ने परम्परा र पद्धति हो । तर यूनियनको महाधिवेशन अबरुद्ध हुँदा लोकतन्त्रवादी पत्रकारहरुको नेतृत्व विकासमा गम्भीर आघात पुग्यो भने संगठन चलायमान पनि हुन सकेन् । तिनै लाउके र टाउकेहरुले नै ठूलो कुरा गर्ने अनि नेतृत्वमा स्थापित हुन चाहाना राख्नेहरुलाई हैसियतको प्रश्न गर्ने नैतिकता र हक कसरी राख्लान् ?
२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रूपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरेको थियो । श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्नसक्छ भन्ने हेतुले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो ।
स्थापनाकालदेखि नै यसले पत्रकारहरूको हकहितमा आवाज उठाउँदै आएको छ । २०४८ सालमा स्थापना भएको यो संगठनले तीन दशक लामो यात्रा पार गरिसकेको छ र यो संस्थाप्रति लोकतन्त्रवादी पत्रकारको निक्कै ठूलो अपेक्षा र भरोसा रहेको छ । विशेषगरी प्रजातन्त्रलाई संस्थागत गर्दै श्रमजीवीका हकहितमा आवाज उठाउने उद्देश्यका साथ स्थापना गरिएको नेपाल प्रेस युनियनले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य प्राप्तिका लागि संघर्ष गर्दै आएको छ । पत्रकारिता पेशा वा व्यवसाय लोकतन्त्रमा मात्र फस्टाउने शास्वत सत्यलाई मध्यनजर गर्दै युनियनभित्र लोकतन्त्रप्रति पूर्ण आस्थावान् श्रमजीवीहरु पत्रकारहरु आबद्ध रहने कुरा युनियनको विधानमै उल्लेख छ ।
महाधिवेशनको तयारीले यो संगठनमा आबद्धहरु तातिरहेका बेला प्रेस युनियनमा महाधिवेशन लक्षित चहलपहल, बहस र कस्तो नेतृत्व चयन गर्ने चासोको बिषय बनेको छ । सामाजिक सञ्जालमा अहिले प्रेस युनियनको नेतृत्वका लागि तीन दर्जन भन्दा बढीले विभिन्न पदमा दावी गर्दै चुनावी चहलपहल सुरु गरेका छन् । हेटौंडासम्म पुग्दा यो संख्या सयौंको संख्यामा हुने कुरामा दुविधा छैन् ।
सहज र सजिलो प्रचारको माध्यमका रुपमा विकसित सामाजिक सञ्जाल फेसबुकमा यतिबेला सहजै देखिन सकिन्छ की प्रेस युनियनको कार्यसमितिका विभिन्न पदमा दावी गर्नेहरुले आ–आफ्नो पक्षमा माहोल बनाउने प्रयत्न गरिरहेका छन् । विभिन्न पदमा आफ्नो इच्छा अनुसार उम्मेदवारी घोषणा पाउनु सबै लोकतन्त्रवादी पत्रकारहरुको अधिकारको बिषय हो । तर बिडम्बना नै मान्नु पर्दछ की “राम्रोलाई भन्दा हाम्रोलाई स्थान” दिने नेपाली राजनीतिको प्रवृत्तिगत संस्कार र संस्कृति नेपाल प्रेस युनियनमा पनि घुसेको छ । यो प्रवृत्तिले व्यवसायिक र क्रियाशील पत्रकारलाई भन्दा हाम्रालाई काखी च्यापिरहेको स्पष्ट देखिन्छ ।
हैसियतको प्रश्न र मेरो उम्मेदवारी ?
नेपालका जुनसुकै पार्टी संगठनमा होस्, गुटका आधारमा मतदान गर्ने र नेतृत्वमा लायक होस् की नालायक तिनै समुहका व्यक्तिलाई ल्याउने प्रवृत्ति अत्याधिक छ । यस्तै परम्परा र प्रवृत्ति लोकतन्त्रवादी पत्रकारको चुनावमा पनि देखिदै छ । नेपाली कांग्रेसको शुभेच्छुक संगठन भनिएतापनि भातृसंस्था कै रुपमा पार्टी नेताहरुको हस्तक्षेप र कृपा रह्यो भने नेतृत्वमा पुग्न सकिने अन्यथा बाहिरिनु पर्ने बाध्यतामा क्रियाशील पत्रकारहरु पुगेका छन् ।
नेताको कृपा भयो भने जस्तोसुकै व्यक्ति किन नहोस् नेतृत्वमा पुग्ने गरेको इतिहास साक्षी छ । बिगतका कार्यसमितिमा रहेका व्यक्ति र तिनका अनुहार हेर्यो भनेपनि तिनले यूनियनका विभिन्न पदाधिकारी र सदस्य पदका रुपमा के भूमिका निर्वाह गरे ? संगठनमा के योगदान गरे भन्ने प्रष्टै हुन्छ । तर तिनै व्यक्तिहरुले महाधिवेशनमा नेतृत्वमा जान खोज्नेहरुलाई हैसियत खोज्दा र तोक्दा अचम्म लाग्छ । बरु प्रतिनिधि पार्षदहरुले अब हैसियत त तिनको खोज्नु पर्छ र बन्द सत्रमा सोध्नु पर्छ की ९ बर्षको यतिलामो अवधिमा तिमीहरुले प्रेस यूनियनलाई के योगदान दियौं ?
यस्तो अवस्थामा जो क्रियाशील भएर व्यवसायिक पत्रकारिता गरिरहेको छ उसलाई नेताहरुको घरदैलो गर्दै मैले नै संगठन धानेको छु भनेर फूर्ति लगाउने फूर्सद पो कहाँ हुन्छ र ? कर्मक्षेत्रमा डटिरहेकाहरुको हैसियत के हुन्छ महोदय ? की चम्चागिरी गर्ने, काम नगर्ने तर नेताकै अघिपछि दौडिने पत्रकारहरुको मात्र हैसियत हुने हो ?
सबैजसो पत्रकारहरु यतिबेला नेतासँग जोडिएका छन् । मानौं की उनीहरूको भोट भण्डार निश्चित छ । उनीहरु छाती फूलाएर चोक, बजार, गल्लीदेखि चिया पसलमा चियाको चुस्की लगाउँदै नेतृत्व को ? कसको प्यानलमा कहाँ कसरी जाने भन्ने बहसमा व्यस्त छन् । अर्काेतिर सामाजिक सञ्जालमा पहिरो नै गएको छ उम्मेदवारी दिनेहरुको । यसपटक पनि स्थिति खासै फरक हुने देखिँदैन । समग्रमा युनियनको मूलनारा यो स्थितिमा आइपुग्दा पनि आधारभूत रुपमा परिवर्तन र भिन्नताको सम्भावना देखिन्न ।
हेटौंडामा महाधिवेशन गर्ने मिति नजिकिदै गर्दा सबै उम्मेदवारका घोषणापत्र पनि आउलान् । सबैजना अहिले आआफ्नो तर्फबाट महाधिवेशन तयारीमा लागेका पनि छन्, तर तिनले युनियनको महाधिवेशनमा कुनै ड्राइभ गर्ने देखिन्न । युनियनमा आबद्ध हुने नयाँ सदस्यलाई प्रेरित गर्ने कुनै नयाँ मुद्दाको उठान छैन किनभने नेतृत्व, व्यक्तित्व र पात्रहरु थप स्खलित भएका छन् । तीन तीन वटा महाधिवेशन सम्पन्न भैसक्नु पर्ने बेलामा पनि विभिन्न बहानामा कार्यकाल लम्ब्याउँदै गर्दा वर्तमान अवैध कार्यसमितिमा रहेकाहरु किन मुकदर्शक बनेर बसे ? के फेरि तिनैलाई युनियनको नवौँ महाधिवेशनमा निर्वाचित गराउनु पर्ने ? के यही हो त हैसियत ?
यसपटकको महाधिवेशनमा मैले पनि उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी छु । सायद नियमित महाधिवेशन भैदिएको भए मपनि यसपटक अध्यक्षमा उम्मेदवारी दिन योग्य भैसक्थे होला । नियमित महाधिवेशन नहुदाँ मलगायत धेरै साथीहरुको नेतृत्व विकासमा बाधा पुग्यो । तैपनि म उपमहासचिव पदका लागि भने सबै कोणबाट योग्य भएको ठान्दछु । प्रेस यूनियन भनेको नत निजामति संगठन हो नत पुलिस संगठन नै । जहाँ खरदार भएपछि सुब्बा वा अधिकृत भएको निश्चित अवधि पार गरेपछि मात्र उपसचिव र सहसचिव हुन पाइन्छ । त्यस्तै सुरक्षा संगठनमा पनि ईन्सपेक्टर भएपछि मात्र डीएसपी, एसपी हुँदै आईजीपी हुने प्रावधान छ ।
तर यो त एउटा राजनीतिक संगठन हो अर्थात सामाजिक संस्था हो । कुनै बिधि विधान र पद्धतिले पनि केन्द्रीय सदस्य नभै पदाधिकारी हुन पाइदैन् भनेर कहाँ रोकेको छ ? संसारको कुनैपनि सामाजिक वा राजनीतिक संस्थामा पानी बढुवा हुने प्रचलन छैन् । बरु उम्मेदवारको योग्यता, क्षमता, दक्षता र नेतृत्व गर्नसक्ने गुणका आधारमा उम्मेदवार हुन पाइन्छ । त्यसलाई देशभरबाट आउने प्रतिनिधि पार्षदहरुले अनुमोदन गरे भने सकियो त । तर्सथ हैसियत तोक्ने नेताले होइन यूनियनका सदस्य एवं प्रतिनिधिहरुले हो ।
कक्षा ८ मा पढ्दैदेखि पत्रकारिता शुरु गरेकी मैले करिब १७ बर्ष नेपालको मूलधार कै पत्रकारितामा बिताएकी छु । मोफसलको फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी मैले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएम र नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छु । हाल नेपालबहस डटकममा समाचार प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गर्दैगर्दा यति भन्न चाहन्छु की मैले जहाँ जहाँ जे जिम्मेवारी पाए कुशलतापूर्वक नै निर्वाह गरेकी छु । इमान्दार भएर पेशागत धर्म निर्वाह गरेकी छु । अन्य विविध सामाजिक संघसंस्थाहरुरुमा पनि पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न म चुकेकी छैन् ।
यसपटक मैले चाहेको यात्राको कदम जोखिम होला तर यसले पक्कै पनि पत्रकारितामा नयाँ अनुहार जो क्रियाशील छन्, तिनमा प्रभाव धेरै ठूलो हुनेछ । निर्वाचनमा गुटगत प्रतिस्पर्धा होला तर मलाई के विश्वास छ भने उनीहरूको अनुकूलतामा जता पल्टायो प्रतिनिधि/ पार्षदहरु त्यतै जाने पनि होइनन् ।
किनभने यूनियनलाई सशक्त र जुझारु संगठनका रुपमा विकसित गर्न गतिशील नेतृत्व, चलायमान संगठन, बिधि र पद्धतिसम्मत निर्णय, संस्थागत सुदृढीकरणको आवश्यकता टड्कारो देखिएको छ । पुरानो पुस्ताको भूमिका र योगदानको उच्च मूल्याङ्कन गर्दै अग्रजहरुलाई सम्मान दिनु जरुरी छ भने यूवा पुस्ताको नेतृत्वमा प्रेस स्वतन्त्रताको रक्षा गर्दै पत्रकारितामा आउने नयाँ पुस्तालााई ग्रुमिङ गर्नुछ । त्यस्तै यूनियनको आवधिक अधिवेशन तथा पत्रकारहरुको दक्षता अभिबृद्धि, पेशागत सूरक्षा, पत्रकार महिलाहरुको संरक्षण एवं ट्रेड यूनियन अधिकारका लागि पनि मेरो उम्मेदवारी हो ।
म चाहन्छु, प्रेस युनियनको महाधिवेशनमा विचार समुह होलान् तर अति गुटकरण नभइदिए हुन्थ्यो । मुख्यकुरा दृष्टिकोणको हो । महाधिवेशनमा गुटगत दृष्टिकोण बेस्सरी झाङिगएको छ, त्यसलाई मिनिमाइज गर्नेतर्फ सबै लागौं । अवसर भनेको सबैलाई सधैँ आइरहँदैन, जतिबेला अवसर आउँछ, सो समयमा इमानदार एवं जवाफदेही भएर काम गर्नुपर्ने हुन्छ ।
बिगतका बर्षमा लामो समयदेखि अबरुद्ध महाधिवेशनले म जस्ता नयाँ पुस्तालाई जो पत्रकारिता मै क्रियाशील छन्, पदाधिकारीदेखि सदस्य भएर कार्यसमितिमा आउन मनदेखि घच्घच्याएको छ । अतः देशभरिबाट आउनु हुने सम्पूर्ण प्रतिनधि/पार्षद ज्यूहरुमा मेरो बिनम्रतापूर्वक अनुरोध छ, कुसुम बिक (सेञ्चुरी) लाई उपमहासचिव समावेशी महिला पदमा अत्याधिक मतले विजयी गराई एउटा नयाँ अध्यायको शुरुवात गरिदिनुहोस् । सबैमा बिनम्रतापूर्वक जय नेपाल टक्र्याउन चाहन्छु ।