काठमाडौं: विराटनगर महानगरपालिकाकी पूर्व उपप्रमुख इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपप्रमुख कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका, वडा नम्बर १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको आरोपमा उनीहरुलाई भ्रष्टाचार मुद्दा लगाइएको हो।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो. इफतेखार आलम, पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरे पनि उक्त कार्यमा संलग्न पाइएको बताइएको छ।
महानगरपालिकामा पेस भएको झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९७९ रुपैयाँ हानी पुर्याएको बताइएको छ ।
तत्कालीन नगर उपप्रमुख कार्की र विराटनगर महानगरपालिका १५ का तत्कालीन वडाध्यक्ष आलमले माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भए पनि रोलर मेसिनबाट गरिएको कामलाई अनुगमन प्रतिवेदनमा उल्लेख नगरी गलत मूल्याङ्कनका आधारमा ५ लाख ८ हजार ६६९ हानी पुर्याएको ठहर गर्दै अख्तियारले उनीहरुमाथि सोही बराबर बिगो र जरिवानासहित मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए ।