(मिडियामा कर्णाली अन्तर्गत कर्णालीका व्यक्तित्वबारे मुलधारका मिडियामा प्रकाशित स्टोरी लिने क्रममा प्रकाश आचार्यले लेखेको रुकुम पश्चिमकी विमला रोकाको यो सफलता यात्रा लोकान्तर डटकमबाट लिएका हौँ – सम्पादक)
रूकुमको सामान्य परिवारमा जन्मेकी विमला रोकाका सहपाठीमध्ये माध्यमिक तह पनि कमैले उत्तीर्ण गरेका छन् । धेरैको विद्यालय तह पढाइकै बेला बिहेवारी भयो ।
रूकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित प्रभात मावि दोपाईबाट विक्रम संवत २०६४ मा एसएलसी उत्तीर्ण गरेकी विमला अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव पदमा कार्यरत छिन् ।
धेरैको लागि विमलाको निजामती यात्रा सामान्य जस्तै लाग्न सक्छ, उनी हुर्केको परिवार र विकट समाजको लागि उपसचिव पद सपनाझै लाग्छ ।
नेकपा माओवादीको सशस्त्र संघर्षको आधार क्षेत्र रूकुमबाट उठेर २८ वर्षको उमेरमै खुला प्रतिस्पर्धाबाट सामान्य प्रशासन तर्फको राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसम्मको यात्रा तय गर्नु विमलाका लागि सहज थिएन । निजामती प्रवेश गर्न चाहने युवा पुस्ताको लागि अहिले आदर्श बनेकी छन् उपसचिव विमला ।
सकारात्मक सोचकी धनी, सहकर्मीमाझ लोकप्रिय छिन् उनी । सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार उपसचिव विमला संयोगले निजामती सेवामा आएकी हुन् ।
बिहान–साँझ घरमा घाँस, दाउरा र मेलापात गरी विद्यालय तह प्रथम श्रेणीमा उत्तीर्ण गरेकी उनी निरन्तरको लगनका कारण अंग्रेजी विषय लिएर उच्च शिक्षा हासिल गर्दै निजामती सेवामा प्रवेशका लागि भएको प्रतिस्पर्धामा अब्बल ठहरिइन् । ११–१२ कक्षा उत्तीर्ण गरेको साल नै १८ वर्षको उमेरमै खरिदारबाट सरकारी सेवा प्रवेश गरेकी उनी १० वर्षमै अफिसर हुँदै उपसचिव बनेकी हुन् ।
विमला भन्छिन्, ‘गाउँमा घर व्यवहार, मेरो अठोट रुचिलाई हौसला र सहजीकरणले मैले यहाँसम्मको यात्रा तय गर्न सकें । जसले एउटा लक्ष्य लिएर सपना देख्छ, त्यो व्यक्ति सफल हुने रहेछ ।’ विमलाका बुवाआमा गाउँका किसान हुन् ।
विक्रम संवत् २०५० सालमा रुकुमको मुसिकोट नगरपालिका–१३ छिवाङमा रोकाको जन्म भएको थियो । बिहान–साँझ घाँसदाउरा, मेलापात गर्दै उनी विद्यालय जान्थिन्, विद्यालयमा उनी सबैभन्दा अब्बल थिइन् । एसएलसी परीक्षामा विद्यालयबाट उनी मात्र प्रथम श्रेणीमा उत्तीर्ण भइन् ।
एसएलसी उत्तीर्ण भएपछि मूल विषय अंग्रेजी लिएर शिक्षाशास्त्र संकायतर्फ त्रिभुवन जनता मावि रूकुममा ‘प्लस टू’मा भर्ना भएर अध्ययनमा लागिन् उनी । १२ कक्षाको परीक्षा सकेर घरमै थिइन्, साथीहरूले लोक सेवा आयोगले खरिदार तहको विज्ञापन आह्वान गरेको छ भनेर छलफल गर्दै थिए तर उनलाई लोक सेवाबारे केही ज्ञान समेत थिएन ।
साथीले अनुरोध गरेपछि फाराम भरिन् । फाराम त भरिन् तर पाठ्यक्रमबारे केही ज्ञान थिएन । परीक्षा दिइन्, उत्तीर्ण चाहिँ भइनन् । कोर्स हेर्दा उनलाई सजिलो जस्तै लाग्यो । पढ्यो भने सफल हुन सकिन्छ भन्ने उनले मनमनै गमिन् ।
‘प्लस टू’ उत्तीर्णसँगै उनले आफूले अध्ययन गरेको स्कूलमा पढाउन थालेकी थिइन् । उनलाई निजामती होइन, शिक्षक बन्छु भन्ने लागेको थियो । विक्रम संवत् २०६८ सालमा साविक राप्ती अञ्चलको दाङबाट खरिदार परीक्षाको फर्म भरेर स्कूल पढाउँदै घरमै बसेर लोक सेवा तयारी गरिन् ।
२०६९ सालमा खरिदारको परीक्षाफल प्रकाशित हुँदा उनको खुला र समावेशी दुवैतर्फ नाम निस्कियो । उनी भन्छिन्, ‘विद्यालय जाँदै घरमै ‘सेल्फ स्टडी’ गरें, खरिदारको दुवैतर्फ नाम निस्कियो । मैले बढी ध्यान दिएर पढेको जम्माजम्मी ३ महिना मात्र हो ।’ उनको पहिलो ‘पोस्टिङ’ ईलाका हुलाक कार्यालय चौरजहारी रूकुममा भयो ।
हुलाकमा उनले ४ वर्ष सेवा गरिन् । उनलाई औपचारिक शिक्षाको पनि आवश्यक थियो । सेवासँगै उनले स्नातक तहको अध्ययन अगाडि बढाइन् । २०७२ सालमा स्नातक तहको अध्ययन पूरा गरेर शाखा अधिकृतको तयारीमा जुटिन् । त्यहीँ बेला भूमे गाउँपालिका–३ रूकुमपूर्वका चन्द्रसिंह श्रेष्ठसँग उनको विवाह भयो । प्रेम विवाह गरेकी विमलाका पति श्रेष्ठ पनि निजामती सेवामै छन् । श्रेष्ठ अहिले उपसचिव पदमै रुकुमपूर्वको भूमे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् ।
विमलाले काठमाडौं गएर ३ महिना अधिकृतको लोक सेवा तयारी कक्षा लिइन् । विक्रम संवत् २०७३ सालमा खुला र महिलामा एकसाथ शाखा अधिकृतमा नाम निकाल्न सफल भइन् उनी । सामान्यतया खरिदार, नायव सुब्बा हुँदै अधिकृत हुन्छन् तर उनी नासु नभई सिधैं अधिकृत बनिन् ।
‘अफिसर’ बनेपछि आफ्नै गृहजिल्ला रूकुमपूर्वको सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पोस्टिङ भयो । सिस्नेको संस्थापक प्रमुख प्रशासकीय अधिकृत भएर ३ वर्ष काम गर्दै बच्चा पनि हुर्काइन् । २०७८ सालमा लोक सेवाले उपसचिवको विज्ञापन खोल्यो तर उनी परीक्षा दिने सोचमा थिइनन् । बालबच्चा हेर्दै कार्यालयको काम गर्नुपर्ने चाप थियो । पति चन्द्रसिंहले घरमा पढ्ने वातावरण मिलाइदिए, पतिकै आग्रहमा ‘फर्म’ भरिन् ।
२०७८ फागुनमा दिएको परीक्षाको असार पहिलो हप्ता आएको नजितामा उनी खुला प्रतिस्पर्धाबाट उपसचिवमा नाम निकाल्न सफल भइन् ।
‘सुत्ने, घुम्ने र रमाउने समय पढाइमा लगाएँ । बच्चालाई स्कूल पठाएर पढें । बच्चालाई सुताइसकेर आफू उठेर पढें । आफू अनुकूल समय मिलाएँ । मिनेट–मिनेट समयको महत्त्वलाई बुझेर पढें, अहिले रुकुमबाट उपसचिव पदमा पुगें,’ उनी भन्छिन् ।
उनी जिल्लाको पहिलो एक मात्र उपसचिव महिला पनि हुन् । हालसम्म जिल्लाबाट महिला निजामतीको उपसचिव बनेको जारकारी आफूलाई नभएको विमला बताउँछिन् ।
सिस्ने गाउँपालिकाबाट सरूवा भएर उनले नेपाल ट्रस्टको कार्यालय काठमाडौंमा १ वर्ष काम गरिन् । उपसचिव भएपछि उनलाई सामान्य प्रशासन मन्त्रालयमा हाजिर गराइए पनि हालसम्म पोस्टिङ गरिएको छैन । उनी समाज रूपान्तरणका लागि शिक्षालाई नै महत्त्वपूर्ण ठान्छिन् ।
‘दोस्रो कुरा आफ्नै अठोट र निरन्तरको प्रयास पनि हो,’ उनी भन्छिन् । विमलाका अनुसार विश्वविद्यालय तह पुग्दासम्म पनि उनी कक्षामा उत्कृष्ट भइन् ।
‘म राम्रो अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी हुँ तर अध्ययनको दायरालाई पाठ्यक्रमभन्दा परसम्म विस्तार गर्न सकें,’ विमला भन्छिन्, ‘प्रतिकूल परिस्थितिका बाबजुद पनि दृढतापूर्वक पाइला चाल्ने हो भने अवरोधहरू पन्छिँदै जान्छन् ।’ जुन समुदाय, समाज र परिवेशबाट उठेर उनले हालसम्मको यात्रा तय गरिन्, त्यो समावेशी समाज निर्माणका लागि पनि महत्त्वपूर्ण छ ।
उनी भन्छिन्, ‘मेरो क्षमता र परिस्थितिले साथ दियो भने सहसचिव हुँदै निजामती सेवाको सबैभन्दा माथिल्लो तह मुख्यसचिवमा पुगेर मुलुकको सेवा गर्ने रहर छ ।’ विमलाको पढाइप्रति अहिले पनि औधि रुचि छ ।
‘बच्चा, घर र कार्यालयको जिम्मेवारी पूरा गर्दै उपसचिवसम्मको यात्राका लागि हौसला र सहजीकरण गर्ने मेरो श्रीमान् नै हुनुहुन्छ । निजामती सेवा त्यति सजिलो पनि छैन तर बुझेर पढेमा गाह्रो पनि होइन । म लागेपछि निरन्तर लाग्छु तर मलाई धेरै दुःख चाहिँ गर्नु परेन । सफलताले पछ्यायो,’ उनले भनिन् ।
विमलाको आग्रह र उनकै देखाएको लक्ष्यलाई पछ्याउँदै उनकी बहिनी पनि सरकारी सेवामा प्रवेश गरेकी छन् । भाइलाई पनि उच्च शिक्षासँगै सरकारी सेवामा आउन प्रोत्साहन गर्दै आएकी छन् ।
राज्य हाँक्ने सरकारको स्थायी संयन्त्र कर्मचारी प्रशासनमा महिलाको सहभागिता बढ्नुपर्ने विमलाको बुझाइ छ । अहिले महिलाहरू क्षमता र विज्ञता देखाएर राज्यको स्थायी सरकार मानिने निजामतीको महत्त्वपूर्ण पदमा पुग्न सफल भएका छन् । कुनै समय महिलाको क्षमतामाथि प्रश्न उठाउनेले अहिले महिलाले निर्वाह गरेको भूमिका देखेर गर्व गर्न थालेका विमला बताउँछिन् ।