बागलुङ : बाहिरबाट बीउ ल्याएर मकै खेती गर्नुपर्ने यहाँका किसानको बाध्यता कम हुँदै गएको छ । किसान आफैँ प्रमाणित र उन्नत बीउ उत्पादनतिर लागेका छन् । कृषि ज्ञान केन्द्रले मकैको बिजवृद्धि कार्यक्रममार्फत किसानलाई सघाएको छ ।
केन्द्रका अनुसार तमानखोला, निसीखोला, ताराखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत गरी सात ठाउँमा बिजवृद्धि कार्यक्रम सञ्चालित छ । कूल एक हजार रोपनीमा कृषि सहकारी र समूहमार्फत मकैको बीउ उत्पादन भइरहेको हो ।
केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बिजवृद्धि कार्यक्रमबाट १५० मेट्रिक टन बीउ उत्पादन हुने बताए । आफ्नै हिसाबले बीउ उत्पादन गरेर बेच्ने किसानको सङ्ख्या पनि उल्लेख्य रहेको उनको भनाइ छ ।
“यहाँ २० हजार हेक्टरमा मकै बाली लगाइन्छ, एक हेक्टरलाई २० किलो बीउ चाहिन्छ”, प्रमुख भट्टराईले भने, “वर्षमा चार सय मेट्रिक टन बीउको खाँचो पर्छ, आउँदो एक÷दुई वर्षभित्रमा बागलुङ मकैको बीउमा आत्मनिर्भर बन्छ ।”
यहाँ मुख्य गरी उन्नत जातको मनकामना १, २, ३, ४, ५ र अरुण–१, २ मकैको खेती हुन्छ । बरेङ गाउँपालिकाका किसानले भने देउती जातको मकै लगाउँछन् । मनकामना एक हजार ५०० मिटरको उचाइसम्म र गणेश त्यसभन्दा माथि उब्जाउ हुन्छ । रासस