गोरखा : गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।
गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने उद्देश्यले पालिकाभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ सञ्चालन गरी सेवा सुरु गरेको उनले बताए ।
“प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरी प्रत्येक वडाका स्वास्थ्य संस्थामा तालिकाअनुसार स्वास्थ्यकर्मी परिचालनको व्यवस्था मिलाएका छाँै”, उनले भने, “तिनै स्वास्थ्यकर्मीबाट वडामा गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारेमा नियमित जानकारी लिन्छौँ ।”
गाउँपालिकामा ‘फोकल पर्सन’ नभएकाले तत्कालका लागि भने नजिकै रहेको छिमेकी बारपाक सुलिकोट गाउँपालिकाबाट बोलाएर उनीहरुकै नेतृत्वमा सेवा सञ्चालन गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिए । “यसअघि गर्भवतीलाई भिडियो एक्सरेका लागि गोरखा अस्पताल वा सदरमुकाम नै धाउनुपर्ने बाध्यता थियो, उनले भने, अब त्यो बाध्यता हटेको छ ।”
वडावडामा पुगेर निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेसँगै अब कोही पनि गर्भवतीले आफ्नो गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाको परीक्षणका लागि नछुट्ने उनले बताए । “यसअघि पनि हामीले अस्पतालमा पुगेर नियमित गराउनका लागि जनचेतना प्रदान गर्ने काम त गरेका थियौँ”, प्रमुख खनालले भने, “तर कतिपयले जानुहुन्थ्यो, अब गाउँमा सुविधा भएपछि कोही छुट्दैनन् भन्ने विश्वास छ ।”
रासस