यी छुटेकाहरुलाई बिर्सने छुट
मैले दिएको छैन मलाई !
खै !
कति पाइला पर पुगेपछि
देख्दैनन् आँखाहरुले छुट्टिएको बिन्दु !
कति दिनको मौनतापछि बर्बराउदैनन्
ओठहरुले वियोगको धुन ।।
यादहरुले मुन्टो बटारेर
अलिक पछाडी पट्टी फर्के ।
अझै छर्लङ्गै देखिन्छन् ।।
चुङ्गीभन्दा माथिसम्म उफ्रने रहरहरु
टालाटुली सङै बटुलेका सम्बन्धहरु ।
बालापनसँगै छुटेका खुशीहरु
बैँससँगै फक्रिएका सपनाहरू ।
अनि औलाउनकै लागि फक्रीएको बैँस ।।
जहाँ,
छुटेका छन्
छुटपत्रमा नअटाएका धेरै सम्बन्धहरु !
कालोपाटीमा सुकिलो भविष्य खोज्ने नजरहरु
पाठशालामै छुटे !
पुरानो थाङ्नोमा
आलो रोटो अनि पिरो अचार बोक्ने भोक
गोठालो छुटेसँगै छुटे !
कति प्रेमपत्र खाममा राख्नै छुटे !
कति खाममा ठेगाना लेख्नै छुट्यो !
कति ठेगानाको चिट्ठी कहिल्यै आएनन् !
अनि कति सम्बन्धको अन्त्य
विस्मयादिबोधकसँगै भयो ।
मलाई नपाउँदा पनि...
‘प्रिय’ भनेर सम्बोधन गर्ने आवाजहरुलाई ।
मैले गुमाइसकेपछि पनि प्रेम गरिरहे,
यो पनि भन्नै छुट्यो !
धेरै छुटेको छ त्यहाँ,
जहाँ म छुट्टिँदै गएको छु ।
म जस्तै ‘म’हरु सँग !
घाँटी बटारेर
छुटेकाहरु हेर्दा नथाकेको मन
शिर उठाएर पाएकाहरु हेर्दा पाट्टिन्छ।
कान्छा !
तँ भन्थिस नि,
‘म’ पछि म जति तँलाई कोही प्रिय नलागोसू’
हेर्न, आजकल तँ मलाई म पनि प्यारो लाग्दैन ।।
जीवनसाथी बन्न नसकेकाहरु
जीवनभर साथी पनि त नबन्ने रहेछन् ।
तँ पनि छुटिस !
राधा तँ साइलोलाई नपाएको दुखेसो नगर
गुमाउने भन्दा नपाउने भाग्यमानी हो !
हेर्त,
मैले सिन्दुर पाएकै कारण सिउँदो गुमाउनु पर्यो !
हातमा चुरा बज्न थालेदेखि
मन नाच्न नजान्ने भएको छ।
गलामा पोते परेपछि !
गुनगुनाउन छुट्यो ।
पाएका सम्बन्धहरुलाई निरन्तरता दिनु मात्र
प्रेम होइन !
जिन्दगीमा,
हुन्न भन्न नसकेर जोडिएका बन्धनभन्दा
हुन्छ भन्न नपाएर गुमाएका साइनोहरु
प्रिय हुन्छन् राधा !
खैर
समयसँगै नदौडिएका साइनोहरुलाई
समय–समयमा सम्झन अझै छुटेको छैन ।
छुटेकाहरुलाई बिर्सने छुट
मैले दिएको छैन मलाई !
आखिर
बाच्नु भनेको पनि त छोड्दै जानुरहेछ !
श्वास नै नछाडे त नपाइदोँ रहेछ जीवन पनि !
हो,
जीवन भनेको छुट्टिदै जाने चक्र हो।
अरुसँग छुटे अतीत
आफै संग छुटे अन्त्य !