काठमाडौँ : ‘कर्णालीभित्र भेटिएका स्वर्गजस्ता गन्तव्यमा हामी आफनै हुटहुटी र बलजफ्तीले पुगेका हौँ’ सिर्जना सिज्जुले जुम्लाको दुधकुण्डली र आकाशे ताल पत्ता लगाएर नाम राखेपछि फेसबुकमा लेखेकी छन्, ‘जहाँ पुग्न कुनै पनि गन्तव्यमा सामान्य रुट समेत छैन । हामी कसरी पर्यटक आउनु पर्छ भनेर आह्वान गरौँ । आँफु त बाँचेर आएको छ । अरुलाई कसरि पुग्न पर्छ भनौं । त्यहि पनि मन दुखाई दुखाई आउनु होला है भन्नुपर्छ्।’
हप्तौ लामो हिडाई र थकाईपछि पर्यटक अभियान्ता सिर्जना सिज्जु र साइकलयात्री भाष्कर बस्नेतले जुम्लामा नयाँ तालको एक्सप्लोर गरेका छन् । उनीहरु आफैले पत्ता लगाएको ताल र नाम राखेपछि अहिले मुलधारमा मिडियामा समेत दुधकुण्डली र आकाशे तालको चर्चा भइरहेको छ । भाष्कर दुई वर्षअघि सो ताल पुगेर आएको सिज्जुले बताएकी छन् । तर अहिलेजसरी यो तालको चर्चा गर्न उनले सकेका थिएनन् ।
जो हेर्दा सुन्दर मात्रै छैन । सिज्जुले सार्वजनिक गरेका तस्बिरमा एक स्वर्गको टुक्रा जस्तै छन् । सिज्जुकै शब्दमा दुधकुण्डली ४ हजार ६ सय मीटर उचाईमा छ । अनि आकाशे ताल भने ४ हजार ७ सय मीटर उचाईमा छ । दुधकुण्डलीभन्दा आकाशे ताल सुन्दर र रोचक देखिन्छ ।
जुम्लाको गुठीचौर गाउँपालिका १ चोत्रा गाउँको घाटा पाटनमा यी दुई ताल अवस्थित छन् । स्थानीय बासिन्दाका अनुसार तिब्बतीय भाषामा यो तालको नाम माहोङ नाम्छो राखिएको छ ।
जुन कुरा सिज्जुले फेसबुकमा उल्लेख गरेकी छन् । स्थानीय साङ्बो गुरुङले पहिलोपटक देखेको ताललाई भाष्कर र सिर्जनाले आम मानिसहरुमाझ ल्याएका हुन् ।
‘आकाशे तालको भेट मानवसँग भएको लगभग सात बर्ष हुन थालेछ्। आफ्नो हराएको चौरी खोज्न जाँदा गोठिचौर गाउँपालिका वड नं १ छोपा गाँउ बस्ने बुवा साङबो गुरुङले ताल देख्नु भएको रहेछ । त्यसपछि फाट्टफुट्ट यार्चा टिप्न जाने, भेडा चौंरि चराउन जाने गाँउका केहि स्थानीय युवाले पनि यो ताल देखेको रहेछ्न’ सिज्जुले तालको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘नयाँ कुरा खोज्न र नदिको मुहानसम्म पुग्न जति उत्साह हुन्छ मनमा, त्यति कष्टकर यात्रा पनि हुन्छ ।’
जुम्लाको सदरमुकाम खलंगादेखि झण्डै तीन दिन पैदल यात्रा गरेपछि यो ताल पुगिन्छ । स्थानीय वडाध्यक्ष अर्जुनकुमार महतारालाई समेत लिएर ताल क्षेत्रमा पुगेका सिज्जु र भाष्करले यो तालको पूरा आकर्षक तस्बिर सञ्चारमाध्यमसम्म ल्याएका हुन् ।
स्थानीय जनप्रतिनिधिले यो ताल थाहा पाएको भएपनि आम सञ्चारमाध्यममा आउन वर्षौ लाग्ने थियो । तर कर्णालीको पर्यटनलाई विश्वभर चिनाउन लागिपरेकी सिज्जु र साइकलयात्री भाष्करको यो प्रयासले कर्णालीमा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ ।
अब कर्णालीमा रारा, शे–फोक्सुन्डो, बुलबुले, कुपिन्डे दह, स्यार्पु तालसँगै जुम्लाको दुधकुण्डली र आकाशे ताल पनि महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको छ । यसको प्रचारका लागि सबै जना लाग्नुपर्ने सिज्जुको भनाई छ । कर्णालीलाई आफूले घर सम्झिने र घर अहिले विकट भएपनि यसलाई पर्यटनमार्फत धनी बनाउनुपर्ने उनको भनाई छ ।
‘म त कर्णालीलाई घर सम्झन्छु, घरभित्रको कुरा जे जस्तो भएपनि सहनपर्छ । जसरि पनि घरलाई सुन्दर बनाउनु पर्छ भनेर लागेको हो । घरप्रति मेरो कुनै गुनासो छैन । तर कर्णाली घुम्न पुग्ने थुप्रै साथीहरुको गुनासो देखिरहेको सुनिरहेको हुन्छु’ उनले नयाँ गन्तव्य पहिचान गरेपछि फेसबुकमा लेखेकी छन्, ‘कर्णालीमा पर्यटनको विकास हुन नसक्नुको कारण भौगोलिक विकटता मात्र होइन, हाम्रो समाजले दिने हस्पिटालिटी पनि हो । अहिल्यै कायापलट हुन्छ भनेर लागेको होइन, अबको १० वर्षपछि कर्णालीमा लाखौँ पर्यटकको भीड हुन्छ ।’
रुकुम पश्चिमकी सिज्जु पछिल्लो समय पर्यटन अभियानमा लागेकी युवा अभियान्ता हुन् । जो गएको वर्ष कर्णाली उत्सवको ‘पैकेलो’ कार्यक्रमबाट थप चर्चामा आएकी थिइन् । पैकेलोबाट उनले आफ्नो पर्यटन अभियान, नयाँ नयाँ गन्तव्य पुग्ने साहस र कर्णालीको पर्यटनका लागि गरेको योगदानबारे विस्तृत खुलाएकी थिइन् ।
सबै फोटो : सिर्जना सिज्जुकै फेसबुकबाट
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९ २३:३५