काठमाडौँ : कर्णालीबाट जनयुद्ध लडेर उदाएका नेतामध्ये एक हुन्, जनार्दन शर्मा प्रभाकर । माओवादीमा उनको नाम प्रभाकर हो । माओवादी जनयुद्धमा उनी सैन्य कमाण्डर समेत हुन् । पार्टीको नाम प्रभाकर राखेका उनले पार्टीमा प्रभाव जमाउन वर्षौ लगानी गरेका छन् ।
माओवादी शान्ति वार्तामा आएको २० वर्षमा उनले प्रभाव जमाएनन् मात्रै । एकलौटी रुपमा प्रचण्डको प्रिय पात्र बन्न दर्जन बढी नेतालाई पन्छाए पनि । जनार्दनले प्रचण्डको प्रिय पात्र बन्नका लागि प्रकाण्डदेखि लोकेन्द्रबहादुर बिष्ट मगरलाई समेत पन्छाएका हुन् ।
उनको अनेक खेलका कारण कैयौँ प्रभावशाली नेताहरु प्रचण्डको पार्टीबाट बाहिर निस्किए । जसरी पनि जनार्दन माओवादीको मूलधारको राजनीतिमा पनि उचाईको नेताका रुपमा स्थापित भए । एक समय ऊर्जामन्त्री बनेर उज्यालो नेपालको अभियान चलाएका जनार्दन शर्मा अहिले अर्थमन्त्री बन्दा सबैभन्दा बढी विवादित छन् ।
बजेट बनाउँदा करका दरमाथि हेरफेर गर्दा विचौलिया प्रवेश गराएको आरोप लागेपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुपर्यो । उनीमाथि संसदीय छानबिन समिति बन्यो । छानबिन समितिले उनलाई चोख्याउने योजनाअनुसार प्रतिवेदन बुझाएको छ ।
उनले नैतिक रुपमा राजीनामा दिएका थिए । तर उनीमाथिको आरोप प्रमाणित हुन सकेको छैन । यसकारण उनी फेरि अर्थ मन्त्रालय फर्कने चर्चा छ । यतिबेला व्यक्तिगत रुपमा संसदीय छानबिन नै भएपनि जनार्दन दोषी प्रमाणित भएका छैनन् ।
यो उनले जितेको लडाईको रुपमा बुझ्न सकिन्छ । तर यतिबेला गम्भीर प्रश्न उठ्छ, उनले लडाई जितेका हुन् भने नैतिक रुपमा ठूलो नैतिकता गुमाएका छन् । नैतिक लडाई उनले हारेका छन् । यदि उनलाई यसमा थोरै पनि कही कतै आफ्नो नैतिकता जोगाउनुछ भने अब अर्थमन्त्रालय प्रवेश गर्नु हुँदैन ।
उनी सहि रुपमा आफ्नो राजनीतिक जीवनमा फर्किएका छन् । तर उनीजस्ता नेताबाट विवाद र लडाई होइन, शान्त रुपमा देशको विकास खोजिन्छ । त्यो पनि कर्णालीका लागि । रुकुम पश्चिमबाट राजधानी काठमाडौँमा सबैभन्दा माथिल्लोस्तरको माओवादी नेता बन्ने लाइनमा रहेका नेता यसरी विवादमा फस्नु राम्रो होइन ।
तर उनको विषयवस्तुभन्दा बाहिर रहेको अर्थमन्त्रालयको जिम्मेवारी उनले जसरी सम्हालेका छन्, त्यो उनका लागि प्रिय थिएन् । उनले त्यसलाई सजिलै ह्यान्डलिङ गर्ने विषय पनि थिएन । जसकारण आज उनी विवाद मात्रै होइन, आफ्नो राजनीतिक जीवन सिध्याउने गरि अरु कसैको सहारा लिँदा झण्डै नैतिक रुपमा समाप्त हुनु परेको छ ।
यस्तो अवस्थामा उनले राजनीतिक रुपमा पुनर्जीवन पाएका छन् । तर यो सजिलै गरि उनले फेरि उच्च रुपमा नैतिक नेतृत्व पाउन मुश्किल छ । यसका लागि उनले अहिलेकै अवस्थामा राजीनामा दिइसक्दा अब बाँकी समय उनले चुनावसम्म पदमा जानु हुँदैन ।
नेपाली राजनीति र समाज अहिले पुरातनवादी छैन । हरेक नेताहरुको उतारचढावलाई नजिकबाट नियालेर राखेका छन् । जसकारण जनार्दनले आफूलाई केही समय पर्ख र हेरको अवस्थामा नयाँ समयका लागि तयार राख्नुपर्छ । अन्यथा योजनाबद्ध रुपमा बनाइएको र जनार्दनको राजनीतिक जीवन बचाइएको संसदीय छानबिनलाई शिरोधार्य गरेर पदमा फर्किदा उनको अहिलेको शाख झन् खस्किन सक्छ ।
६ जना युवाहरुको एकै चिहान भएको सोती घटना संरक्षणको गम्भीर आरोप लागेका जनार्दन यसै पनि विवादित छन् । यस्तो अवस्थामा उनले आफूलाई त्यसभन्दा अगाडि लैजान आवश्यक छ । त्यसका लागि उनले धैर्यताका साथ आगामी राजनीतिक जीवनमा अगाडि बढ्न आवश्यक छ ।
अन्यथा एकपटक राष्ट्रिय र संसदीय छानबिनमा तानिएको व्यक्तिले खेलाँची गर्दा कर्णालीबाट टावर लिडरको उपमा पाएका जनार्दनको बाँकी व्यक्तित्व पनि मिनेटभरमै लड्न सक्छ ।
र, यो पनि पढौँ
राष्ट्रघात र गद्दारी गरेको प्रमाणित भए राजीनामा दिन्छु