डोटी : माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।
हिजोआज यो झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रका मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयवासी बताउँछन् ।
अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको नेकपा एकीकृत समाजवादीका नेता तथा जोरायल गाउँपालिका–२ पात्तडाका स्थानीयवासी रोहित बोहराले बताए ।
उनले भने, “अहिले कोरोना कहर पनि छैन, झरनामा रमाउन दिनहुँ सयौँ पर्यटक आउन थालेका छन्, पर्यटक आउन थालेपछि पूरै छहरा क्षेत्र रमणीय बन्दै गएको छ ।” छहरा झरना अवलोकन तथा भ्रमणका लागि अहिले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयवासी आउन थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले जानकारी दिए ।
छहरालगायतका क्षेत्रमा केही समय पहिले छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था पनि गरेको थियो । छहरा क्षेत्रमा पर्यटक आकर्षित गराउनका लागि निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन बोर्डबाट विभिन्न बजेट विनियोजना गराउनु भई काम अगाडि बढाइएपछि अहिले यहाँ रमाउनकै लागि दैनिक सयौँ नागरिक आउने गरेको अर्का स्थानीयवासी सिद्ध जेठाराले बताए ।