काठमाडौँ : प्रदेशसभामा बजेट पेश गरेलगत्तै कर्णालीका अर्थमन्त्री बिन्दमान बिष्ट बिरामी परे । उनलाई सुरुमा अनुहारमा भएको फोका बढेपछि असह्य भएको थियो । त्यसपछि उनको प्यान्क्रियाजमा समस्या देखियो । उनी सुरुमा सुर्खेतमै रहेको कर्णाली केयरमा भर्ना भए ।
अवस्था केही गम्भीर बन्यो । उनलाई डाक्टरले काठमाडौँ रिफर गरे । काठमाडौँको सुविधासम्पन्न अस्पताल मेडिसिटीमा झण्डै दुई हप्ता उपचार गरेपछि उनी सुर्खेत फर्किएका छन् । अर्थमन्त्री बिष्ट सामान्यदेखि गम्भीर बिरामी पर्दा कर्णाली प्रदेश अस्पताल जाने अवस्था रहेन ।
यस्तै साउन दोस्रो हप्ता सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी बिरामी परे । उनी गम्भीर नभएको तर स्वास्थ्य समस्याका कारण काठमाडौँमा छन् । उनीनिटक स्रोतका अनुसार सुमेरु अस्पतालमा उनी भर्ना भएका छन् । उनको चेकजाँचपछि उपचार भइरहेको छ । उनी के कारणले बिरामी परेका हुन्, खुलेको छैन ।
तर उनी बिरामी पर्दा पनि कर्णाली प्रदेश अस्पताल जान सकेनन् । काठमाडौ धाउनुपर्यो । उसो त मन्त्री बिसी नियमित चेकजाँचका लागि पनि अस्पताल गइरहनुपर्छ । तर यसपटक पनि उनी काठमाडौँ पुगे । सुर्खेतमै रहेको कर्णाली प्रदेश अस्पतालमा उनी पुगेनन् ।
कर्णाली प्रदेश अस्पताल कर्णाली मात्रै होइन, देशकै नमूना हो । पछिल्लो समय सातै प्रदेशमध्ये कर्णाली प्रदेश अस्पतालको भवन भव्य छ । सेवा सुविधा पनि धेरै थपिएका छन् । व्यवस्थापनका हिसाबले कर्णाली प्रदेश अस्पताल देशकै उत्कृष्ट मानिएको छ ।
बिरामीको उपचारका लागि सायदै अभाव मानिन्छ, अस्पतालमा । तर पछिल्लो समय बिरामी परेका मन्त्रीहरु एकपछि अर्को गरि काठमाडौँ धाइरहेका छन् । सामान्य बिरामी हुँदा पनि मन्त्री प्रदेश अस्पताल पुग्दैनन् । उनीहरु सोझै कि निजी क्लिनिकमा पुग्छन्, कि त काठमाडौँ धाइहाल्छन् ।
यसको अर्थ कर्णाली प्रदेश अस्पतालको भव्यता किन कर्णालीकै मन्त्रीका लागि उपयोगी हुँदैन ? बिरामी पर्दा एकपटक पनि प्रदेश अस्पताल नटेकी उनीहरु किन सोझै काठमाडौँ धाइरहेका छन् ? बिरामी, आफन्त वा कार्यकर्ता भेट्न अस्पताल पुगिरहने मन्त्री किन आफैँ बिरामी पर्दा काठमाडौँ नै पुग्छन् ?
सरकारी अस्पतालमा विश्वास नभएर ? सेवा सुविधा नभएर वा आम नागरिकको उपचार हुने अस्पतालमा आफू जानु हुँदैन ? भन्ने भावना भएर । यसले ढिलोचाँडो कर्णालीका मन्त्री बिलासी मात्रै होइन, आफ्नै प्रदेशको विकास र सेवा सुविधामा विश्वास राख्न सकिरहेका छैनन् । यो कर्णालीका लागि सबैभन्दा ठूलो पीडादायी विषय हो ।
कर्णालीका नागरिकलाई सेवा सुविधा दिने भन्ने तर सुविधासम्पन्न अस्पतालमा आफू बिरामी हुँदा नटेक्ने मन्त्रीले कसरी नागरिकलाई विश्वास दिलाउन सक्छन् ? आम नागरिकले प्रश्न गर्न आवश्यक छ ।