काठमाडौँ : मूर्ति चोरको आरोप प्रमाणित भएर फौजदारी कसुरमा जेल परेका व्यक्ति मन्त्री बन्छन् । जसको नाम हो, कर्णाली । त्यसरी मन्त्री बन्ने व्यक्तिको नाम हो, कार्चेन लामा । हुम्लाबाट लामा पर्यटनमन्त्री बनेका छन् ।
फौजदारी कसुरमा सर्वोच्चमा रिट पर्दा पनि मन्त्री भइरहने व्यक्ति हुन्, अम्मरबहादुर थापा । अहिले उनी नेकपा एकिकृत समाजवादी कर्णाली प्रदेशका इन्चार्ज हुन् । अनि बलात्कार आरोपसहित सेक्स स्क्याण्डल भाइरल हुँदा पनि मन्त्रीको कुर्सी नछाड्ने व्यक्ति हुन्, कुर्मराज शाही ।
त्यति मात्रै होइन, फ्लोर क्रस गरेर मन्त्री बन्ने । सांसद पद जाँदा पनि मन्त्री पद खाइरहने । तीन महिनासम्म प्रतिपक्षीले अवरोध गर्दा पनि मन्त्री पद नछाड्ने । बलात्कार आरोपित मन्त्रीलाई क्याबिनेटमा राख्ने । मन्त्रीलाई बर्खास्त गर्न नसकेर मुख्यमन्त्री बाध्य भएर राजीनामा दिने ।
यी सबै परिदृश्य कर्णाली प्रदेशमा छ्याप्छ्याप्ती भएका विषय हुन् । कर्णाली नामले जति सुन्दर छ । राजनीतिक रुपमा त्यति नै धेरै बदनाम छ । कर्णालीका राजनीतिक दलका नेताहरुले कर्णाली जति नै बनाउँछु भनेपनि व्यवहारमा ठीक उल्टो देखिने गरेको छ । जुन चलिरहेकै छ । नैतिकता पैतलामा कुल्चिएर स्वार्थका लागि सत्ताको दुरुपयोग गरेर दोहन गरिरहने प्रदेश कर्णाली हो भन्दा फरक पर्दैन् ।
अहिले यो रोग काठमाडौँ सरेको छ । कर्णालीबाट प्रतिनिधित्व गर्ने रुकुम पश्चिमका प्रतिनिधिसभा सांसद जनार्दन शर्मा अर्थमन्त्री हुँदा विवादित बने । उनले बजेटमा मध्यरातमा करका दर हेरफेर गरेको आरोप लाग्यो । सञ्चारमाध्यममा समाचार आएपछि उनको चर्को आलोचना भयो ।
आलोचना यति धेरै बढ्यो कि उनले राजीनामा दिने स्थिती बन्यो । उनी आरोप सहन नसकेर राजीनामा दिन बाध्य भएका थिए । उनले राजीनामा दिए पनि । यो उनको नैतिकता जोगाउने एउटा विकल्प थियो । तर चौतर्फी विवाद चलिरहँदा संसदीय छानबिन समितिले आँखामा पट्टी लगाएर मेलमिलापको प्रतिवेदन दियो । जसले विवादित र आरोपित अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउँदै सफाई दिएर प्रतिवेदन तयार पारिदियो ।
हिजो संसदमा चर्को नाराबाजी गरेर संसद नै अवरोध गर्ने र अर्थमन्त्री शर्मालाई राजीनामा दिन बाध्य पार्ने प्रतिपक्षी एमालेले आफ्नो उत्तरदायित्व बिर्सेर अर्थमन्त्री चोख्याउने छानबिन समितिको प्रतिवेदनमा सहीछाप लगाएको छ । यस्तो अवस्थामा चौतर्फी विवाद, विरोध, आलोचना र प्रविधिको तथ्यलाई समेत तोडमोड गरेर जसरी पनि पदमा टिकिरहने प्रवृत्ति घातक छ ।
व्यक्तिगत रुपमा अर्थमन्त्री शर्माले मुद्दा जिते । उनको योजनालाई बल पुग्ने प्रतिवेदन आउँदा उनीमाथि व्यक्तिगत रुपमा राहत भयो । तर देशको अर्थतन्त्रलाई मामुली सम्झिने अर्थमन्त्रीको गम्भीर गल्तीलाई पनि नदेख्ने र नागरिकको विश्वासलाई खेलाँची गर्ने माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा आरोपित जोगाउने साक्षीका रुपमा प्रमाणित भएका छन् ।
व्यक्तिगत रुपमा जनार्दन कति दोषी छन्, उनले कति गल्ती गरेका छन् । आम नेपालीलाई थाहा छ । तर नागरिकसँग समय लिने र आफ्ना त्रुटिहरुलाई राम्रा काममार्फत जवाफ दिनूुको साटो मिलेमतो र साँठगाँठलाई प्रश्रय दिने प्रचण्ड र देउवा प्रवृत्ति संघीयता र गणतन्त्रका लागि घातक हो ।
यसअघि यस्ता दृश्य कर्णालीमा थिए । जहाँ तै चुप मै चुप थिए । कर्णाली एक प्रदेश हो । नागरिक चेतना कम छ, आलोचना धेरै हुँदैन भनेर चुप लाग्ने प्रवृत्ति थियो । तर आज कर्णालीको त्यही रोग काठमाडौँ सरेको छ । काठमाडौँमा आलोचना र चौतर्फी नैतिकताको प्रश्न छ । तर त्यही प्रश्न र नैतिकतालाई बेवास्ता गरेर फेरि सिंहदरबार छिर्ने जनार्दनको बलमिच्याईको हिसाबकिताब जनताले राख्लान् ।
किनकी काठमाडौँमा सत्तालाई खेलाँची ठान्ने, शक्तिलाई दुरुपयोग गर्ने र जनतालाई ढाँटेर भ्रमको खेती गर्नेको राजनीति फस्टाउँदैन । यसअघि माओवादीकै कृष्ण महरा प्रकरण, कृषिमन्त्री हरि पराजुली प्रकरण साक्षी छन् ।
त्यति मात्रै होइन, अदालतलाई समेत खेलाँची ठानेर संसद् विघटन गर्ने एमाले अध्यक्ष रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट सोझै बालकोटको बार्दली पुगेका छन् । यति घटना र इतिहास आँखै अगाडि सूरक्षित राखेका जनार्दन शर्माले कम्तीमा यो दुस्साहस नगरुन् । कर्णालीको रोग काठमाडौँ नसारुन् ।
उनी काठमाडौँमा स्थापित केन्द्रीय नेता हुन् । माओवादी पार्टीका भविष्य हुन् । र, सम्भवतः नेतृत्वमा पुग्ने सक्ने साहसी नेता हुन् । यति संघर्षशील नेता जनताको विश्वास र आफ्नै नैतिकतालाई कुल्चेर सत्ताको कुर्सीमा जुँका बनेर टाँसिदा भोलि सँधैका लागि राजनीतिमा अयोग्य बन्नुपर्ला । भोलिका दिनमा यस्ता विषय र मुद्दा अदालतमा प्रवेश गर्दा त्यसको असर जनार्दनकै राजनीतिक जीवनमा भयावह हुन सक्छ ।
त्यसैले उनले बिर्सिएर पनि कर्णालीको सत्तामा देखिएको रोग काठमाडौँ नसारुन् । बरु कर्णालीको सत्ता स्वार्थमा देखिएको कुरुप राजनीतिक रोग निदान गर्ने नैतिकता प्रदर्शन गरुन् । तर कर्णालीको सुन्दरता छाडेर कुरुपतालाई प्रश्रय गर्ने जनार्दनको बलिमिच्याईको क्षतिपूर्ति ढिलोचाँडो उनैले तिर्नुपर्नेछ । यो स्वयंम उनकै लागि महंगो पर्न सक्छ ।