काठमाडौँ : सुर्खेतमा सञ्चालित बौद्ध ग्रामीण बहुउद्धेश्यीय सहकारी संस्थाले बचतकर्ता र ऋणीमाथि दुर्व्यवहार गर्न थालेको छ । बचतकर्ताको पैँसाबाट ऋण प्रवाह गर्न सक्ने छवि बनाएको बौद्धले पछिल्लो समय बचतकर्ता र ऋणीमाथि सार्वजनिक बैठकमै दुर्व्यवहार गर्न थालेको हो ।
सुर्खेतको लाटीकोइलीमा प्रधान कार्यालय रहेको बौद्धले पछिल्लो समय बचतकर्तामाथि ज्यादती र ऋणीमाथि चर्को ब्याजदर असुल्न थालेको हो ।
बौद्धमा कार्यरत कर्मचारीले बचतकर्तामाथि ज्यादती गर्नुका साथै दुर्व्यवहार गर्न थालेको गुनासो बढेको छ । सुर्खेत उपत्यकादेखि पश्चिम सुर्खेतमा बढीजसो शाखा विस्तार गरेको बौद्धले एकपछि अर्को गरि ऋणमाथि ज्यादती गरेको गुनासो बढेको हो ।
‘सहकारी संघ संस्था भनेको मिलेर बचत सुरु समूह हुन् । जहाँ एकअर्कोको सम्मान, सहभागिता र समन्वय हुन्छ’ एक बचतकर्ताले कर्णालीखबरसँग भने, ‘तर पछिल्लो समय बौद्धले बचतकर्ता र ऋणीमाथि दुर्व्यवहार गर्न थालेको छ । ऋण तिर्नै जाँदा पनि किस्ता हाल्ने समयमा ऋणीमाथि लगातार ज्यादती भइरहेको हो ।’
नाम नखुलाउन चाहने उनका अनुसार ऋण दिने बौद्धले चर्को ब्याजदर असुल्ने गरेको छ । जसको आलोचना हुँदै आएको छ । तर पछिल्लो समय ऋणीमाथि मानसिक तनाव र सामाजिक प्रतिष्ठालाई समेत ख्याल नगरि दुर्व्यवहार गर्दा बौद्धप्रति घृणा जाग्न थालेको छ ।
चाहिएको बेला ऋण दिने बौद्धको ब्याजदर चर्को छ भने किस्ता तिर्ने समयमा ऋणीमाथि लगातार दुर्व्यवहार बढेको पनि गुनासो छ । बौद्ध पछिल्लो समय सुर्खेतको स्थापित र ठूलो पैँसा विभिन्न ठाउँमा चलायमान बनाउने सहकारी संस्था हो ।
जसले आफ्नै भवन स्थापित गरेको छ भने हजारौँ बचतकर्ता र सदस्यसमेत विस्तार गरेको छ । तर कर्मचारीको व्यवहार नसुध्रिदा बौद्ध ग्रामीण आलोचित पनि हुुँदै आएको छ ।