काठमाडौं : रवि लामिछानेले आफ्नो टेलिभिजन कर्म छाडेर राजनीतिमा आएको धेरै भएको छैन । केही समयअघि मात्रै रविको सभापतित्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको हो । अहिले उक्त पार्टी विभिन्न जिल्ला र प्रदेशहरुमा आफ्नो संगठन विस्तारको क्रममै छ ।
कर्णाली प्रदेश कमिटीको विस्तारका लागि रास्वपाका सभापति रविसहित उनको टोली सोमबार सुर्खेत पुग्यो । रविलाई सुर्खेतले भर्खर स्वागत गरेको थियो । सामाजिक सञ्चालमा एउटा भिडियो भाइरल नै भयो । सुर्खेत वीरेन्द्रनगरस्थित सडक छेउमै गाइरहेका एकजना दृष्टिविहीनसँगै रविले पनि गाएको भिडियो भाइरल बनेको थियो ।
![](https://www.karnaalikhabar.com/uploads/editor/prem%20oli/Rabi%20Lamichhane/1.JPG)
‘विरानो यो मन्दिरमा कुनै दियो बल्दैन, नआऊ मेरोसामु तिमी मैले छोएको पानी चल्दैन’ – गायक यसकुमारको यो गीत सडकमा गाइरहेका दृष्टिविहीनसँगै रविले उक्त गीत गाएका थिए । मंगलबार सीटीहलमा हुने कार्यक्रमको निम्तो दिँदै सडकमा गाइरहेका दृष्टिविहीनसँग रविले बिदा मागे ।
मंगलबार सीटीहलमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा हजारौंको उपस्थिती भयो । त्यसमध्ये पनि युवाहरुको जमातै, वृद्धहरुको पनि उस्तै थियो । सम्भवतः सुर्खेतको सीटीहल बने यता धेरै उपस्थिती भएको पहिलो कार्यक्रम होला ।
![](https://www.karnaalikhabar.com/uploads/editor/prem%20oli/Rabi%20Lamichhane/2.jpg)
रविले कार्यक्रममा बोल्दै कर्णालीबाट मुलुक बदल्छु भनेर सिंहदरबार पसेकाहरु भ्रष्टचारीहरु घेराबन्दीमा परेको बताए । उनले भने – ‘कर्णालीमा धेरै प्रतिवद्धता भएका थिए । यहाँ धेरै राता मान्छेहरु थिए । जसले मुलुक बदल्छु भनेर हिँडेका थिए । महिलाहरुलाई विभेद गर्ने मान्छेहरुलाई ठाउँका ठाउँ कारबाही गरिदिए । र, विभिन्न किसिमका विभेद र अन्याय गर्नेहरुलाई ठाउँका ठाउँ कारबाही गरे । त्यो रातो, तातो कर्णालीबाट गएका मान्छेहरु आजभोलि भ्रष्टचारी घेराबन्दीमा परेका छन् ।’
कर्णालीबाट रातो र तातो रगत बोकेर मुलुक बन्दछु भनेर सिंहदरबार पसेकाहरुले कर्णालीको समस्या र सम्भावनालाई बिर्सेको उनको जोड छ । रविको कर्णालीबाट सिंहदरबार पसेर कर्णालीलाई बिर्सेकाहरुप्रतिको आक्रोश यतिले मात्रै सकिएन ।
![](https://www.karnaalikhabar.com/uploads/editor/prem%20oli/Rabi%20Lamichhane/3.jpg)
कर्णालीबाट मुलुक परिवर्तन गर्न हिँडेकालाई प्रश्न समेत गरेका थिए । कहाँ गयो त्यो रगत ? कहाँ गयो त्यो जोश ? कहाँ गयो त्यो प्रतिवद्धता ? उनले गर्जिदै भने – ‘म त्यो खोज्न फेरि कर्णाली आएको छु ।’ रविले यति भनेपछि हलभरि भब्य ताली बजेको थियो ।
कर्णालीलाई राजनीतिको केन्द्र र सुरुवाती विन्दु बनाएर गएकाहरुले आफ्नो बाटो भुले पनि कर्णालीका जनताले त्यो भुल्नेहरुलाई कान समातेर सहीबाटोमा ल्याउन नभुलेको रविले बताए – ‘म त्यहीँ अपेक्षा बोकेर कर्णाली आएको छु ।’ त्यो नेतृत्व फर्ने र कर्णालीवासीले जिम्मेवारी बहन गर्नुपर्ने उनको जोड छ । कर्णालीलाई सधैं गरिबी, अभाव र अशिक्षा मात्रै होइन यहाँको आवश्यकतासँगै वास्तविकतासहित परिवर्तन– समृद्धिको बाटोमा लिने उनको भनाइ छ ।
![](https://www.karnaalikhabar.com/uploads/editor/prem%20oli/Rabi%20Lamichhane/4.jpg)
आफु काठमाडौंको नगरकोटमा जन्मे पनि कर्णालीवासीका लागि दुर्गम कालिकोटको राष्कोटमा सुविधासहितको अस्पताल निर्माण गरेको समेत उनले बताए । अहिले राष्कोट अस्पतालबाट कालिकोटवासीले सेवा सुविधा लिएको जानकारी दिँदै त्यस्तै अस्पताल कर्णालीका हरेक गाउँघरमा बनाउनुपर्ने रास्वपाको जोड रहेको जानकारी दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अब, कर्णालीमा आफ्ना गतिविधि बढाउँदै जाने र आगामी मसिंरको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने आग्रह समेत गरेको छ । सभापति रविले आफ्नो पुरानै शैलीमा पद खोज्नेलाई पार्टीमा आउन नदिने, एउटै परिवारबाट दुई सदस्य नराख्ने लगायतका कुराहरु राखेका थिए ।
हजारौं युवाहरुले नाम जस्तै रवि आएको अब रविको किरण छर्न बाँकी रहेको बताएका थिए । त्यो किरण कर्णालीमै रहेको रविको पनि बताए । कर्णालीबाट पद र प्रतिष्ठाका लागि मात्रै सिंहदरबार पुगेकालाई कर्णालीबाट सदाका लागि बिदा गर्ने युवाको आवाज छ ।
![](https://www.karnaalikhabar.com/uploads/editor/prem%20oli/Rabi%20Lamichhane/5.jpg)
कर्णालीले हिजो राता मान्छेहरु जन्मायो । जो, मुलुक बदल्छु भनेर तातो रगत लिएर सिंहदरबार पसे । तर, आज भ्रष्टाचारीको घेराबन्दीमा भएको उदारहण पनि छन् । कर्णालीमा धेरै विकास र समृद्धिका प्रतिबद्धता भए । रविको पार्टीले पनि ती र त्यस्तै प्रतिबद्धता लिएर कर्णाली पुगेको छ ।
मंगलबार सीटीहलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी कार्यक्रमा कर्णालीका दशै जिल्लाबाट युवादेखि वृद्धसम्मको उपस्थिती थियो । कर्णालीवासीले रविलाई पर्दापछि देखे र सुने । अब, रविले ‘रविलाई’ सुनेका र देखेका कर्णालीवासीको विश्वास र भरोसालाई कसरी आत्मसात् गर्छन् ? यो भने हेर्न बाँकी छ ।