मान्छे !
अभिलाषाले जमिनमा आसीन,
तिम्रा गोडालाई आश्वासनको थप्कीदिँदै !
म राखिदिउँला तिम्रो काँधमाथि हात !
तिम्रा कोमल अञ्जुलीको लाज राख्न !
म अलिकति पोखिदिउँला आफूलाई अञ्जुलीमा पनि !
तर,
नबिर्सनु !
नबिर्सनु, अक्सर बडो प्रेमले थप्थपाउनेहरुले नै
दिएर जान्छन् जीवनमा गहिरा घाउहरु !
नबिर्सनु !
प्रेममा पोखिएका रङ्गहरु !
दाग बनेर पनि बस्न सक्छन् जिन्दगीमा ।
मेरो जीवन, जीवनभरको लागि चाहने चाह !
कहिल्यै नराख्नु तिमी ।
टुक्रिएर सबैको पोल्टोम अटाइदिनु मेरो धर्म हो !
आफैलाई बाँडेर जिउने बानी परेको छ मलाई !
म बाँडिएको छु !
विगतका केही सम्बन्धहरुमा,
वर्तमानका केही सवालहरुमा,
भविष्यका केही सपनाहरूमा !
समेटेर मलाई पाउने जिद्दीमा
तिमी पोखिन नदिनु आफ्नो अस्तित्वलाई !
नबिर्सनु !
समेट्न पनि कसैलाई आफुमा
बाँकी रहनुपर्छ आफैँमा ‘आफु’
सम्झदा सधैँ सम्झनु !
तिम्रो जति तिमी बाहेक कोही तिम्रो हुन्न जिन्दगीमा !
छुट्ट्याउँदै गर्दा जीवनमा मेरो लागि आश्रयस्थल !
बिर्सेर पनि नछुट्ट्याउनु मनको पाटो मेरो लागी ।
नबिर्सनु !
डाँडाको चौतारो जस्तै हुन्छ मन !
अक्सर, थकाइ मार्नेहरुले नै भत्काएर जान्छन् ।
धेरै सुदुरको यात्रामा निस्किएका छन् यी आँखाहरु पनि !
म चाहन्न, मेरा पैतालाहरु,
तिम्रो छाती कुल्चिएर गन्तव्यमा पुगुन !
एउटै गोरेटोको सफरमा,
हामी निस्फिक्री बाँडेर हिडौला थकाइहरु !
तर नबिर्सनु !
सफरको बीचमा भेटिन सक्छन् बीचबाटोहरु,
छुट्टिनु पनि पर्छ, हामी दोबाटोहरुमा !
मोडिनु पनि पर्छ, हामी घुम्तिहरुमा !
गन्तव्यले नहिँडाउन पनि सक्छ, सधैँ एउटै गोरेटो !
भोलिका लागि भरोसा जित्न,
आज कसम खाने गल्ती कहिल्यै नगर्नु तिमी !
कुनैदिन,
आफ्ना रहरहरुको रङ्ग भन्दा,
गाडा नलाग्न सक्छ तिमिलाई मेरो सिउँदोको रङ्ग !
मेरो पोतेको गाँठोभन्दा,
बलियो बनिदिनसक्छ, कसैसँगको सामीप्यता !
मेरो पाउजुको छिनछिनमा,
सधैँ नभेटिनसक्छ माधुर्यता !
त्यसैले,
जीवनभरका बाचाहरु क्षण भरमै नगर्नु तिमी !
‘म तिम्रै हुँ’ भन्ने समर्पण,
अनि ‘तिमी मेरै हौँ’ भन्ने प्रभुत्ववादले मात्रै !
प्रेमिल नबन्न सक्छ साइनो !
अनि नबनेका हुनसक्छन्,
सबै प्रेमिल साइनोहरु जीवनभरका लागि ।
त्यसैले,
बरु आऊ हामी प्रेम रहुन्जेल मात्र प्रेमी बन्ने प्रण गरौं !
निष्ठा रहेसम्म मात्र सम्बन्ध निभाऔँ !
आफ्नोपन रहेसम्म मात्र अङ्गालोमा बाँधिऔँ !
ताकि !
कुनैदिन पल्टाएर हेरे आफ्नै प्रेमको संग्रह !
वियोगान्तका अध्यायहरु भित्र
कोही बाँडिएका दुखेसोहरु !
कोही बद्लिएका गुनासोहरु !
कतै नभेटिउन...!
समसामयिक भावनाका इट्टाहरु जोडेर
नबन्न सक्छ सम्बन्धको दीगो आश्रयस्थल !
थेग्न नसके कुनैदिन,
प्रेमको अङकुसेले सम्बन्धहरुको वजन !
घटाएर आफ्नो भार जोगाइदिनु प्रेमको अस्मिता !
धर्म हो प्रेमीहरुको ।।
त्यसैले,
माफ गर !
यी अदुरदर्शी अभिलाषाका आधारमा !
भविष्यका वक्ता बनेर म स्वीकार्न सक्दिनँ,
तिम्रो जीवन साथी बन्ने प्रस्ताव !
तिम्रो जीवन साथी बन्ने प्रस्ताव ।।