१० चैत, जुम्ला । सदस्यता नवीकरण नभएको भन्दै नेपाल पत्रकार महासघ, जुम्ला शाखामा तालाबन्दी गरिएको छ । जुम्लाका विभिन्न पत्रकार संगठनले पठाएको सिफारिसअनुसार सदस्यता नवीकरण नगरेको भन्दै जुम्ला शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको हो ।
तालाबन्दी गर्ने जुम्ला शाखाका पूर्व अध्यक्ष भीम सार्की हुन् । नियतपूर्ण ढंगले आफूले पठाएको सिफारिसअनुसार सदस्यता प्राप्ती र नवीकरण नगर्दा तालाबन्दी गर्नुपरेको उनको भनाई छ । जुम्ला शाखाका वर्तमान अध्यक्ष बर्मबहादुर महतले सिफारिस पठाएका थिए । जसमा पूर्व अध्यक्ष सार्की लगायतका पत्रकारहरुले सिफारिस गरेका पत्रकारको नाम थियो । सिफारिस अनुमोदन गरेर सदस्यता नवीकरण नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरुको भनाई छ ।
पत्रकार महासंघले पत्रकारलाई भन्दा गैरपत्रकारलाई सदस्यता दिएको पनि उनीहरुको आरोप छ । चुनाव आउँदा विभिन्न राजनीतिक दल, व्यापारी, संघ सस्थामा लागेका व्यक्तिलाई सदस्यता दिएको र त्यो निर्णय नसच्चिएसम्म तालाबन्दी नखोल्ने चेतावनी उनीहरुको छ ।
प्रेस सेन्टर, प्रेस युनियन, प्रेस चौतारी, पत्रकार समाज, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार समाज, प्रेस मञ्च लगायतका पत्रकार संगठनले विज्ञप्ती जारी गैरपत्रकारलाई सदस्यता बाड्ने कार्यको विरोध गरेका छन् । पत्रकार महासंघले सदस्यता वितरण गर्दा ६० प्रतिशतभन्दा बढी गैरपत्रकारलाई सदस्यता दिइएको पत्रकार संगठनहरुको आरोप छ । यसबारे महासंघले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन् ।