१० चैत, मुगु । नेपालकै चर्चित पर्यटकीय गन्तव्यमा पर्छ, मुगुको रारा ताल । नेपालको सबैभन्दा ठूलो ताल रारामा वर्षेनी पर्यटकको ओइरो लाग्छ । दैनिक सयौ पर्यटक रारा पुग्छन् । राराको सुन्दरतामा मोहित हुन्छन् । तालको छेउमा बसेर घण्टौ पर्यटक राराको गुणगान गाउँछन् ।
तर सयांै किलोमीटरको यात्रा गरेर रारा पुगेका पर्यटक भने सास्ती पनि उत्तिकै खेप्छन् । रारामा न राम्रो बस्ने बास छ । न त रारामा पर्यटकलाई स्वागत गर्ने अरु कुनै विशेष व्यवस्था । जबकी राराको प्रचारबाजीमा कर्णाली प्रदेश सरकारले लाखौ खर्च गरेको छ ।
करोडौँ बजेट स्वाहा पारेको छ । तर कर्णाली प्रदेश सरकार तालको छेउसम्म पुगेको देखिदैन् । ताललाई व्यवस्थित पार्ने कुनै योजना र काम रारामा देखिदैन् । मात्रै राराको गुणगान प्रदेश सरकारले गाएको देखिन्छ ।
रारा जाने बाटो नै नर्क समान छ । सुर्खेतदेखि दैलेख, कालिकोट, जुम्ला, मुगु हुँदै रारा पुग्नुपर्छ । बाटो कच्ची मात्रै छैन् । ठाउँ ठाउँमा हिड्नै नसकिने अवस्थाको छ । तर पनि कर्णाली प्रदेश सरकारको उपस्थिती बाटोमा देखिदैन् ।
अरु भन्दा पनि राराको छेउ पुग्ने बाटोको हालत सबैभन्दा बढी खराब छ । तालमा डुंगा छैन् । छेउमा होटल छैनन् । भएका होटलमा पनि केही व्यवसायीको एकछत्र राज छ । त्यसमाथि काठमाडौँ लगायतका ठाउँबाट रारा पुगेका पर्यटकले राम्रोसँग बस्ने बास पाउँदैनन् ।
ठूलो सकसले पर्यटक रारा पुगेपनि त्यो अनुसारको व्यवस्थापन नहुँदा निराश बन्नुपर्ने बाध्यता छ । रारामा रहेका पर्यटन व्यवसायी होस वा होटल व्यवसायी । उनीहरु पर्यटकलाई सहयोग गर्नुको साटो ठगी गर्नमा उद्धत देखिन्छन् । निकै थोरै होटल व्यवसायी मात्रै पर्यटकको दुःख बुझ्छन ।
गुड्ने गाडीदेखि उड्ने जहाजको टिकटसम्म रारामा ठगी हुने गरेको छ । रारा ताल परिसरमा घोडचढीका लागि पनि राम्रो व्यवस्थापन छैन् । पर्यटक निराश बन्न बाध्य हुन्छन् । २०७५ सालमा संघीय सरकार र कर्णाली प्रदेश सरकारले भिजिट नेपाल र घुमौ कर्णाली भनेर धेरै प्रचार बाजी गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रारा ताल परिसरबाट नै नेपालमा पर्यटनको विकासका लागि मूल फुटाउने उद्घोष गरे । २०७५ बैशाख १ गते रारा तालमा धुमधाम कार्यक्रम भयो । सयौ पर्यटक र भीआईपी काठमाडौबाट रारा पुगे ।
तर तामझाम बाहेक रारामा अरु कुनै विकास भएको देखिदैन् । विकासभन्दा बढी अव्यवस्थापन छ । जसको नियमन र अनुगमन छैन् । कर्णाली प्रदेश सरकारले बैशाखपछि कुनै पनि पर्यटकीय गतिविधि रारामा गरेको छैन् ।
यसले पनि देखाउँछ, कर्णाली प्रदेश सरकारले राराको नाम बेचेर प्रचार त गर्छ । तर रारा पुगेका पर्यटकलाई त्यत्तिकै सास्ती खेप्न बाध्य पार्छ । आखिर यो बेवास्ता कहिलेसम्म ?