किताब पढ्यो । फेसबुकमा स्टाटस लेख्यो । अफिस गयो । भिडियो बनायो । एमआरआर र बुकाहोलिक्स भन्यो ।
बेला बेला अनलाइनखबरमा लेख्यो । नाटक र फिल्म हेर्न थिएटर र हल पुग्यो । शनिबार भ्याएसम्म फुटसल गयो । राती ननिदाइ ननिदाइ फुटबल हेर्यो । जिन्दगी यसरी गजबले बितिराखेकै थियो ।
अनि भयो, काठमाण्डौँको मेयरमा बालेनको उम्मेदवारीको घोषणा । भइरहेको राजनीतिसँग त निराश, हतास र वाक्क भएकै अवस्था थियो । ठिक छ त, सकेको गरौँ, भनियो । आशातित नतिजा आयो । बालेन मेयर भए । राजनीति भनेको अहिलेलाई विकास हो भन्ने मात्रै बुझियो ।
प्राबिधिकरुपमा ल्याउन सक्ने फरकमा सोचियो, त्यसकै योजना बनाइयो । पैसा कमाउनु थिएन । दुस्मन बनाउनु थिएन । नेता हुँ भन्दै हिड्नु थिएन । कसैले चिनुन् र तारिफ गरुन् भन्ने थिएन । काठमाण्डौँलाई सकेको योगदान दिउँ । काठमाण्डौँ बन्यो भने देशभरि नै त्यसको उर्जा र तरिका चाँडो पुग्छ भन्ने सोचियो । आफ्नो भुमिका हुन सक्ने काम गरियो ।
पहिलो प्राथमिकता फोहोर व्यवस्थापनलाई मानियो । आधुनिक र दिगो उपाय गरौँ भनियो । यसलाई हदैसम्म जेलिएको रहेछ, हाम्रा राज्यका निकायहरु कतिसम्म अस्पस्ट र भुत्ते रहेछन् भन्ने अनुभव गर्न थालियो । असल नियत राखेर काम गर्छु भन्ने मान्छेहरुलाई पनि कसरी असफल बनाउन चाहदा रहेछन् भन्ने छर्लङ्ग भयो ।
जति कुरा देखिदैछ, यसलाई कम्तिमा आफ्नो स्वभिमानका लागि पनि यत्तिकै छोड्न हुन्न भन्ने लाग्छ । राजनीति न स्थायी पेसा हो, न लक्ष्य । न राजनीति गरेर धन कमाउनु छ, न पदमा पुग्नु छ, न प्रशंसा वा पहिचान नै चाहिएको छ । उमेर ढल्किए पछि यस्तो पनि गरियो भन्ने सम्झिएर सन्तुष्ट भएर मुस्कुराउनका लागि मात्रै दौडधुप थियो । तर, नचाहदा नचाहदै पनि तानिएर निकै पर पुगिसकियो कि जस्तो पनि लाग्न थालेको छ ।
बुझिदैछ, यो बाटोमा थुप्रिएको फोहोरको मात्रै कुरा होइन रहेछ । त्यो भन्दा बढि फोहोर त राजनीतिमा थुप्रिएको रहेछ । निकास राम्रो नभएर जमेर हेरिनसक्नु फोहोरको दह भइसकेको रहेछ राजनीति । फोहोर भन्दा बढि दुर्गन्ध त त्यो राजनीतिबाट जबरजस्ती ल्याइएको रहेछ । जुन किसिमको राजनीति भइरहेको छ, त्यो हेर्दा त यो देश यहाँ भन्दा धेरै बिग्रिसक्नु पर्ने हो । धन्न यो देश यति मात्रै बिग्रिएको छ ।
अनि बेला बेला सोच्छु, अब सबै कुरा नयाँ हुनु पर्छ । नयाँ किसिमको राजनीति । नयाँ प्राथमिकताहरु । नयाँ प्रवृति । यो लामो स्टाटस पढ्ने फुर्सद, जाँगर वा चासो रहला, नरहला तर यदि नयाँ राजनीति गर्छौँ भन्ने साथीहरुले यहाँसम्म पढिसक्नु भएको छ भने तपाईलाई भन्न चाहन्छु, सानातिना स्वार्थ छन् भने पनि त्यागौँ । सबैलाई एकैठाउँमा समेटौँ । सबैको प्रतिनिधित्व होस् । आफ्नो नजिकको वा नयाँ भनेर मात्रै पनि हुन्न । पुरानालाई फ्याल्न पुरानै तरिका वा सोचले फ्याल्ने होइन । अहिले भन्छु, उहि स्वार्थ, उहि लहड, उहि अपारदर्शी हुने हो भने नयाँ चाहिदैन ।
उहि बाटो हिडेर अर्कै गन्तव्य पुगिदैन । जति नै फूर्तिसाथ हिडे पनि नर्क पुर्याउने बाटोले नर्क नै पुर्याउँछ । सोचौँ ।
सामाजिक सञ्जालबाट