आदरणीय नेता,
नेपाली कांग्रेसका उपसभापति
पूर्णबहादुर खड्काज्यु
विषय : काठमाडौको फोहोर व्यवस्थापनका लागि सक्रिय सहयोगी भुमिकाको नेतृत्व गरिदिनु हुन ।
प्रिय अभिभावक,
देशकै इज्जत, राजधानी शहर काठमाडौं, अहिले सडकमा अस्तब्यस्त फोहोर र फोहोर ब्यवस्थापनमा देखिएको फोहोरी राजनितीका कारण डुङ्डुङ गनाउदा, देशको शिर झुकेको आभास हामीलाई भएको छ। देशको रास्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु बस्ने राजधानी शहरको अवस्था यस्तो हुँदा लाज त देशको भएको छ, बाटोमा हिड्दा फोहोरले सार्है सास्ती नागरिकलाई दिएको छ।
अहिले काङ्ग्रेसले सरकारको नेतृत्व गरिरहेको अवस्थामा यो ब्यबस्थापनमा महानगरलाई साथ दिनु काङ्ग्रेसको, गठबन्धनको सरकारको दायित्व हो। हजुर सरकारको कुनै पदमा नभए पनि देशको शक्तिशाली नेता हुनुहुन्छ, पार्टीको महत्वपूर्ण पदमा हुनुहुन्छ। यदि हजुरले नेतृत्व लिनु भयो भने अहिले देखिएको यो फोहोर व्यवस्थापन समस्याको निकास ढुक्क निस्किन्छ भन्नेमा विश्वस्त भएर नै हजुरलाई सार्वजनिक रुपमा यो अपिल गरेको हु।
मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा दिगो निकास हुने काम गर्ने कुराहरु गरिरहदा, काठमाडौ मेयर जितेको दिनबाट उनले गरिरहेका कोशिसहरु हेर्दा, अहिले देखा परेको फोहोर ब्यबस्थापनको अस्तब्यस्ततामा बालेनको असक्षमता कम ठुला राजनैतिक दलका कार्यकर्ताले उनलाई असफल पार्न गरेको फोहोरी राजनितीका रुपमा देशका आम युवाले हेरेका छौँ।
अर्को पालिकामा लगेर फोहोर ब्यबस्थापन गर्ने हुँदा महानगरले मात्र यो समस्या हल गर्न नसक्ला, यो जिम्मेवारी त सरकारकै हो भन्ने हाम्रो बुझाइ हो।
फेरि फोहोर ब्यबस्थापन त हामी सबैको साझा जिम्मेवारी हैन र ? जसले जहाँबाट जे भुमिका निभाउन सक्छ, प्रेरित गर्ने काम पनि सरकारकै हो, सबैलाई जिम्मेवार बनाउने काम पनि सरकारकै हो। राजधानी शहरको फोहोर ब्यबस्थापनलाई त नमुना बनाएर देशभरका अन्य शहरहरुलाई सिकाउनु पर्नेमा यहाँ त काम गर्न अबरोध कसरी गर्ने भन्ने सिकाइ जस्तो भयो।
महानगरले पनि सरकारसंग आग्रह गरेको होला, आम युवाको तर्फबाट हजुरलाई आग्रह गर्दछु, हजुरको नेतृत्वको छत्रछायामा हामीले कहाँ के काम गर्न पर्छ, युवाहरु जुट्छौ, काम गर्छौं। कृपया यो नेतृत्व हजुरले लिइदिनुहुन हार्दिक हार्दिक हार्दिक अनुरोध गर्दछु।
अनिल ढकाल
स्वतन्त्र युवा नेता तथा अभियान्ता
सुर्खेत