(सुर्खेतको बुलबुले ताल परिसरमा २०७८ फागुन २७, २८ र २९ गते आयोजित कर्णाली उत्सवको तेस्रो सस्ंकरणमा कर्णालीका सुप्रसिद्ध कलाकार प्रेमदेव गिरीले राखेको धारणाको सम्पादित अंश । ऋति फाउण्डेसनले आयोजना गर्दै आएको कर्णाली उत्सवको तेस्रो संस्करण अन्तर्गत ‘कर्णाली भेरी सुसेल्दो छ’ सेसनमा गिरीले राखेका धारणाको विचार हामीले कर्णाली उत्सव र साझा बिसौनीबाट लिएका हौँ – सम्पादक)
गीत संगीतको आफ्नो निरन्तरता त छँदैछ । तर त्यसको आफ्ना विभिन्न चरणहरूमा नदीले छाल हानेजस्तै संगीतमा पनि त्यसरी उर्लिन्छ । ‘सरर मलेवा, घुम्छ बादल मुनी मायालाई’ लगायतका गीत गाउने पुरानो प्रेमदेव गिरी ‘कर्णाली उत्सवमा’ बहस गरिरहँदा रमाइलो अनुभव भएको छ । यसरी सबैजना जमघट हुने भेला र समारोहहरू उतिबेला पर्याप्त मात्रामा थिएनन् ।
अहिले जस्तो स्रष्टाहरूसँग जमघट हुँदैनथ्यो । समयकालसँगै यो आजको समाजकै सम्पदा थियो । अहिले कार्यक्रम प्रस्तुतिका अवसरहरू आउन थाले तब मलाई, ‘सपनाबीच पाएको धन, बिउँझिदा हातमा’ भनेर महाकविले भनेझैँ लागेको छ ।
त्यो बेला सात दिन लगाएर काठमाडौं जानु, रेडियो नेपालमा देउडालाई कहिलेकसो मात्रै भाषा–भाषिकामा पढ्नु, विधिवत् तरिकाले भाषा–भाषिका त्यतिबेला मान्यता थिएन । त्यतिबेला फूलबारी भन्ने कार्यक्रम चलाइन्थ्यो । फूलबारी कार्यक्रममा देउडाहरू बज्थे । झ्याउरे, झ्याली र मादल बजाउने गीतहरूलाई मात्रै गीत भन्ने अवस्थाबाट अहिले जुन यो देउडा गीत व्यापक भएको छ । मलाई कस्तो लाग्छ भने, त्यो बेला सपनामा भेटेको कुरा अहिले विपनामा भोगेको छु ।
यो एउटा ठूलो मौका र संयोग हो । मेरो यहाँसम्मको लामो अनुभवमा गीतको चिनारी भनेको लय रहेछ । हामीले संगीत भन्छौँ । शब्द चाहिँ के रहेछ भने, बाह्रै महिना फुल्ने फूलहरू आफ्नो सिजनमा फुल्छन् । शब्द चयन मान्छेहरूले आफ्नो इच्छाअनुसार गर्ने रहेछन् । जस्तो एउटा धागो छ भने कसैले मखमली फूलको माला उन्ला, कसैले हजारी उन्ला तर धागो एउटै हुन्छ । शब्दहरू फरक भइरहन्छन् । ती आफ्नो–आफ्नो भोगाइका हुन्छन् ।
अहिलेको नयाँ पिँढीलाई पहिले हामीले सुर्खेतमा नेपालगञ्जबाट नुन बोकेर ल्याउँथ्यौँ भन्यौ भने पत्याउँदैनन् । उनीहरूले डिपोमा नुन पाइन्छ भन्छन् । त्योअनुसार उसले आफ्नो शब्द चयन गर्ने हो । गीतको लय मात्रै नभएर हामीले बोल्ने भाषाहरूलाई पनि समेट्न सक्छन् । भाषाको चिनारी हामीले लिपिबद्ध गरेर राख्न सकेनौँ भने, कालान्तरमा यो अपरिचित पनि हुनसक्छ । तर अहिलेसम्म ती लयहरू व्यापकतामा नभए पनि कतै अहिले पनि सुरक्षित छन् जस्तो मलाई लागेको छ ।
अहिलेको अवस्थामा साहित्य तथा कला पनि एउटा आफ्नो सन्तुष्टि र समाजतिर केन्द्रित छ भने अर्कोतिर आयआर्जनको माध्यम छ । अर्थात् यो क्षेत्र अहिले सेवामूलक र व्यवसायीकरण बनेको छ । एउटा पक्ष छ जसले हाम्रो स्वाभिमान र पहिचान गीत संगीतलाई आफ्नो गौरव ठान्ने, त्यसमा आत्मसन्तुष्टि लिने, रमाउने र यो समाजको सम्पदा हो भन्ने र अर्को पक्ष त्यसलाई आफ्नो व्यापार वा आयमूलक दृष्ट्रिकोणले हेर्ने यी दुई वटा पक्ष छन् ।
लय भनेको एउटा धागो हो । त्यसमा व्यथा वेदनाका फूलहरू उनीन्छन् । आफ्ना व्यथाहरू व्यक्त गर्ने एउटा माध्यम गीत हो । आखिर दिनभरि गिट्टी कुटे पनि वा दाउरा चिरे पनि पाखुराकै बल जाने हो । दुई वटै काम त दुःख नै हुन् । त्यसैले गीतको शीर्षकहरू एउटा–एउटा गरेर नजालान् त्यसमा हामीले वर्गीकरण ग¥यौँ भने मानिसहरूको उमेर भनेझैँ गीतहरूले ती कुराहरूलाई समेट्छ ।
संस्कारहरू चलायमान पनि हुन्छ । समयअनुसार केही परिवर्तन पनि होला । समयअनुकूल जे–जति परिवर्तन भएको हामीले देखेका छौँ, ती संस्कारहरू हुन् । समयअनुसार संस्कृति परिवर्तन हुँदैन होला । त्यसैले हाम्रा मूल संस्कृतीहरूलाई कसरी अवलम्बन ग्रहण गर्यौँ भन्ने कुरा महŒवपूर्ण हुन्छ । जस्तोः कुरा हामीले लगाउने कपडाहरूको नाम पनि हामीले बिर्सियौँ तर सिस्नो, अल्लोजस्ता पुराना कुराहरू छन् ।
अब गर्नुपर्ने के छ भने, पहिले–पहिले बुढा भए ‘भाषा सारे’ भन्थे । जति बेलामा सञ्चारको सहज पहुँच थिएन, त्यो बेलामा कथा, उखान वा गीत समाजलाई जसरी सहज हुन्छ, त्यसरी हाम्रा गीत, लय र संगीतहरू थिए । तर अहिले त्यस्ता भिडियो तथा अडियोहरू रेकर्ड गरेर राख्ने युग पनि आएको छ । हाम्रा पालामा एउटा फोटो खिच्यो भने हामीले पाउन करिब चार दिन लाग्थ्यो ।
अहिले सुर्खेतमा भएको कर्णाली उत्सवलाई विश्वका कुनाहरूमा देखाइरहेका छौँ । त्यसैले लोक गीतको परिचय लयमा छ । लयहरू अर्थात् भाकाहरूलाई बचाउनका लागि यसलाई लिपिबद्ध गरेर र वर्गीकरण गरेर राख्न जरुरी छ । यसका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु । स्वर लिपिको विकास गर्न जरुरी छ । जसबाट नयाँ पुस्ताले समेत हाम्रा पुराना भाकाहरूमा आफ्ना भोगाइका शब्दहरू राखेर गाउन सकुन् ।
कुनै चरा बासेको छ भने हामीले नदेखे पनि चिन्छौँ । त्यसैले उसको लय वा बोली नै उसको संस्कृति हो । जसले हाम्रो पहिचान दिन्छ । त्यसैले कर्णाली प्रदेश सरकारले हाम्रा भाकाहरूलाई लिपिबद्ध गरेर राख्न सुझाव दिन्छु । जसका लागि हामी खटेर सहयोग गर्न तयार छौँ । स्रोत : साझा बिसौनी/कर्णाली उत्सव