काठमाडौँ : काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ ।
विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिए ।
अस्पतालमा चिकित्सकसहित धेरै डेङ्गुका बिरामी भर्ना भएको बताए । “यहाँ दैनिक डेङ्गुका बिरामी भर्ना भइरहेका छन्”, उनले भने, “घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।” विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ ।
नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गु बढेको बताउँछन् । त्यसपछि अहिले नै डेङ्गुका बिरामी बढेको उनको भनाइ छ । बीचका वर्षमा पनि डेङ्गुका फाट्टफुट्ट बिरामी भेटिइरहे ।
तराई–मधेशमा बढी देखिने डेङ्गु २०१८ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखा प¥यो । “उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका छन्”, उनले भने, “ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।”
निजामति कर्मचारी अस्पतलाका निर्देशक डा विधाननिधि पौडेलले अस्पतालमा अहिलेसम्म १९ बिरामीको उपचार भइसकेको जानकारी दिए । उनका अनुसार आज पनि आठ जना बिरामीको उपचार भइरहेको छ । अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । रासस