मैले कक्षाकोठामा शिक्षण गर्दाखेरी सिर्जनात्मक सीप कला भन्ने विषय पनि छ । सिर्जनात्मक सीप कला भनेर पढाउँदा मैले आफ्नो लोक तथा देउडा भाका शिक्षण गर्दाखेरी कक्षाकोठामा मैले गाउन थालेँ । कक्षाकोठामा गाउँदै शिक्षण गर्दाखेरी कतिपय नबुझेका अभिभावकहरूले विजया म्याडमले त कक्षाकोठामै गाउन पो थाली ! भन्नुभयो ।
पढाउन आएकी मान्छे किन गाउन तथा नाच्न थालिन भन्न थाले । मलाई त्यस्ता किसिमका आरोपहरू पनि आउन थाले । ती आरोपहरू मैले सहेर बसेँ । कक्षाकोठामा मैले विषयवस्तुहरूलाई गीतमा ढालेर रमाइलोसँग नानिबाबुहरूलाई सिकाउँदै गएँ । कक्षा १ देखि ५ सम्मका भाइबहिनिहरूलाई गीतमार्फत विभिन्न विषयवस्तुको शिक्षण गर्न थालेँ । त्यसरी शिक्षण गर्दा बच्चाहरूले सहज तरिकाले सिक्न थाले । कक्षाकोठामा लोक गीत तथा संस्कृतप्रति बढी उत्सुकता छोरीहरूले देखाउने गरेको पाएँ । पहिले त छोरीहरूलाई पढाउनुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा थिएन ।
रुकुमजस्तो विकट र पिछडिएको ठाउँ मैले संघर्ष गरेर त्यतिबेला पढ्ने मौका पाएँ । हामी सात बहिनी छोरीहरू थियौँ । बुबाले छोरीहरूलाई पढाउनुपर्छ भनेर पढाउनुभयो । अहिले सबैजना अधिकृत सरहको जागिरमा हुनुहुन्छ ।स्थानीय तहमा स्थानीय पाठ्यक्रम निर्माणको अभ्यास भर्खरै सुरु हुँदैछ । स्थानीय पाठ्यक्रममा लोक संस्कृतिका कुराहरू राख्नुपर्छ । मलाई त्यसको लागि पनि सल्लाह गर्नुभएको छ । भर्खरै प्रक्रिया पनि सुरु भएको छ ।
अहिले सहज रूपमा सामाजिक सञ्जालको पहुँच भएकोले नयाँ नयाँ सिर्जनाहरू हुन थाले । पहिले मेरो आमा र हजुरआमाहरूले रूकुम–पश्चिममा गाउने ठाडी भाका मलाई अहिलेसम्म स्मरण छ ।
कर्णाली उत्सव..कुडा कर्नालीका
सुसाउँछन् कर्नाली भेरी पिडा नेपालीका
माथि पर्योक सिस्ने हिमाल तल सानी भेरी
सित्ति मन रुँदैन मेरो सम्झि ल्याउँदा खेरी
कमल ताल सिस्ने हिमाल रुकुमको चिनारी
वर माग्न आइदिनुहोला डिग्रे साइकुमारी
कर्णाली प्रदेश सरकारले विभिन्न जिल्लाहरूमा लक संस्कृतिलाई जगेर्ना गर्ने खालका कार्यक्रमहरू गर्नुपर्छ । यस्ता खालका बहसमूलक र लोकसंस्कृति बचाउने कार्यक्रमहरू गर्न जरुरी छ ।
(सुर्खेतको बुलबुले ताल परिसरमा ऋति फाउण्डेसनद्धारा २०७८ फागुन २७, २८ र २९ गते आयोजित कर्णाली उत्सवको तेस्रो संस्करको ‘कर्णाली भेरी सुसेल्दो छ’ सेसनमा लोक गायिका विजया शर्माले राखेको धारणाको सम्पादित अंश । यो सामग्री कर्णाली उत्सव र साझा बिसौनाबाट लिइएको हो - सम्पादक)