कर्णाली र बजार । झट्ट सुन्दा यी आफैमा विरोधाभासी जस्तो लाग्छ । किनभने हामीले कर्णाली भन्नासाथ सुन्दै आएका शब्दहरू हुन् शोक, रोग, गरिवी आदी । कर्णालीबारे अरु आउने शब्दहरू एनजीओ, अनुदान, दुर्गम र विकट आदी । कर्णाली बारेको बहसमा हामीले बजार भन्ने शब्द सायदै मात्रै सुनेका छौँ ।
त्यसैगरी कर्णालीको बहसमा उद्यमशीलता भन्ने शब्द पनि सायदै सुनेका छौँ । बजार भन्नासाथ हामिले बस्तु तथा सेवा किनबेच गर्ने ठाउँ भनेर बुझ्छौँ भने अर्काेतिर बजार व्यवस्था । अर्थतन्त्रको त्यस्तो व्यवस्था जहाँ निजी क्षेत्रको भूमिका धेरै हुन्छ । अर्थतन्त्र सरकारभन्दा समुदायबाट बढी निर्देशित हुने बजार व्यवस्थाबारे पनि बहस गर्नेछौँ ।
कर्णालीसँग मेरो साक्षात्कार २०६९ सालको दसैँको समयमा भएको थियो । त्यतिबेला हाम्रो रारा घुम्न जाने योजना बन्यो । त्यसका लागि हामीले खोजी गर्दा के पायौँ भने अधिकांश व्यक्तिहरू सिधै प्लेनमार्फत मुगुको ताल्चा विमानस्थल जाने रहेछन् र त्यहाँबाट रारा घुमेर फर्कने रहेछन् । हामीलाई त्यसरी घुमेर कर्णाली नबुझिने लाग्यो ।
कर्णाली बुझ्ने गरी घुमौं भनेर नयाँ बाटोबाट यात्रा गरेर कर्णाली राम्रोसँग अनुभव गरौँ भन्ने लाग्यो । हामी दैलेखसम्म गाडिमा आयौँ । त्यहाँबाट कालिकोट, जुम्ला हुँदै ६ दिन लगाएर हिँडेर रारा पुग्यौँ । त्यो यात्राका क्रममा तीनवटा घटनाहरू भएका थिए जुन अहिलेसम्म पनि मेरो स्मृतिमा रहिरहेका छन् ।
पहिलो घटनाः जब हामी दैलेखबाट उकालो लाग्दै थियौँ । त्यो दिन हामि भैंसीचौर गएर बास बस्ने योजनामा थियौँ । बाटोमा हामीले विश्वकर्मा थरको एक जना युवकसँग भेट्यौँ । उहाँ वैदेशिक रोजगारीबाट फर्कनुभएको रहेछ, दसैँ मनाउन । मैले उहाँलाई के सोधेँ, ‘तपाईं तिहार सकेर भारतमा रोजगारीको लागि फर्किनुहुन्छ ?’ उहाँले दशैँको टिका लगाएको भोलिपल्ट भारत फर्किने बताउनुभयो । किन ? भन्ने मेरो जिज्ञासामा उहाँले भन्नुभयो, ‘हामीले भारतमा एउटा क्याफे पनि खोलेका छौँ । तिहारको समयमा त्यहाँ एकदमै धेरै व्यापार हुन्छ ।’ त्यो कुराले मैले कर्णालीबासीमा उद्यमशीलताको झिल्को पाएँ ।
दोस्रो घटनाः कालीकोटको सेराबाडाबाट हामी हिँडिरहेका थियौँ । अकस्मात एकछिन पख्नुसत् भनेर कतैबाट एउटा आवाज आयो । हामीलाई कसैले नचिनेको ठाउँमा कसले किन बोलाए भनेर हामी छक्क प¥यौँ । एक जना मान्छे थालमा सेल र टिका लिएर आउनुभयो । त्यो दिन दसैँ थियो । दसैँको दिन पनि किन खाली निधार लिएर हिँड्नुभएको भनेर एउटा अपरिचित व्यक्तिले टिका लगाइदिनुभयो र सेल खान दिनुभयो । बजार व्यवस्थाको लागि चाहिने मानिसहरूको सदासयता त्यसबाट देखेँ ।
तेस्रो घटनाः जब म रारा पुगेँ । मेरो स्थानीय साथी आएको थियो । उसले रारा घुमाउँछु भन्यो । घुम्दै गर्दा उसले त्यहाँ भेटेजतिका झारपातहरू देखाउँदै ती जडिबुटीहरूको नाम बतायो । सुरुसुरुमा त उत्साहित भएको थिएँ । पछि पछि त दिक्कै लाग्यो यहाँ त जे टिपे पनि जडिबुटि नै रहेछजस्तो लाग्यो । यहाँको अवसर चाहिँ मैले त्यहाँबाट थाहा पाएँ ।
मेरो एउटा साथी कर्णालीकै कुनै एउटा ठाउँमा अध्ययनको लागि गएको थियो रे । त्यहाँ एउटा बाजेसँग कुरा गर्दा उहाँले साथीलाई के भन्नुभएछ भने, हेर्नुस बाबु तपाईं पूर्वको हुनु हुँदोरहेछ । पूर्वका नेता बलिया, पश्चिमका देउता बलिया । उहाँले हामी अल्ली बढी भाग्यवादमा विश्वास गर्ने भएर पछाडि परेका हौँ भन्ने इंगित गर्न खोज्नुभएको थियो होला ।
डा. भोला चालिसेले भन्नुहुन्थ्यो, बजारलाई जब हामीले नियन्त्रण गर्छाैं, त्यो भनेको बजारको ढोका अलिकति मात्रै खोल्नु हो । त्यसमा जो टाँठाबाठा छन् तिनीहरू मात्रै जान सक्छन् । त्यसमा भित्र गएकाहरूले पनि फेरी भित्रबाट ढोका बन्द गर्न सक्छन् । जसलाई हामीले सिन्डिकेटको उदाहरणको रूपमा बुझ्न सक्छौँ । त्यतिबेला सरकारको भूमिका त्यो ढोका खोलिदिने वा बन्द गर्न नदिने हुनुपर्छ ।
त्यसबाट बजारमा प्रतिस्पर्धा हुँदैन र वस्तु तथा सेवाको महँगो मूल्य र कम गुणस्तरको हुनसक्छ । अर्थात् त्यसको विकल्प हुन सक्दैन । जब हामीले बजारलाई जति धेरै खुला र उद्यमशील बनाउँछौँ, त्यसपछि सबै मानिसहरू सहजै बजारको फाइदा लिन सक्छन् । जसबाट बजार प्रतिस्पर्धी हुन्छ । बजारमा प्रतिस्पर्धी हुनु भनेको वस्तु तथा सेवा र मुल्यमा नागरिकहरूलाई रोज्ने अधिकार हुन्छ । धेरै विकल्पहरू हुन्छन् ।
(सुर्खेतको बुलबुले ताल परिसरमा ऋति फाउण्डेसनद्धारा २०७८ फागुन २७, २८ र २९ गते आयोजित कर्णाली उत्सवको तेस्रो संस्करको ‘बजार विकास, हजार निकास’ सेसनमा अध्येता सुरथ गिरीले राखेका धारणाको सम्पादित अंश । यो सामग्री कर्णाली उत्सव र साझा बिसौनाबाट लिइएको हो – सम्पादक)