उद्यमीको रूपमा मैले काम गरेको भर्खरै तीन वर्षमात्रै भएको छ । सरल रूपमा भन्नुपर्दा उद्यमशीलता भनेको कुनैपनि सामाजिक, आर्थिक मुल्य सिर्जना गर्नका लागि निरन्तर रूपमा अवसरहरूको खोजी गर्ने एउटा इच्छा र योग्यता उद्यमशीलता हो । अवसर खोज्ने इच्छा र योग्यता हुँदाहुँदै पनि तपाईं सफल हुनुहुन्छ भन्ने कुनै निश्चितता हुँदैन । अनिश्चितताको बाबजुत नै तपाईंले त्यो इच्छा राख्ने हो ।
तपाईंको इच्छालाई अवसर प्राप्त गर्न कस्तो किसिमको कदम चाल्नुहुन्छ, त्यो कदम चाल्नलाई तपाईंसँग साहास छ कि छैन ? त्यो कुराले तपाईं उद्यमी हो या होइन भन्ने फरक पार्छ । मैले भन्न खोजेको कुरा चाहिँ एउटा इच्छा र योग्यतामात्रै भएर तपाईं उद्यमी बन्न सक्नुहुन्न । जोखिम लिने तपाईंसँग साहस छ कि छैन भन्ने कुराले फरक पार्छ ।
तीन वर्षअघि मेरो साथीहरू सामाजिक र आर्थिक क्षेत्रमा परिवर्तनका लागि धेरै आइडियाहरू ल्याएर आउनुभएको थियो । हामीले सँगै काम गरेका थियौँ । तर उहाँहरू अहिले उद्यमी हुनुहुन्न, म उद्यमीको रूपमा स्थापित भएको छु । त्यसमा फरक के थियो भने त्यो अवसर प्राप्त गर्नका लागि मैले के कति कदमहरू चालेँ, मैले के कति जोखिम लिएँ भन्ने कुराले फरक पार्छ । उद्यमी बन्न चाहानेहरूले सबैभन्दा बढी जोखिम बहन गर्न सक्नुपर्छ ।
कर्णालीमा जल, जमिन, जडिबुटी लगायत धेरै साधन र स्रोतहरू छन् । कर्णालीमा रहेका यी स्रोत साधनको उपयोग गरी वस्तु तथा सेवाको उत्पादन, प्रसोधन र बजारीकरणका लागि स्रोतसाधनको अभाव छ । उद्यमशीलतामा अर्काको नक्कल गर्नैपर्छ भन्ने छैन ।
कर्णालीबासीको ३० वर्षपछिको जीवनशैलीलाई परिकल्पना गरेर पनि अहिले व्यवसाय गर्न वा सोअनुसार वस्तु तथा सेवा उत्पादन गर्न सकिन्छ । हामीमा दिगो विकासका अवसरहरू प्रयोग गर्ने अवसर पनि छ । त्यसैले उद्यमशीलतालाई हामिले गहिरो रूपमा बुझेर काम गर्नुपर्छ ।
मैले कर्णालीकै सामानहरू पनि फ्रान्समा निर्यात गरिरहेको छु । सामानहरूको उच्च माग रहेको छ । अरुको कमजोरी हाम्रो अवसर हो । हामीले भारत वा चिनको उत्पादनको नक्कल गर्ने होइन । हामिसँग भएको उत्पादन र कच्चापदार्थ उनीहरूसँग छैन । हामी व्यावसायिक छैनौँ ।
उदाहरणको लागिः न्युजिल्याण्डमा उत्पादन भएको राडी यहाँ करिब चार हजार रूपैयाँमा पाउन सक्नुहुन्छ । मैले निर्यात गरिरहेको डोल्पाको भेडाको उनबाट बनेको कार्पेट तीनदेखि चार लाख रूपैयाँसम्ममा बिक्री हुन्छ । त्यो किन हुन्छ भने, विशिष्टता हुनुपर्छ ।
त्यो बनाउनका लागि न्युजिल्याण्ड वा चीनमा छिटो उत्पादन गर्नका लागि भेडाहरूलाई व्यापारिकरण गर्नुप¥यो । त्यहाँ प्राकृतिक भेडा नै पाइँदैन । हामीसँग भएको भेडा र चौंरीहरू अर्गानिक हुन् । पश्चिमी बजार अमेरीका तथा युरोपमा एउटा अभियान चलिरहेको छ ।
जुन अबको करिब २० वर्षसम्म कडा रूपमा आउनेवाला छ । त्यो भनेको ग्रेटा मुभमेन्ट जुन दिगो विकासको कुरा हो । हामीकहाँ ठूलो मात्रामा औधोगिकरण भइसकेको छैन । कच्चापदार्थहरू अर्गानिक स्वरूपमा रहेको छ । उद्यमीहरूले उत्पादन गर्दा वस्तुको परिमाणभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ । कर्णालीका लागि यो धेरै नै महŒवपुर्ण कुरा हो । एक हजारवटा राडी जम्मा तीन लाखमा बेच्ने वा एउटा राडी तीन लाखमा बेच्ने भन्ने कुरा हो । त्यसैले हामीले वस्तु धेरै नभई राम्रो बनाइ महँगोमा बेच्न सक्नुपर्छ ।
रूकुमको अल्लो खासमा पहिले पहिले चाहिँ त्यहाँ बुन्ने हो । अहिले कच्चापदार्थ नै बेचेर काठमाण्डौं पु¥याउनुपर्छ । मेरो युरोप र अमेरीकाको ग्राहकहरूले रूकुमकै महिलाले बुनेको अल्लोको कपडा रूचाउनुहुन्छ । काठमाण्डौंमा बनेको दुई सय ५० रूपैयाँको त्यहि उनको कपडा रुकुमको महिलाले उनेको भए एक लाख रूपैयाँसम्म तिर्न ग्राहकहरू तयार हुनुहुन्छ ।
त्यसैले हामिले अर्गानिक रूपमा बस्तुको गुणस्तरमा केन्द्रित ग¥यौँ भने त्यसले मुल्य पाउँछ । विशिष्टता हाम्रो सबल पक्ष हो । हामीले आफुसँग भएको क्षमतालाई कमजोर ठान्छौँ तर अरुलाई राम्रो देख्छौँ । उत्पादनको ब्राण्डिङ र बजारीकरणको पनि काम गर्न सक्नुपर्छ ।
संसारले आधुनिकिकरण अंगाल्यो । त्यसबाट दिक्क भएर प्रकृतितिर फर्किहेको छ । नेपाल र विशेषगरी कर्णाली हामी प्राकृतिक अवस्थामै छौँ । यसको सदुपयोग गरेर उद्यमशीलता गर्नुपर्छ ।
म उद्यमी हुनुभन्दा अगाडि फिल्ममेकर थिएँ । २०१७ मा गरिबि निवारण कोष र विश्व बैंकले करिब १७ वटा जिल्लाहरूमा बजार कसरी बनाउन सकिन्छ भन्ने अध्ययनका लागि एउटा ठूलो परियोजना थियो । त्यसमा सफलताका कथाहरूको भिडियो बनाउनका लागि म पूर्वको तेह्रथुमदेखि दैलेख जिल्लासम्म घुम्ने अवसर पाएँ ।
जतिबेला त्यहाँका उद्यमीहरूसँग अन्तरक्रिया गर्ने मौका पाएँ । जसमा मैले आठ वटा सफल उद्यमीहरूका डकुमेन्ट्री बनाएँ । त्यसपछि म डिप्रेसनमा गएँ । किनभने त्यो सबै झुट थियो ।
जुन परियोजनाको लागि धेरै रकम आएको थियो । त्यो रकम जुन उद्देश्यका साथ आएको थियो, त्यो १० प्रतिशत पनि कार्यान्वयन भएको थिएन । तपाईं उद्यमशीलतामा सफल हुने या नहुने कुरा तपाईंमा मात्रै नभएर आर्थिक प्रणालीमा पनि निर्भर हुन्छ ।
[ऋति फाउण्डेसनले सुर्खेतको बुलबुले ताल परिसरमा २०७८ फागुन २७, २८ र २९ गते आयोजना गरेको कर्णाली उत्सवको तेस्रो संस्करणको ‘बजार विकास, हजार निकास’ सेसनमा युवा उद्यमी रेवती गुरुंगले राखेका धारणाको सम्पादित अंश । यो सामग्री कर्णाली उत्सव र साझा बिसौनाबाट लिइएको हो - सम्पादक]