बजार भनेको वस्तु तथा सेवाको खरिदबिक्री र लेनदेन हुने ठाउँ हो । कस्तो खालको नीतिले कुनैपनि देशको उद्यमशीलता फस्टाउन मद्दत पुग्छ भन्ने कुरामा चाहिँ तपाईंलाई गरिखान कति सहज वा असहज छ भन्ने कुरा हुन्छ । कर्णालीमा वा नेपालमा किन उद्यमशीलताको विकास भएन ? किन हामी उद्यमी नभएर वैदेशिक रोजगारीमा जान चाह्यौं ? भन्ने कुरामा विश्व बैंकले निकालेको पछिल्लो प्रतिवेदनअनुसार नेपाल व्यावसायिक वातावरणको सहजतामा ९४औँ स्थानमा पर्छ ।
व्यवसाय सुरुवात गर्नका लागि सहजताका हिसाबले एक सय ८० वटा देशहरूमध्ये नेपाल एक सय ३५औँ स्थानमा छ । त्यसमा पनि हेरिटेज फाउण्डेशनले गरेको अध्ययनअनुसार नेपाल एक सय ५७औँ स्थानमा पर्छ । तपाईंले एउटा व्यवसाय दर्ता गर्नु छ भने पनि दर्ता गर्नका लागि नै झन्झटिलो प्रक्रिया हुने तथा समय धेरै लाग्ने समस्या छ ।
दर्ता गर्नका लागि आवश्यक हुने प्रक्रिया र कागजातबारे सूचनाको सहज पहुँच नहुने पनि समस्या छ । एउटा उद्योग सञ्चालन गर्नका लागि विद्युत लिनका लागि सहज छैन । एकजनाले मलाई फोन गरेर भन्नुभयो, ‘भान्जाले एउटा उद्योग गर्न लागेका थिए विद्युत लिनै गाह्रो भयो । लौन यसो केहि भनसुन गरेर सहयोग गरिदिनुप¥यो ।’
एक जना व्यापारीले उद्योग खोल्दै गर्दा नौ महिनासम्म विद्युत लिन नपाएको अवस्था छ । व्यवसायको ठेगाना सार्दासमेत धेरै समस्या छ । एउटा व्यवसाय दर्ता गर्न वा त्यसका लागि आवश्यक बिजुली पाउनका लागि यति धेरै असहज परिस्थिति र धेरै प्रक्रियाहरू छन् वा घुस दिनुपर्छ भने भने तपाईंले यो देशमा कसरी गरीखान सक्नुहुन्छ ?
साधारण कुराहरूमा पनि समस्या छ । कर तिर्ने प्रक्रियाहरूमा पनि झन्झटिलो छ । विराटनगरको मान्छे मोटरसाइकलको कर तिर्नका लागि इटहरी जानुपर्छ वा दैलेखको मान्छे सुर्खेत आउनुपर्छ । सरकारलाई पैसा आउने मुख्य स्रोत भनेकै कर हो । म हरेक वर्ष मेरो मोटरसाइकलको कर राज्यलाई तिर्छु ।
त्यो कर पनि सजिलोसँग तिर्न सक्ने वातावरण छैन । मैले मेरो कर तिर्न कम्तीमा एक दिन पूरा लाग्छ । दलाललाई थप रूपैयाँ तिर्न समेत पर्छ । त्यसबाट त्यो दिनको मेरो कमाइ पनि खेर गयो, झन्झट पनि पाएँ र पैसा पनि अतिरिक्त तिर्नुपर्याे । व्यवसाय सञ्चालन गर्नका लागि त असहज छ नै । कसैले झन्झट भएर व्यवसाय बन्द गर्न चाह्यो भने पनि सजिलो छैन ।
आज संसारमा सबैभन्दा धेरै धनी मान्छहरू चीनमा छन् । ४० वर्षअघिसम्म त्यही चीन संसारका गरिव देशहरूमध्ये चिनाउनुपथ्र्याे । त्यसको कारण चीनले पछिल्लो चालिस वर्षमा व्यवसायलाई फस्टाउने वातावरण दियो । उसको नीतिहरूमा परिवर्तन गरी उद्यमीमैत्री बनायो । हिन्दी सिनेमाहरूमा हेर्दा १९९० भन्दा अगाडिको सिनेमामा प्राय एउटै सेतो कार देखिन्छ । त्यसपछिका सिनेमाहरूमा फरकफरक देखिन्छन् । अर्थात् १९९० मा भारतले जुन नीतिगत सुधार ग¥यो, त्यसले व्यापक आर्थिक सुधार भएको छ ।
आज भारतमा एउटा खरबुजा वा टिसर्ट बेच्ने मान्छेले पनि कारमा हिँड्न थाल्यो । हिजोको दिनमा त्यो सिमित व्यक्तिहरूको पहुँचमा थियो भने आज सबैको सहज पहुँचमा पुग्यो । हामीले यहाँ साढे दुई लाखमा किन्ने मोटरसाइकल करिब ५० हजारमा भारतमा उपलब्ध हुन्छ । हामिले मोटरसाइकल किन्ने पैसाले भारतमा कार किन्न सकिन्छ । त्यो अवस्था उनिहरूले नीतिगत सुधारकै कारणले ल्याएका हुन् । व्यवसाय गर्दाका अनावश्यक नीतिगत झन्झटहरू उनीहरूले हटाइदिए ।
हामीले उद्यमी बन्नका लागि मानिसहरू उत्साहित भएको देख्दैनौँ । एउटा मान्छे राजनीतिमा लाग्न लालायित छ कि उद्यमी बन्न ? हामीले उसलाई कतातिर लाग्न उत्साहित गरिरहेका छौँ ? हाम्रो सरकार र समाजले उद्यमशीलता र बजारको कुरालाई निरुत्साहित गर्ने गरेको छ । जुन कुरालाई हामिले बढि उत्साहित गर्छाैँ, त्यसमा सफलता पाउने हो ।
बजारले जति गरिब मानिसहरूको हित गरेको छ, त्यति हित कसैले पनि गरेको छैन । दुई रूपैयाँमा कपालमा लगाउने तेल तपाईंलाई बजारले दिएको हो । अर्थात् बजारले धनि मान्छेहरूलाई मात्रै हित गर्छ भन्ने कुरा भ्रम हो । धनी सँगसँगै गरिव मानिसहरूको हित बजारले गर्छ । संसारमा जुनसुकै देशको उदाहरण हेर्नस जसले बजारको विकास गर्न सकेको छैन त्यो देश गरिव छ । उत्तर र दक्षिण कोरियाको उदाहरण हामिले हेर्न सक्छौँ ।
हामीले गरिबिलाई कम गर्नका लागि बजारको विकास गर्नुपर्छ । उद्योगधन्दाको विकास गर्नुप¥यो । जसबाट रोजगारी सिर्जना हुन्छ । त्यो किसिमको नीतिहरू आवश्यक छ जसले लगानीको वातावरण सहज होस । जोसँग आज जागिर छैन । रोजगारी नभएकोले आज चोकमा बसेर दुई जना क्यारमबोर्ड खेलिरहेको हुन्छ अरु १० जनाले यो वा त्यो गोट्टी हान भनेर सिकाउँदै हेरेर बसेका हुन्छन् ।
उद्यमशीलता प्रवद्र्धन भयो भने ती मानिसहरूले रोजगारी पाउँछन् । उसले रोजगारी पाउनेबित्तिकै शिक्षाबाट वञ्चित उसको छोराछोरीले उचित शिक्षा पाउँछन् । उसको परिवारले राम्रो स्वास्थ्य उपचार पाउँछन् । बजारका कारण सुरुमा केही सिमित मानिसहरूले कमाएजस्तो देखिएपनि त्यसले सबै मानिसहरूलाई फाइदा गर्छ । लगानी कसै न कसैले त ल्याउँछ ।
लगानीबाट कमाएको पैसा थप लगानी गर्छ जसले राज्यलाई कर त संकलन हुन्छ नै थप रोजगारी सिर्जना हुन्छ । बजारमा धेरै बस्तु तथा सेवा उत्पादन भएमा प्रतिस्पर्धा हुन्छ र त्यसबाट सस्तोमा बस्तु तथा सेवा पाइन्छ । जसले गरिवहरूकै हित गर्छ । त्यसैलै गरिवहरूको बजार नै सबैभन्दा ठूलो साथी हो । सरकार गरिवहरूको सहयोगी हुन सक्छ ।
आज कर्णालीको एउटा सबैभन्दा ठुलो समस्या गरिवी हो । हामी किन गरिव छौँ भने यहाँ हामीकहाँ सहज बजार छैन । उद्योगधन्दा कम छन् । कम रोजगारी छ । उद्यमशीलताको लागि नीतिगत तथा व्यावहारिक बाधाहरू छन् । सहज पूर्वाधार छैन । उत्पादनको बजार छैन ।
जबसम्म हामीले नितिगत सुधारमार्फत मानिसहरूलाई गरिखाने वातावरण सिर्जना गर्न सक्दैनौ तबसम्म हामिले यस्तै नियति भोग्नुपर्छ । हामीसँग कस्तो खालको आइडिया छ, उद्यमशीलताका लागि त्यो महत्वपुर्ण हुन्छ । त्यससँगै सीप पनि आवश्यक कुरा हो । बजारको माग के छ त्यसका आधारमा आफ्नो क्षमता विकास गर्न जरुरी हुन्छ । उद्यमशीलतासँग नवप्रवर्तन पनि जोडिन्छ । कसैले गरिरहेको कामलाइ भन्दा नयाँ कुरालाइ जोडेर कसैको समस्या समाधान गर्न भूमिका खेल्छ भने त्यो उद्यमशीलता हो ।
(ऋति फाउण्डेसनले सुर्खेतको बुलबुले ताल परिसरमा २०७८ फागुन २७, २८ र २९ गते आयोजना गरेको कर्णाली उत्सवको तेस्रो संस्करणको ‘बजार विकास, हजार निकास’ सेसनमा विकल्प अन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले राखेका धारणाको सम्पादित अंश । यो सामग्री कर्णाली उत्सव र साझा बिसौनाबाट लिइएको हो – सम्पादक)