अवसर भनेको तपाईंले कहाँ खोज्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ । कर्णालीमा बसेर कर्णालीमै अवसर देख्नुहुन्छ कि विदेशका खाडी वा युरोप र अमेरीकालगायतका मुलुकहरूमा अवसर देख्नुहुन्छ भन्ने कुराले अर्थ राख्छ ।
मैले कक्षा २ पढ्दाखेरी पाएको एक हजार सात सय रूपैयाँबाट मेरो ममीले कुखुरा किनिदिनुभएको थियो । त्यसबाट एक सय रूपैयाँमा एउटा भाले बेच्दाखेरी जुन आनन्द मलाई आएको थियो । त्यसबाट मलाई उद्यमी बन्न प्रेरणा मिल्यो । मलाई उद्यम गर्नुपर्ने रहेछ भन्ने मनमा छाप बस्यो ।
मेरो आफन्त व्यापार गर्नुहुन्थ्यो । उहाँले अरुले उत्पादन गरेका सामानहरू ल्याएर बेच्नुहुन्थ्यो । उहाँहरूले सम्पन्नताको आडमा हामीलाई गर्ने व्यवहारले एकदमै छुन्थ्यो । मलाई जहिले पनि आफूले केही गर्नुपर्छ भन्ने लाग्थ्यो । मैले कुखुरा बेचेर त्यतिबेला बाख्रा किनँे ।
बाख्राबाट तीन वटा खसी बेचेर आफ्नै पैसाले मैले सुन लगाएको थिएँ । एसएलसीपछि मैले पारिवारिक हिसाबले पनि माथिल्लो तह पढ्न नसक्ने अवस्था आएपछि मैले झुप्रा खोलामा बालुवा बनाएर केही दिनमा ३६ हजार कमाएको थिएँ । त्यो पैसा ३६ हजारमध्ये दुई हजार लिएर वीरेन्द्रनगरमा क्याम्पस पढ्न आएँ, बाँकी आमालाई राख्न दिएँ ।
मलाई सरकारी जागिर खानुपर्छ भन्ने कुरा मनमा कहिल्यै आएन । २०६८ सालमा मैले पत्रिका बाँड्न सुरु गरेँ । त्यसबाट कमाएको पैसाले नयाँ केहि गर्नुपर्छ भन्ने सोचले रातमा निन्द्रा पर्नै छोड्यो ।
मैले कमाएको २० हजार रूपैयाँ मात्रै भएकोले एक वर्षमा कमाएर तिर्नेगरी प्रेस किनेँ । काम गर्न थालेँ । त्यसैले अवसर आफैले खोज्नुपर्छ । केही गर्नसक्ने आत्मविश्वास हुनुपर्छ ।
नीतिगत व्यवधानहरूका कारण पनि कर्णालीमा बसेर उद्यम गर्नलाई कठिन भएको छ । यहाँका उत्पादनको सहज रूपमा बजारीकरणको व्यवस्था नहुँदा समस्या रहेको छ । उद्यमीहरूलाई वस्तु बिक्री गर्नका लागि बजारबारे ज्ञान नहुनु र सरकारले बजारको ज्ञारेन्टी नगर्नुले समस्या पैदा गरेको छ ।
(ऋति फाउण्डेसनले सुर्खेतको बुलबुले ताल परिसरमा २०७८ फागुन २७, २८ र २९ गते आयोजना गरेको कर्णाली उत्सवको तेस्रो संस्करणको ‘बजार विकास, हजार निकास’ सेसनमा कर्णाली युवा व्यवसायी हिमा उपाध्यायले राखेका धारणाको सम्पादित अंश । यो सामग्री कर्णाली उत्सव र साझा बिसौनाबाट लिइएको हो – सम्पादक)