मैले सिनेमाको चरित्रमा कर्णालीको जीवन भोग्न पाएँ । हामीले काठमाडौंबाट हेर्ने कर्णाली र त्यहाँ पुगेर अनुभूत गर्ने कर्णाली फरक रहेछ । मैले जुम्लाको तिर्खु र गलंगाआसपासको क्षेत्रको रहनसहन र जीवनशैलीलाई नजिकबाट नियाल्ने मौका पाएँ । मलाई सिनेमा (प्रकाश)को स्क्रिप्ट पढ्दा कर्णाली यतिसम्म पिछाडिएको छ र भन्ने लागेको थियो ।
तर, भौगोलिक विकटताले कर्णाली पिछडिएको देखिने रहेछ । त्यहाँको जीवनशैली हेर्दा पिछडिएको जस्तो लाग्ने रहेछ । आर्थिक हिसाबले कर्णाली त्यस्तो गरिब पनि रहेनछ । किनभने, त्यहाँको जीवनशैली खर्चिलो रहेछ ।
जसरी कर्णालीका मान्छे दुःखी, गरिब छन् भन्ने भाष्य निर्माण गरिएको छ, त्यो चाहिँ होइन । त्यहाँ अभाव नभएको होइन । स्वास्थ्य, शिक्षाजस्ता आधारभूत कुराको आभाव छ । तर, मानिस गरिब मात्रै हुन्छन्, दुःखी हुन्छन्, त्योचाहिँ होइन ।
हामीले कर्णालीबाट धेरै कुरा सिक्नुपर्ने रहेछ भन्ने मलाई महसुस भयो । आफूसँग जे छ, त्यसैमा रमाउने जुम्लाको राम्रो पक्ष लाग्यो । संस्कृतिको हिसाबले पनि कर्णाली धनी रहेछ ।
जुम्लामा चाडपर्व मनाउने आफ्नै संस्कृति हुँदोरहेछ । वैशाख १ गते (नयाँ वर्ष) मनाउँदा दसैँ–तिहारजस्तै गरी मनाइँदो रहेछ । होली मनाउने तरिका पनि बेग्लै रहेछ । हामी होली र नयाँ वर्ष आयातित कल्चरबाट प्राभावित भएर मनाउँछौँ, तर जुम्ला कर्णालीको आफ्नै मौलिकता रहेछ ।
जुम्लामा जस्तो मौलिक संस्कृति अन्य ठाउँमा सायद छैन होला । मौलिक संस्कृति कर्णालीमा अझै देख्न पाइन्छ । कर्णालीको प्राकृतिक तथा धार्मिक स्थलहरूमा पर्यटनप्रवर्द्धन गर्नुपर्ने आवश्यकता मैले देखेँ ।
(कर्णालीमा पहिलोपटक जुम्लामा आयोजना गरिएको ‘प्रकाश’ चलचित्रको जुम्लामा गरिएको प्रिमियरपछि मुख्य नायक प्रदीप खड्काको भनाई नयाँ पत्रिका दैनिकबाट लिइएको हो - सम्पादक)