काठमाडौँ : यतिबेला काठमाडौँका मेयर बालेन शाहले उधुम मच्चाइरहेका छन् । स्वतन्त्रबाट चुनाव लडेका मेयर बालेनले जित्दा धेरैले उनलाई काम गर्न सक्दैनन् कि भन्ने आशंका थियो । तर अहिले अवस्था फेरिएको छ ।
डोजर लिएर अवैध संरचना भत्काउन हिडेका बालेन शाह यतिबेला आँखा चिम्लेर आफ्नो काम गरिरहेका छन् । उनले कसैको कुरा नसुनी आफ्नो गरिरहेको देख्न गाह्रो छैन । दलीय रुपमा उनलाई अवरोध नभएको होइन । तर स्वतन्त्र मेयर जितेका उनी जसरी पनि चुनाव जित्न सफल भए, त्यसरी नै अहिले जसरी पनि छिटो काम गर्नुपर्ने धाउन्नमा छन् ।
उनले स्वतन्त्र चुनाव जितेर जसरी काम गरिरहेका छन् । त्यो अद्भुत छ । उनलाई कुनै पनि दल र नेताको अवरोध छैन । कही डोजर चलाउनेबित्तिकै उनलाई कोही नेताको फोन आउँदैन । फोन आएपनि उनलाई मतलब छैन । उनलाई पार्टीको राजनीति गर्नु छैन ।
हो, आज त्यसरी नै कर्णालीमा पनि बालेन जस्ता मेयरको खोजी भइरहेको छ । अभाव, गरिबी र सबैभन्दा फोहोरी राजनीतिले थिचिएको कर्णालीमा बालेनजस्ता मेयरले मात्रै धक फुलाएर काम गर्न सक्छन् । बालेन जस्ता मेयर भएको खण्डमा मात्रै पनि स–साना कामलाई पनि प्राथमिकता राखेर गर्छन् ।
काम गर्दा कमिसन होइन कि जनताको आवश्यकता बुझेर काम गर्छन् । यस्ता मेयरले मात्रै कर्णालीको मुहार फेर्न सक्छन् । अहिले मेयर भएका जति दलका नेता तथा कार्यकर्ता भएकाले उनीहरु पहिला आफ्नो र दलीय स्वार्थ पूरा गर्न लागिरहेका छन् ।
तर कसैले पनि जनताले देख्ने गरि, बुझ्ने गरि, काम भइरहेको छ, परिवर्तन भइरहेको छ, विकास निर्माणको काम धमाधम भइरहेको छ भन्ने महसुस नै गरेका छ्रैनन् । कर्णालीमा त अहिले मेयरहरुको फोनै उठ्न पनि मुश्किल छ ।
कुनै प्रयोजनका लागि फोन गर्दा पनि कर्णालीका धेरै मेयरले राम्रोसँग रेसपोन्स नगर्ने समस्या छ । जसकारण कर्णाली पछाडि मात्रै परेको छैन, टाठा बाठा र दलीय नेताहरुका लागि भ्रष्टाचारको अखडा नै बनेको छ । गाउँपालिका तथा नगरपालिकामा कार्यकर्ता थुपार्ने, काम गर्नेभन्दा आफ्नो चाकडी र जयजय गर्नेलाई मात्रै प्राथमिकता दिँदा कर्णालीमा धेरै काम हुन सकेको छैन ।
काठमाडौँमा बालेन मात्रै होइन, धरानका मेयर हर्क सामपाङ र धनगढीका मेयर गोपाल हमाल पनि अहिले ठूला उदाहरण हुन् । उनीहरु आफैँ सक्रिय भएर जनतालाई परिवर्तनको महसुस हुने गरि काम गरिरहेका छन् । तर कर्णालीका कुनै पनि मेयरको काम यसरी चर्चामा आएको छैन ।
खासगरि उनीहरुले देखिने गरि काम गरेको भए, साउद चर्चामा आउथ्यो होला । केही फरक र नयाँ काम गरेको भए पनि चर्चा गर्न सकिन्थ्यो होला । तर अहिले त्यो सम्भावना देखिदैन । गएको स्थानीय तहको चुनावमा कर्णालीमा केही स्वतन्त्र उम्मेद्वारले हिम्मत चाँही गरेका हुन् ।
डोल्पाको ठूलिभेरी नगरपालिकामा युवा प्रेमबहादुर बोहराले मेयर लडेका हुन् । तर उनले चुनाव जित्न सकेनन् । भलै थोरै भएपनि उनले सकारात्मक प्रयास गरेका छ्न । परिवर्तनको लागि पाइला चालेका छन् । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पनि युवा अनिल ढकालले उपमेयरमा उम्मेद्वारी दिएका थिए ।
सुरुमा मेयरको दाबेदारी प्रस्तुत गरेका उनी अन्ततः उपमेयरमा चुनाव लडेका थिए । तर उनले पनि चुनाव जित्न सक्ने मत ल्याउन सकेनन् । यद्यपी बोहरा र ढकालको प्रयास भने कर्णालीमा सह्रानीय छ । आज पनि वीरेन्द्रनगरका खाल्डाखुल्डी पुिरएका छैनन् । सडक अस्तव्यस्त छ ।
नागरिकले मेयरबाट हुने कामको महसुस गर्न सकेका छैनन् । दलीय चेप र प्रभावले हाइसञ्चो भएर कुर्सीमा बसेका मेयरहरुलाई देखिने र देखाउने गरि काम गर्ने जाँगर पनि देखिदैन । किनकी चुनाव जितेपछि उनीहरुले नेता र आफ्नो स्वार्थलाई पहिलो प्राथमिकतामा राखेका छन् । जसकारण कर्णालीमा स्थानीय गाउँ तथा नगरको मुहार फेर्ने मेयर तथा अध्यक्षको काम राम्रोसँग हेर्नै पाएका छैनन् ।
यदि मेयर भएर चुनाव जितेपछि राम्रोसँग काम गर्नका लागि अब पहिला मतदाताले आफ्नो मत पनि परिवर्तन गर्न आवश्यक छ । अनि मात्रै काठमाडौँ, धरान र धनगढीमा सम्वव हुने काम कर्णालीमा पनि सम्भव हुन्छ । अन्यथा कर्णालीलाई दलीय नेता तथा जनप्रतिनिधिले भ्रष्टाचारको अखडा मात्रै बनाउनेमा आशंका छैन ।