काठमाडौँ : कर्णाली प्रदेश सरकारबाट अर्थमन्त्री बिन्दमान बिष्टलाई माओवादीले फिर्ता बोलाएपछि पार्टीको आलोचना बढेको छ । माओवादीकै नेता कार्यकर्ताले सरकारमा गएर राम्रो काम र समन्वय गरिरहेका मन्त्री बिष्टलाई फिर्ता बोलाइएपछि चर्को आलोचना भइरहेको हो ।
पछिल्लो समय माओवादीभित्र पनि एक अर्कालाई ढाट, छल, फोहोरी राजनीति हावी रहेका बेला पार्टीको शाख र सह–अस्तित्व जोगाउने काममा लागेका मन्त्री बिष्टलाई समेत फिर्ता बोलाएपछि पार्टीभित्रै आलोचना बढेको हो ।
पश्चिम सुर्खेतमा आशलाग्दो काम गरेर चुनाव जित्ने वातावरण बनाएका बिष्टलाई माओवादी केन्द्रले शुक्रबार फिर्ता बोलाएको हो । जबकी मुख्यमन्त्री जीवन शाहीको सरकारमा माओवादी केन्द्रको नेतृत्व गर्दै बिष्ट अर्थमन्त्री बनेका थिए ।
मुख्यमन्त्री शाहीको भरपर्दो साथी बनेका बिष्टलाई फिर्ता बोलाइएपछि मुख्यमन्त्री पनि असन्तुष्ट छन् । सबैलाई भाग पुर्याउन मन्त्री फिर्ता बोलाउने र अर्कोलाई पठाउने प्रवृत्तिविरुद्ध कर्णालीमा माओवादीभित्रै असन्तुष्टि बढ्दो छ ।
शुक्रबार पश्चिम सुर्खेतको एक कार्यक्रममा गएका बेला वीरेन्द्रनगरमा बसेको माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले अर्थमन्त्री बिष्टलाई पनि फिर्ता बोलाउने निर्णय गरेको थियो ।
यसबारे मन्त्री बिष्टले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । तर माओवादी कर्णालीकी अध्यक्ष बिमला केसीले सबैलाई अवसर दिन र सरकारलाई समावेशी बनाउन अर्थमन्त्री बिष्ट र उर्जामन्त्री गणेश सिहंलाई फिर्ता बोलाउने निर्णय भएको बताइन् । उनीहरुको ठाउँमा जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामी मन्त्री बन्दैछन् ।
दुई महिनाअघि मात्रै बजेट ल्याएका अर्थमन्त्री बिष्टले सरकारमा रहँदा माओवादी पार्टीभित्र राम्रै काम गरिरहेको चर्चा थियो । तर उनी नेतृत्व गरेर सरकारमा जाँदा पनि पार्टीले बीचैमा बोलाएपछि माओवादी पार्टीमा दिगो राजनीति चाहने नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।