जुम्लामा गरिएको प्रिमियरमा स्थानीयसँग बसेर आफ्नै चलचित्र ‘प्रकाश’ हेर्दै नायक प्रदीप खड्का ।
काठमाडौँ : कर्णालीमा पहिलोपटक प्रिमियर गरिएको फिल्म ‘प्रकाश’ले काठमाडौँमा विभेद झेलेको छ । भदौ १० गतेदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन नै पर्याप्त शो नपाएर विभेद झेलेको हो ।
खासगरि जुम्लामा प्रिमियर गरेपछि काठमाडौँमा यो चलचित्रबारे हल सञ्चालकको गुनासो बढेको थियो । दिनेश राउतले निर्देश्न गरेको यो चलचित्र कर्णालीको कथामा आधारित छ ।
सरकारी शिक्षक बन्न एउटा व्यक्तिले गरेको संघर्षलाई फिल्ममा उतारिएको छ । अहिलेका चल्तीका नायक प्रदीप खड्का र नायिका दिया मास्केले अभिनय गरेको फिल्म पहिलोपटक जुम्लामै प्रिमियर गरिएको थियो ।
कर्णालीमा अहिलेसम्म फिल्मको प्रिमियर गरिएको छैन । जुम्लामै पहिलोपटक आयोजना गरिएको प्रिमियर शोमा निर्माता, निर्देशक, कलाकारदेखि कर्णालीका विशेष व्यक्तिहरुको सहभागिता थियो । जुम्लामा खिचिएको यो फिल्मले धेरै चर्चा र इतिहास रचेर कर्णालीमा सफलता पाएको थियो ।
तर कर्णालीको वास्तविक कथा भन्ने यो फिल्म भने काठमाडौँका हल सञ्चालकको निशानामा परेको छ । शुक्रबार एकसाथ प्रदर्शनमा आएको राधा र केही भारतीय चलचित्रले राम्रो शो पाउँदा ‘प्रकाश’ले उलेख्य शो पाउन सकेन ।
जसको नायक प्रदीप खड्काले खुलेर विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल र रिपार्टस् क्लबमै पुगेर नेपाली अर्गानिक फिल्मलाई शो नै नदिने हल सञ्चालकको विरोध गरेका हुन् । साथै उनले चोक चोकमा प्रोजेक्टरबाट फिल्म देखाउनुपर्ने अवस्था नआओस् भनेर चेतावनी समेत दिएका छन् ।
प्रदीपको मागमा अधिकांश नेपाली फिल्मका निर्मार्ता, निर्देशक, कलाकारले समर्थन जनाएका छन् । कर्णालीमा खिचिएको प्रकाश चलचित्रलाई शो नदिनुका पछाडि चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हात रहेको पनि आरोप लगाइएको छ ।
प्रदीप खड्कालाई सँधै भुवनका छोरा अनमोल केसीसँग तुलना गरिएको छ । दुवै नायकले अहिलेसम्म पनि रोमान्टिक खालका प्रेमिल चलचित्र मात्रै खेलेका छन् । तर अनमोलभन्दा एक कदम अगाडि बढेर प्रदीपले पहिलोपटक चरित्रमा डुबेर प्रकाश फिल्म खेलेका छन् ।
![](/uploads/editor/2022-08-27/083503140Nepali-movie-Prakash-trailer.webp)
यो फिल्म सफल भएमा चक्लेटी अनुहार देखाएर होइन अभिनय गरेर फिल्ममा राम्रो कलाकार बन्न सकिन्छ भनेर प्रदीपले प्रमाणित गर्नेछन् । तर यो मानेमा अलमोल पछाडि पर्न सक्छन् । पछिल्लो समय नेपालमा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की र खगेन्द्र लामिछानेलाई मात्रै चरित्र निभाउन सक्ने नायक भनेर भनिन्छ ।
अनमोल, प्रदीप, सलिनमान लगायतका नायक रोमान्टिक फिल्म खेलिरहेका छन् । यसबाट प्रदीप भनेर चरित्र निर्वाह गर्न सक्ने गरि एक कदम अगाडि बढ्न खोज्दा भुवनले हल सञ्चालकलाई भनेर पर्याप्त शो नदिएको आरोप छ ।
यद्यपी प्रदीपको आक्रोश र अरु चलचित्रकर्मीको विरोधपछि भने प्रकाशलाई केही शो दिइएको छ । तर पनि कर्णालीमा अरु विभेद त छदैछन् । कर्णालीमा खिचिएको चलचित्रमाथि पनि काठमाडौँमा विभेद हुनुलाई गम्भीरतापूर्वक लिन आवश्यक छ । ता कि कर्णाली मात्रै होइन, सबै ठाउँबाट सबै किसीमका विभेद अन्त्य गर्न जरुरी छ ।