पर्वत : ‘भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाएको यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु कतिबेला चौतारी पुगिएला र भारीको बोझ बिसाउँला भन्ने गर्दथे ।
भारी बोक्ने मात्र होइन, बाटो हिँड्ने बटुवासमेत चौतारी भेटेपछि थकानलाई विश्राम लिन्थे । बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई विश्राम लिँदा छ्ुट्टै आनन्द आउँथ्यो त्यो बेला ।
अहिले ती इतिहास बोकेका चौतारी, पोखरी र पँधेरा बिरानो हँुदै गएका छन् । बरपिपलका रुख पनि बुढेसकाल लागेर सुक्दै गएका छन् । धोद्रा लागेका रुखले तिनै बटुवालाई कुरिरहेका छन् । कुनै बेला सञ्चारको विकास नहुँदा अगाडि हिँड्दै गरेको साथीले पछि आउँदै गरेको साथी भेट्न चौतारीमा कुरेर बस्ने प्रचलनसमेत थियो ।
एक दशक अगाडि बाटेमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन् । विकास निर्माणको गतिसँगै भौतिक विकासमा दौडिरहेको हाम्रो समाज यतिबेला त्यतै अल्मलिँदा पुराना संरचना भत्किँदै जान थालेका हुन् ।
एक दशक अगाडि पर्वत सदरमुकाम कुश्मा आउनजान प्रयोग हुने पैदलमार्ग मोदीवेणी, मुडिकुवाअन्तर्गत सिर्सुवाको चौतारी बटुवाहरूको थकाइ मेट्ने स्थानका रूपमा चिनिन्थ्यो । कुश्माबाट भारी बोकेर फर्किएका भरिया मोदीवेणीको उकालो काटेर सिर्सुवाको चौतारीमा विश्राम लिँदा भारीको थकान बिर्सन्थे । डाँडाको चौतारीमा चल्ने चिसो हावाले उकालो चढ्दा पसिनाले भिजेको शरीरलाई शीतलता दिन्थ्यो ।
चौतारीमा बिसाइ मेट्नेहरूको सङ्ख्या बढ्दै जाँदा नजिकै रहेका होटल व्यवसायीको पनि व्यापार बढेको थियो । कुश्मा आउनेहरू बाटोमा पानी पर्दा मोदीवेणीमा रहेको ठाँटीमा ओत बस्न पाउँदा घरमै पुगेको आभास हुन्थ्यो । आज ती चौतारी, पाटीपौवा झाँडीले भरिएका स्थानीय थानेश्वर भुसालले बताए । चौतारीका ढुङ्गा लेउ लागेका छन्, संरक्षण अभावमा छन् । यो त एउटा उदाहरण मात्र हो आज कैयौँ चौतारी यस्तै अवस्थामा पुगेको उनको भनाइ छ ।