‘कर्णाली उत्सव’को लोगोको पृष्ठभूमिमा नरसिंहा रहेको छ । यसलाई बनाउन पनि आरनबाट सुरुवात भएको हामी पाउँछौँ । विश्वकर्मा दाजुभाइहरूले यो बनाउनुभएको थियो । त्यसमा छाला राख्ने र जन्मदेखि मृत्यूसम्म बजाउने काम दमाई समुदायका दाजुभाइहरूले गरिरहनुभएको छ । हाम्रो संस्कृतिको मुख्य कुरा यो समुदायले नै धानेको हामी पाउँछौँ । मन्त्र, तन्त्र र यन्त्रले संसार चलिरहेको हामी पाउँछौ ।
फलामबाट विभिन्न भाँडाकुँडा र हातहतियारहरू पनि आरनबाटै बनाउन सुरुवात गरिएको हो भन्ने कुरा हामी पाउँछौँ । पहिले–पहिले मानिसहरू बिरामी हुँदा हामीहरूको आरनको लिहीमाथि घन ठोकेर सातो फर्काउने पनि लोकविश्वास रहेको थियो । नेपाल एकीकरणको समयमा अथवा माओवादी जनयुद्धको समयमा हातहतियार बनाउनको लागि आरोहण प्रयोग गरिएको थियो । वैज्ञानिकहरूका अनुसार आरन वैज्ञानिकको पहिलो पाठशालाको रूपमा व्याख्या गरिएको हामी पाउँछौँ । यस अर्थमा आरन विश्वकै एउटा आविष्कारको केन्द्र हो ।
नेपालका दलितहरू बाह्रौँ शताब्दीमा बाहिरबाट आए र पृथ्वीनारायण शाहसँगै पूर्वतिर गए भन्ने इतिहास गलत छ । त्यसलाई सच्याउनुपर्छ । प्राचीन कृषिको सभ्यता हेर्ने हो भने तिख्खु कामी भनेको पाइन्छ । अर्थात् कृषिको सभ्यताको सुरुवात कामीहरूबाट भएको पाइन्छ । पश्चिमा रसायन शास्त्रको विकास सन् १३०० देखि १६०० को बिचमा भएको रहेछ । तर नेपालका कामीहरूले हजारौँ वर्षअघि नै रसायन शास्त्रको विकास गर्नुभएको छ । त्यसको प्रमाण सुन, तामा र फलाम जोड्ने कुरा हो ।
उहाँहरूले कतैपनि विश्वविद्यालय वा तालिम केन्द्रमा गएर विकास गरेको होइन । हजारौँ वर्षदेखि प्रकृतिसँग सिकेर प्रविधिको विकास गरेको हामीले पाउछौँ । नेपाल एकीकरणको समयमा आरनबाट नै उत्पादित हतियारहरूको प्रयोग भए । नेपालको सशस्त्र माओवादी द्वन्द्वको समयमा पनि हातहतियार उत्पादन गर्ने कारणले माओवादी र सेना दुवैको तर्फबाट दोहोरो तनावमा दलित समुदाय परेको थियो । सहयोग नगरौँ भने विद्रोहीले दबाब दिने र सहयोग गर्दा सुरक्षा निकायले समस्यामा सिर्जना गर्दा दोहोरो तनावमा दलित समुदाय परेको थियो ।
त्यति बेला एउटा सूत्र थियो ‘दकासा’ अर्थात् दमाई, कामी र सार्की । यिनीहरूलाई कुनै दोष नभए पनि कारबाही हुन्थ्यो । जबसम्म हामीले स्थानीय स्रोत साधन र प्रविधिहरूलाई सम्मान दिँदैनौँ त्यसको परिणाम नै यही हो । खास गरी नेपाल सरकारले ६० को दशकमा राष्ट्रिय उद्योग प्रवद्र्धन नीतिको नीतिगत व्यवस्था ग¥यो । त्यसपछि परम्परागत सीप तथा पेसा व्यवसायहरू धरासयी भएको पाइन्छ । हामीले स्वदेशी उत्पादनको प्राथमिकता नदिइ आयातित वस्तुहरूको उपभोग गर्न थाल्यौँ ।
दलित समुदायमा पुँजी, प्रविधि र पहुँचको अभाव छ । ६० को दशकयता यी कुराहरूको समस्याले गर्दा जुन समुदाय शिल्पकौशल र सिपहरूको धनी थियो त्यो समुदाय नै श्रमिकमै सीमित हुन बाध्य भयो । जोसँग सीप थियो उहाँहरू पछि पर्नुभयो । जुन समुदायसँग पुँजी थियो उहाँहरू मालिक बन्नुभयो । अहिलेको अवस्थामा सार्कीहरू सडकमै छन् । कामीहरू आरनमै सीमित छन् । तराई मधेशका शिल्पी समुदायहरूको आत्मसम्मानलाई माथि नउठाई र उहाँहरूको सीपलाई राष्ट्रिय मूलधारमा नल्याइकन देशले प्रगति गर्नै सक्दैन ।
कर्णालीमा कूल जनसंख्याको करिब ३० प्रतिशत जनसंख्या शिल्पी समुदाय बस्नुहुन्छ । कर्णाली उत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा यहाँको समृद्धिका लागि धेरै बहस भएको छ । मैले कर्णालीको बारेमा पनि धेरै लेख्ने गरेको छु । समृद्धिको आधार भनेको पछाडि पारिएका समुदायलाई अगाडी ल्याउन जरुरी छ । देशकै समृद्धिको मेरुदण्ड दलित समुदाय हो । उनीहरूको सीप, व्यवसाय, पेसा आदिलाई उच्च प्राथमिकतामा राखेर लगानी गर्न सक्यो भने समग्र रूपमा प्रगति हुन्छ ।
जुम्लाका गोविन्द नेपालीजीले गरेको अध्ययनअनुसार दलित समुदायले उत्पादन गरेर बेच्न सक्ने चिजहरू १२१ प्रकारका रहेछन् । ती चिजहरूलाई हामीले बिक्री गर्न सक्यौँ भने अर्थतन्त्र पनि बलियो हुने र यो समुदायलाई पनि आर्थिक लाभ मिल्ने हुन्छ । तर अहिलेसम्म त्यो हुन सकिरहेको छैन । हिजो हामीले राणा शासन र पञ्चायत तथा राजालाई गाली ग¥यौँ । अहिलेको जनताको शासन अर्थात् गणतन्त्र छ नि । यो बेलामा ठोस रूपमा काम गरिहाल्नुपर्छ ।
कुमाउ गढवालमा म्याचल फ्रेडेले आरनबाट हेरेर इलेक्ट्रोमेकानिकलको आविष्कार गर्नुभयो । तर नेपालका आरनकर्मीहरू आरनमै सीमित हुनुहुन्छ । उहाँहरू आरनबाट बाहिर निस्किन सक्नुभएको छैन । बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भन्नेजस्तो अवस्था पाइन्छ । नेपालमा आरन नभएको कुनै गाउँ नै छैन । त्यसैले ती गाउँ गाउँ र टोल टोलका आरनहरूलाई आविष्कार केन्द्रको रूपमा विकास गर्नुपर्छ ।
कर्णालीमा रैथाने शिल्पकलासम्बन्धी अध्ययन अनुसन्धान गर्ने आवासीय विश्वविद्यालयको आवश्यकता रहेको छ । हामीले वैज्ञानिक खोज एवम् अन्वेषणका कुराहरूलाई संस्कार र संस्कृतिकै रूपमा विकास गर्न सक्यौँ भनेर यसले देशको अर्थतन्त्रलाई धेरै नै ठूलो सहयोग गर्छ ।
(ऋति फाउण्डेसनले सुर्खेतको बुलबुले ताल परिसरमा २०७८ फागुन २७, २८ र २९ गते आयोजना गरेको कर्णाली उत्सवको तेस्रो संस्करणको ‘आरन, अन्वेषण र आविष्कार’ सेसनमा अध्येता डीबी नेपालीले राखेको धारणाको सम्पादित अंश । यो सामग्री कर्णाली उत्सव र साझा बिसौनाबाट लिइएको हो – सम्पादक)