कर्णाली : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले माथिल्लो कर्णालीका जिल्ला अनुगमन गरेका छन् । माथिल्लो कर्णालीका जिल्ला प्रहरी कार्यालय र मातहतका सुरक्षास्थलको वस्तुस्थितिबारे बुझ्न प्रहरी नायब महानिरीक्षक पोखरेल सोमबार कालीकोट गएका हुन् ।
मङ्गलबार जुम्ला पुगेर त्यहाँको वस्तुस्थितिको अवलोकन गरिएको प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिए । “जुम्लामा जिल्ला प्रहरी कार्यालयको भौतिक संरचना छैन, निर्माणाधीन संरचनाका विषयमा मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । आज मुद्दा मिल्यो भन्ने सुनेको छु, तर बाटोमा भएकोले बुझ्न पाएको छैन । अब निर्माण कार्य पनि सुरु होला”, उनले भने ।
उनका अनुसार भौतिक संरचना नभए पनि टहरामा बसेर प्रहरीले नागरिकलाई सेवा प्रवाह गर्ने कार्यमा कुनै कमी नगरेको बताए । जुम्लालगायतका जिल्लामा निर्माणाधीन संरचना प्रदेश सरकारको बजेटबाट बनेको र अदालतको फैसलापछि काम सुरु हुने जनाउँदै प्रहरी नायब महानिरीक्षक पोखरेलले पहाडी जिल्लामा सुविधायुक्त प्रहरी संरचना नभएको बताए ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिक आइरहेकाले प्रहरी प्रधान कार्यालयबाट आएको निर्देशन सुरक्षाको तल्लो तहसम्म सम्प्रेषण गर्ने ध्येयले त्यहाँ पुगिएको उनले जनाए ।
दुवै जिल्लाका प्रहरी कार्यालय, त्यहाँको भौतिक संरचना, सेवा प्रवाह र सुरक्षा तथा जनशक्ति अवस्था बुझेर उनी सुर्खेत फर्केका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले प्रहरी नायब महानिरीक्षक पोखरेलले यसअघि सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेख अनुगमन गरेको र पछिल्लो चरणमा डोल्पा, हुम्ला र मुगु अनुगमन गर्ने तालिका रहेको जनाएका छन् । रासस