काठमाडौँ : अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा अध्यक्ष प्रचण्डलाई जिस्क्याउने गरि सार्वजनिक रुपमा अराजक भाषणबाजीमा उत्रिएका छन् । काठमाडौँमा बुधबार भएको एक कार्यक्रममा बोल्दै जनार्दनले आफू माओवादीमा अध्यक्ष प्रचण्डको आलोचक र रक्षक दुवै भएको बताए ।
सार्वजनिक मञ्चमै प्रचण्डको अगाडि बसेर जनार्दनले अराजक बोलीवाण हानेका हुन् । जुन राजनीतिक रुपमा माओवादी नेता कार्यकर्ताभित्रै अपाच्य बनेको छ । जनार्दनले आफूले अध्यक्ष प्रचण्डको रक्षा गरेको टिप्पणी गरेका छन् । जुन हास्यास्पद देखिन्छ ।
साथै उनले आफूले महासचिव पद नपाएको भन्दै उपमहासचिव पद अस्वीकार गरेको घोषणा गरेका छन् । चाकडी गर्नेलाई महासचिव पदको जिम्मेवारी दिएको भन्दै जनार्दनले चाकडीले पार्टी चल्न नसक्ने पनि टिप्पणी गरेका छन् ।
प्रचण्डको चाकडी गरेरै कर्णालीका दर्जन नेता पन्छाएर उनको नजिक पुगेको जनार्दन अहिले उनैमाथि तीर हान्न थालेका छन् । जसले जनार्दनको राजनीतिक भविष्य झनु चुनौतिपूर्ण हुने देखिन्छ । केही समयअघि कर्णाली पुगेर प्रचण्डले जनार्दन र शक्ति बस्नेत लक्षित स्वार्थ समूह बनाएर झुण्ड बनाएको टिप्पणी गरेका थिए ।
कर्णालीमा जनार्दन र शक्ति बस्नेतको गुटका कारण सरकारमा पनि माओवादी बदनाम भएको चर्चा जताततै छ । यी सबै कुराबाट प्रचण्ड असन्तुष्ट छन् । पछिल्लो समय माओवादीभित्र बल प्रयोगको सिद्धान्तबाट चलिरहेका जनार्दनबाट प्रचण्ड धेरै असन्तुष्ट छन् । आफूबाहेक अरुलाई नेता नमान्ने र सबैलाई पेलेर हिड्न बानी परेका जनार्दनलाई साइजमा राख्न प्रचण्ड पनि अभ्यासमा देखिन्छन् ।
जसकारण उनले जति धेरै प्रयास गर्दा पनि प्रचण्डले देव गुरुङलाई महासचिव बनाए । जसकारण चर्चामा रहेका वर्षमान पुन र जनार्दन उपमहासचिवमा थन्किए । पार्टी अध्यक्षले दिएको पद नै अस्वीकार गरेका जनार्दनबाट प्रचण्ड झन् ‘फायर’ भएका छन् ।
साँच्चै कसको रक्षा कसले गरेको छ ?
बुधबार सार्वजनिक कार्यक्रममा जनार्दनले जर्जर रुपमा अराजक बोली बोले । उनले नेतृत्वका रुपमा प्रचण्डको रक्षा आफूले मात्रै गरेको टिप्पणी गरे । जवाफमा प्रचण्डले जनार्दनलाई आफूले हुर्काएको बताए । आफैले हुर्काउँदा र बढाउँदा आज जनार्दन राष्ट्रियस्तरको नेता भएको उनले बताए ।
जनार्दन सार्वजनिक मञ्चमै प्रचण्डलाई जिस्क्याउने भाषण गर्नु उनकै लागि प्रयुक्त हो । यसअघि देशैभर सर्वाधिक आलोचना भएको रुकुम हत्याकाण्डमा जनार्दनको नाम मुछिएपछि सबैभन्दा ठूलो रक्षा प्रचण्डले उनको गरेका थिए ।
छानबिन समितिमा समेत देवेन्द्र पौडेलजस्ता शालीन र सिधा नेतालाई राखेर जनार्दनलाई प्रचण्डले बचाएका थिए । जनार्दनले संसद्मै बोलेर आफ्नो झुट प्रमाणित गर्दा पनि प्रचण्डले राजनीतिक, संसदीय, शक्तिकेन्द्र र प्रहरीसँग पनि प्रक्रिया मिलाएर जनार्दनको रक्षा गरेका थिए ।

केही समयअघि जनार्दन अर्थमन्त्री रहेकै बेला गम्भीर रुपमा फसे । बजेट बनाउँदा व्यापारीको बिचौलिया लगाएर करका दर हेरफेर गरेको कुरा बाहिरियो । तर प्रचण्डले जनार्दनको बचाउ गर्दै संसदीय समितिलाई नै कमजोर बनाउन राजनीतिक प्रभावमा पारे ।
एमालेका सांसदसँग पनि प्रचण्डले ठूलो हिसाबकिताब मिलाउन बाँकी रहेको भन्दै जनार्दनको छानबिनमा सहयोग गर्न आग्रह गरे । बालुवाटारमा देउवालाई मनाएका प्रचण्डले जनार्दनलाई उही मन्त्रीको कुर्सीमा फर्काए । त्यसरी प्रचण्ड रक्षाकवच बनेर जनार्दनको बचाउ गर्दा आज सार्वजनिक मञ्चमै उल्टो घोचपेच झेलेका छन् ।
यसले प्रचण्डलाई भित्रभित्रै जनार्दनको बोलीले चोट पुर्याएको खुमलटार स्रोत बताउँछ ।
‘हामीले जनार्दनबाट सार्वजनिक मञ्चमै यति ठूलो घोचपेच हुन्छ भन्ने सपनामा पनि सोचेका थिएनौँ’ प्रचण्डका विद्यार्थी नेता पृष्ठभूमिकै एक नेताले भने, ‘तर अध्यक्षज्युलाई त्यसरी लगालग घोचेर बोलेको कुराले साच्चै चित्त दुखेको छ । आफैँले त्यति ठूला घटनाबाट बचाउ गर्दै बचाउँदै यहाँसम्म आइपुग्दा उल्टै प्रचण्डलाई चाकडी गर्नेको सज्ञा दिनू राम्रो होइन । यो जनार्दनजीको घमण्ड र अराजक बोली हो ।’
उनका अनुसार प्रचण्डले विस्तारै जनार्दनलाई प्राथमिकतामा नदिने र आगामी दिनमा अवसर दिने कुरामा पनि निर्णय लिँदा सोचविचार गर्ने मनस्थिती बनाएका छन् ।