कठमाडौँ : कर्णालीको कथामा बनेको चलचित्र ‘प्रकाश’ काठमाडौँमा राम्रो व्यापार गर्न सफ ल बनेको छ । कर्णालीमा खिचिएका प्राय चलचित्र असफल हुने तथा चर्चामै सीमित हुने समस्या रहेका बेला जुम्लामा छायांकन गरिएको ‘प्रकाश’ चलचित्र काठमाडौँमा राम्रो रुचाइएको हो ।
भदौँ दोस्रो हप्ताबाट हलमा प्रदर्शन भएको चलचित्रले सफलतापूर्वक तेस्रो हप्ता टेकेको छ । जुन राम्रो सुरुवात हो । यसअघि कर्णालीको कथा बोकेको कालो पोथी फिल्म सफल बनेको थियो ।
दिनेश राउतले निर्देशन गरेको चलचित्र प्रकाशमा प्रदीप खड्का र दिया मास्केको मुख्य अभिनय छ । दिनेश राउत र प्रदीप खड्का चक्लेटी तथा प्रेमप्रधान चलचित्रमा चिनिएका नाम हुन् ।
तर उनीहरुले कर्णालीमा मोलेको जोखिम सफलतापूर्वक उठाउन सफल भएका छन् । सुरुमा कर्णालीको कथा बोकेको प्रकाशलाई पर्याप्त शो नदिएर काठमाडौँमा विभेद गरिएको थियो । यसविरुद्ध नायक प्रदीप खड्का आफैँ विरोधमा उत्रिएका थिए ।
उनको विरोधपछि हलमा शो समय बढाइएको थियो । शो बढाएपछि क्रमशः चलचित्रको व्यापार पनि उकालो लागेको थियो । अहिले निर्माण टिमले खास व्यापारको कारोबार सार्वजनिक नगरेपनि करोड हाराहारीमा फिल्मले एक हप्तामा उठाएको अनुमान गरिएको छ ।
जुम्लामा सरकारी शिक्षक बन्नका लागि जुम्लाकै एक युवाले गरेको संघर्षलाई फिल्ममा उतारिएको छ । ग्रामीण भेगमा युवाको शिक्षण पेशा र इमान्दारितामाथि गरिने राजनीतिलाई फिचर गरिएको फिल्मले उठाएको विषय गम्भीर भएका कारण पनि यो फिल्म धेरैले रुचाएका छन् ।
क–कसले हेरे चलचित्र प्रकाश ?
पहिलो हप्ता सफलतापूर्वक सम्पन्न भएर दोस्रो हप्तामा प्रवेश गरेको चलचित्र प्रकाशलाई शीर्ष राजनीतिक नेतृत्वले पनि रुचाएका छन् । माओवादी अध्यक्ष प्रचण्डदेखि कांग्रेस महामन्त्री गगन थापासम्मले चलचित्र प्रकाश रुचाएका छन् ।
यस्तै कर्णालीका भिजिनरी नेता नरेश भण्डारीले पनि काठमाडौँ आएर हेरेको चलचित्र रुचाएका छन् । उनको गृहजिल्ला जुम्लाकै कथा बोकेको फिल्म उनले काठमाडौँमा हलमै पुगेर हेरेका थिए ।
लेखक नयनराज पाण्डेदेखि धेरै लेखक, कलाकार, पत्रकारले हेरेको फिल्मले शिक्षण पेशा अंगालेका युवाहरुलाई पनि विशेष खालको शिक्षा दिएको छ । यस्तै यो चलचित्र शनिबार शिक्षामन्त्री देवेन्द्रराज पौडेलले पनि हेरेका छन् । शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधार, चर्चित कलाकार मदनकृष्ण श्रेष्ठदेखि किरण केसीसम्मले यो चलचित्र हेरेका छन् ।
इमान्दारसँग शिक्षण पेशामा लागेका युवाहरुमाथि गरिने राजनीतिक विभेदले निम्त्याएको गम्भीर मानवीय संवेदनालाई फिल्मले उठाएको समीक्षा पनि छ ।
यसअघि कर्णालीकै कथा बोकेको फिल्म ‘दोख’ भने पूर्णरुपमा असफल भएको थियो । अनुप बराल निर्देशित फिल्म दोख असफल हुँदा पनि अनुपले नै अभिनय सिकाएका प्रदीपले ‘प्रकाश’लाई न्याय गरेको चलचित्रको व्यापारबाट पुष्टि भएको छ ।
चक्लेटी अनुहारमा रोमान्टिक फिल्म मात्रै खेल्न सक्ने भनिएका प्रदीपले चरित्रमा डुबेर अभिनय गर्न सक्ने आफ्नो क्षमता पुष्टि गरेका छन् । यससँगै अब कर्णालीका कथा पनि काठमाडौँका चलचित्र निर्माता तथा निर्देशकमा पर्न थालेका छन् ।
यसअघि मीनबहादुर भामले कालो पोथीबाट थालेको प्रयास अहिले अनुप बराल र दिनेश राउतसम्म पुगेको छ । जुन सकारात्मक मान्न सकिन्छ । कर्णालीमा खिचिएका धेरै फिल्म असफल हुँदा पनि प्रकाशले कर्णालीको कथा आम मानिसहरुमाझ मात्रै पुर्याएको छैन, राम्रो निर्देशन गरिएको फिल्म बनाएमा कर्णालीको कथाले अपार व्यापार गर्न सक्ने सम्भावना पनि खोतलेको छ ।
अब यसले कर्णालीमा अरु थुप्रै विषयमा फिल्म बनाउन सक्ने ढोका पनि खोलेको छ । जुन कति परसम्म जान्छ ? हेर्न बाँकी छ । यसअघि मनाङ र मुस्ताङका कथा धेरै बिक्ने भएपनि अब कर्णालीको कथा पनि चलचित्रमा राम्रे बिक्छ भन्ने देखिएको छ ।
यद्यपी कर्णालीकै केही कलाकार र दलित समुदायका अभियान्ताले भने कर्णालीमा जर्जर दलित समुदायको विभेद समस्यालाई पूरानै चश्माले हेरिएको भन्दै विरोध जनाएका छन् । कर्णालीका कलाकार हिरा नेपाली, युवा पवन थापाले पनि कर्णालीको कथा प्रकाशलाई बहिष्कारसम्मको चेतावनी दिएका छन् ।
त्यसबाहेक फिल्मले धेरै क्षेत्रबाट राम्रो चर्चा र सफलता पाएको छ ।