काठमाडौँ : कर्णाली प्रदेश सरकारको पाँच वर्षमा दुई जना मुख्यमन्त्री बन्न सफल भएका छन् । कर्णाली प्रदेश सरकारको पहिलो कार्यकालमा दुई मुख्यमन्त्री बन्न सफल भएका हुन् । माओवादी केन्द्र (तत्कालीन नेकपा)बाट कालिकोटका महेन्द्रबहादुर शाही कर्णालीको पहिलो मुख्यमन्त्री बन्न सफल भए ।
तत्कालीन नेकपामा माओवादीले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री पाउने सहमति भएपछि कर्णालीमा नरेश भण्डारीलाई उछिन्दै महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
माओवादीमा छँदा फौजी कमाण्डर रहेका महेन्द्र शाहीले कर्णालीमा तीन वर्ष सरकार चलाउँदा फौजी शैलीमा चलाएका थिए । तीन वर्षसम्म जसरी पनि सत्ता बचाउन सफल रहेका शाही नेकपा फुटेर माओवादीबाट एमाले अलग्गिएपछि सत्ताबाट बाहिरिन बाध्य भएका हुन् ।
तीन वर्षसम्म कर्णाली प्रदेशको सरकार चलाएका शाहीले सफलता जति पाए, त्यसलाई बचाउन सकेनन् । उनको कार्यकालमा विवाद पनि धेरै रह्यो । जसकारण उनी लगातार विवादित बनिरहे । नेकपामा हुँदा सहमतिका आधारमा मुख्यमन्त्री बनेका शाहीले आप्mनो नेतृत्वको सरकार जोगाउन एमालेका नेता यामलाल कँडेलसँग धेरै प्रतिष्पर्धा गर्नुपरेको थियो ।
एकपटक अविश्वास प्रस्तावसम्म झेलेका मुख्यमन्त्री शाहीले पछि सहमतिकै आधारमा जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्न दिन राजीनामा दिएका थिए । गएको कात्र्तिकमा पहिलोपटक मुख्यमन्त्री बनेका मुख्यमन्त्री जीवन शाहीले पूरापुर एक वर्षसम्म सरकार चलाउने सम्भावना छ । चुनावसम्मै ढुक्कले मुख्यमन्त्री रहेका शाहीले व्यक्तिगत रुपमा केही नयाँ र फरक गर्न चाहेपनि योग्य मन्त्री र इमान्दार टिम नपाउँदा खासै केही गर्न सकेनन् । उनको पालामा गर्व गर्न लायक धेरै काम हुन सकेनन् ।
कर्णाली प्रदेश सरकारको पाँच वर्षमा दुई मुख्यमन्त्री बनेका शाहद्धयका केही समानता र विवाद पनि रहे । जसले उनीहरुलाई चर्चामा ल्याइरह्यो । चर्चा मात्रै होइन, नेपालभर कर्णालीको आलोचना र बदनाम पनि बन्यो । पार्टीगत स्वार्थका कारण चर्चामा रहेपनि धेरै विवादित बनेका दुई मुख्यमन्त्रीका चार समानता यसप्रकार छन्ः
१. केन्द्र सरकारका पूर्वमन्त्री
कर्णालीका दुई मुख्यमन्त्रीको पहिलो समानता भनेको उनीहरु सत्तामा नयाँ होइनन् । यसअघि दुवै जना केन्द्र सरकारमा मन्त्री भइसकेका व्यक्ति हुन् । हुम्लाका जीवन शाही केन्द्रमा पर्यटनमन्त्री थिए । उनले आफ्नो पालामा कर्णालीमा कालिकोटको कोटबाडा विमानस्थलमा जहाज ल्याण्ड गराएका थिए । शाही आफैँ पनि पाइलट हुन् ।
यस्तै महेन्द्र शाही पनि उर्जामन्त्री भइसकेका व्यक्ति हुन् । उनीहरु मुख्यमन्त्री बन्नैका लागि प्रदेशमा गएका थिए । जसमा दुवै जना दुई फरक पार्टीबाट प्रदेशमा पहिलोपटक मुख्यमन्त्री बन्न सफल रहे । दुवै मुख्यमन्त्री कर्णालीमा पहिलोपटक मुख्यमन्त्री बनेका हुन् । यसअघि केन्द्रमा मन्त्री भइसकेका उनीहरु आफैले सरकारको नेतृत्व गर्न भने पहिलोपटक पाएका हुन् ।
पहिलो मुख्यमन्त्री बन्न सफल महेन्द्र शाहीका पालामा १२ जनाले मन्त्री बन्ने अवसर पाए । कर्णालीमा तीन वर्ष शासन गरेका मुख्यमन्त्री महेन्द्र शाही कम बोल्थे, तर पनि विवादबाट मुक्त हुँदैनथे । यस्तै जीवन शाही पनि पहिलोपटक मुख्यमन्त्री हुँदा धेरै विवाद खेपे । जसकारण उनीहरु दुवै चर्चामा रहन सफल भए ।
२. पहिलोपटक दुवै शाही मुख्यमन्त्री
कर्णालीमा महेन्द्र शाही र जीवन शाही मुख्यमन्त्री बन्दा धेरै आलोचना पनि भएको थियो । किनभने दुवै मुख्यमन्त्रीका सरकार लामो समयसम्म समावेशी हुन सकेन । मुख्यमन्त्री महेन्द्र शाहीको पहिलो सरकार गठन हुँदा एक जना पनि दलित र जनजातीबाट मन्त्री बन्न सकेनन् । जसकारण उनको आलोचना बढ्यो ।
यस्तै जीवन शाहीले पनि आफ्नो पहिलो कार्यकालमा एक जना मन्त्रीलाई पनि मन्त्री बनाउन सकेनन् । उनको पहिलो ६ महिनामा महिला र दलितविहीन सरकार भन्दै चर्को आलोचना भएको थियो । उनीहरु दुवैले समावेशी सिद्धान्तलाई बेवास्ता गरेको भन्दै शाहवंशीय राजतन्त्र लादेको आरोप पनि लागेको थियो ।
पछि महेन्द्र शाहीको सरकारमा दलितबाट सीता नेपाली मन्त्री बन्दा जीवन शाहीको पालामा कृष्णा शाह र रातो काम समावेशिताका आधारमा मन्त्री बनेका थिए ।
३. गृहजिल्लाकै मन्त्रीका कारण आलोचना र विवादित
भनिन्छ, सबैभन्दा ठूलो घात प्रतिघात आफ्नैबाट हुन्छ । कर्णालीका दुवै मुख्यमन्त्रीलाई त्यस्तै भयो । पहिलो मुख्यमन्त्री महेन्द्र शाहीले कालिकोटबाटै मन्त्री बनेका कुर्मराज शाहीका कारण ठूलो बदनामी व्यहोरे ।
कृषि मन्त्री रहेका बेला शाहीको सेक्स स्याक्डल सामाजिक सञ्जालमा भाइरल हुँदा पनि मुख्यमन्त्री शाहीले उनलाई बर्खास्त गर्न सकेनन् । उनीमाथि कुनै छानबिन पनि अगाडि बढाउन सकेनन् ।
बरु निरीह भएर उनले दुई महिनासम्म आलोचना मात्रै सहनुपर्यो । सरकार अल्पमतमा रहेका बेला उनले चुपचाप सहेरै बरु मुख्यमन्त्री पदबाटै राजीनामा दिए । तर साह्रै विवादित र बदनाम भएका कुर्मराजलाई हटाउन भने सकेनन् ।
यस्तै पहिलोपटक मुख्यमन्त्री बनेर केही राम्रो काम गर्ने सोच बनाएका जीवन शाहीले पनि हुम्लाकै कार्चेन लामाका कारण ठूलो आलोचना व्यहोर्नुपर्यो । मूर्ति चोरको आरोप लागेर जेल समेत बसिसकेका लामालाई माओवादीले मन्त्रीमा सिफारिस गर्दा उनले रोक्न सकेनन् । गैरसांसद रहेका लामालाई शाहीले मन्त्री नियुक्त गरेर शपथसमेत खुवाए ।
तर मूर्ति चोरको आरोपले बदनाम बनेका लामालाई मन्त्री बनाएको भन्दै माओवादीसँग मुख्यमन्त्री शाहीको पनि आलोचना भयो । अरु धेरै विषयमा दुवै मुख्यमन्त्रीकै आलोचना भएपनि गृह जिल्लाकै मन्त्रीहरुको आलोचनाले दुवै मुख्यमन्त्रीलाई निकै सकस परेको देखियो । जुन धेरै परसम्म नजीर बस्न सक्ने सम्भावना छ ।
४. सुनौलो अवसर पाएपनि असमावेशी र असफल
कर्णालीका दुवै मुख्यमन्त्रीको चौथो असमानता भनेको उनीहरु असमावेशी रहे । सरकारमा सन्तुलन मिलाउन नसक्दा आफ्नो कार्यकालमा धेरै हदसम्म असफल पनि भए । इतिहासमा नाम लेखाउन सकेका मुख्यमन्त्रीले प्रदेशमा इतिहास लेख्न लायक ठूलो काम भने गर्न सकेनन् ।
संविधानको मर्मअनुसार उनीहरु जसरी मुख्यमन्त्री बनेका थिए, त्यही अनुसार संविधानकै मर्मअनुसार समावेशी सिद्धान्त पनि लागू गराउन सक्नुपर्छ । त्यसमाथि कर्णालीमा अनिवार्य रुपमा समावेशी सिद्धान्त अपरिहार्य रुपमा लागू गराउनुपर्ने हुन्छ । तर दुवै मुख्यमन्त्रीले आफ्नो कार्यकालमा समावेशी सिद्धान्त लागू गर्न सकेनन् ।
महेन्द्र शाहीले सुरुको समयमा सरकार चलाउँदा दलित र जनजातीबाट कसैलाई पनि मन्त्री बनाएनन् । उनले त्यसलाई आवश्यक सम्झेनन् । जीवन शाही पनि पहिलोपटक मुख्यमन्त्री बनेको समयमा दलित र महिलालाई पूर्ण रुपमा निषेध गरेको दृश्य देखियो । ठूलो दबाब, आलोचना, मुद्दा मामिला परेपछि मात्रै दुवै मुख्यमन्त्री बाध्य भएर समावेशी सिद्धान्त लागू गराउन अघि बढे ।
अन्यथा उनीहरुले समावेशी सिद्धान्तलाई कुल्चेर आफ्नै सरकारलाई सन्तुलनमा राख्न सकेनन् । ऐतिहासिक रुपमा पहिलो मुख्यमन्त्री बनेपनि महेन्द्र शाही र जीवन शाही भने मुख्यमन्त्रीका रुपमा धेरै काम र अवसलाई यतार्थमा बदल्नबाट असफल भए । उनीहरुको धेरै समय सत्ता टिकाउने, मन्त्री बनाउने, कार्यकर्ताको चित्त बुझाउनेमा गयो ।
उनीहरुले जुन अवसर ऐतिहासिक रुपमा पाएका थिए । त्यसलाई यतार्थमा परिणत गर्न नसक्दा आफ्नो ऐतिहासिक कार्यकाललाई कर्णालीको समृद्धिमा ढाल्न सकेनन् । दुवै मुख्यमन्त्रीको स्वार्थ सत्ताले गर्दा कर्णालीको समृद्धि सपना भने सारमा बेपत्ताजस्तै रह्यो । उनीहरुले कर्णालीको सुन्दर भविष्य कोर्ने ऐतिहासिक कलमलाई छिटो, तिखो, व्यवस्थित, स्मार्ट र सुन्दर बनाउन सकेनन् ।