काठमाडौँ : पछिल्लो समय नेपालको संघीयतामा प्रदेश सरकारको औचित्यमाथि धेरैले प्रश्न उठाएका छन् । स्थानीय तहलाई थप अधिकार दिएर शक्तिशाली बनाएमा प्रदेश सरकारको आवश्यकता र औचित्य नपर्ने धेरैको बुझाई छ ।
तर यो सामान्य बुझाई क्षणिक हो । संघीयताले विकेन्द्रीकरणलाई जोड दिन्छ । त्यो भनेको केन्द्रीकृत व्यवस्था र सोचलाई चिरेर कार्य विभाजन गर्दै तल्लो तहसम्म अधिकार दिने व्यवस्था गर्छ । जसले नागरिकलाई सहज रुपमा सेवा प्राप्त होस् । अनि सानो सानो कामका लागि सरकारकै मुख ताक्नुपर्ने, केन्द्रीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य होस् ।
यसैका लागि नेपालमा पनि प्रदेश सरकार गठन गरिएको हो । राज्य पुनसंरचना गर्दा ७५३ पालिका बनाउँदा सात वटा प्रदेश सरकार बनाइएको छ । त्यसमा कर्णाली प्रदेश सरकार सुरुमा शीर्ष नेताहरुको प्राथमिकतामा परेको थिएन । तर कर्णालीकै जनताले आन्दोलन गरेर छुट्टै प्रदेश माग गरेर सडकमा आगो बाल्दा चार जनाको रगत बगाएर कर्णाली प्रदेश स्थापना भएको हो ।
कर्णालीमा पहिलोपटक छुट्टै प्रदेश सरकार गठन भयो । पहिलो प्रदेश सरकारको पहिलो पाँच वर्षको कार्यकाल सकिन लागेको छ । यसबीचमा प्रदेश सरकारले धेरै काम पनि गरेको छ ।
तर संवैधानिक, राजनीतिक, सैद्धान्तिक र व्यावहारिक रुपमा प्रदेश सरकारले गरेका केही काम ऐतिहासिक छन् । जुन औपचारिक भएपनि ती महत्वपूर्ण सुरुवात हुन् । जसको सुरुवातले कर्णाली विस्तारै अब समृद्धिको मार्गमा अगाडि बढ्छ भन्ने विश्वास छ । जसका ५ बुँदामा कर्णाली समृद्धिको सुरुवात यसप्रकार छन्ः
१. कर्णालीको नाम र पहिचान
प्रदेश सरकारको विशेषता भनेको कुनै पनि भूगोल र क्षेत्र विशेषको पहिचान हो । यसअघि संघीयता हुँदा र नहुँदा पनि कर्णालीको परिचय र भूगोल थियो । जुन संघीय सरकार मातहत थियो । तर अब कर्णाली प्रदेश सरकार आफैमा स्वतन्त्र सरकार हो । केन्द्रकै जसरी कर्णाली प्रदेश सरकारले आफ्नो तबरले बजेट बनाउनेदेखि विकास निर्माणका काम गर्छ ।
कर्णालीको अर्को विशेषता भनेको आफ्नो भूगोलभित्रको संरचना र सरकारी निकायलाई नेतृत्व गर्नु हो । एकतामा बाध्नु । साझा योजना र उद्धेश्य बनाउनु हो । आफ्नै सरकार छ । आफ्नै योजना र बजेट छ । अब सरकारका आफ्नै योजना र प्रतिबद्धता पनि हुन्छन् । यदि प्रदेश सरकार हुदैन्थ्यो भने यो असम्भव हुन्छ । किनकी केन्द्रले पालिकालाई बजेट, अधिकार र जनप्रतिनिधि त दिन्छ । तर पहिचान, नाम र स्वतन्त्रता दिँदैन । सोही कारण विगतमा कर्णाली पछाडि परेको थियो ।
आज कर्णालीको आफ्नै नाम छ, ढिलोचाँडो आवश्यकताअनुसार सही नेतृत्वमार्फत कर्णाली विकासको गतिमा अगाडि बढ्छ । कर्णालीमा आफ्नै भूगोलको सरकार बन्नु नै समृद्धिको सुरुवात हो ।
२. आफ्नै सरकार र बजेट
विगतमा कर्णालीको आफ्नो सरकार र बजेट थिएन । केन्द्र सरकारमा बजेट र सरकार भएपनि त्यहाँ कर्णाली प्राथमिकतामा पर्दैन्थ्यो । कर्णालीका जनप्रतिनिधिले सुरुदेखि नै केन्द्रसँग पहुँच बनाउन सकेनन् । जसकारण कर्णाली सँधै ओझेलमा परिरह्यो ।
हिजो केन्द्रबाट शासित कर्णाली आज आफ्नै शासन गर्ने सरकार बनाएको छ ।
बल्ल कर्णालीले विकास गर्ने शासन पाएको छ । प्रत्येक पाँच वर्षमा अरु ठाउँमा जस्तै कर्णाली प्रदेश सरकार गठन हुन्छ । एक जना मुख्यमन्त्री र ७ जना मन्त्री हुन्छन् । मुख्यमन्त्री नेतृत्वको प्रदेश सरकारले आफ्नै बजेट ल्याउँछ । कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्र शाही हुँदा अर्थमन्त्री प्रकाश ज्वालाले पहिलो बजेट ल्याए । त्यो बजेटको आकार सानो थियो । सरकार स्थिर हुन सकेन । यो सबै प्राविधिक विषय हो ।
तर अरुले जस्तै कर्णाली प्रदेशले आफ्नै सरकार र बजेट बनाउन पाएको छ । यो पनि कर्णाली समृद्धिको सुरुवात हो । अहिले भएका मन्त्री, मुख्यमन्त्रीले विधि र प्रक्रियाअनुसार प्रदेश सरकार सञ्चालन गर्न जानेका छैनन्, व्यवस्था आएपछि सही पात्र र नेतृत्व पनि आउँछन् । त्यसका लागि सही व्यक्तिलाई जनताले भोट दिनुपर्छ । अनि मात्रै विहारका मुख्यमन्त्री नीतिशकुमारले जसरी कर्णालीको पनि कायापलट कुनै न कुनै मुख्यमन्त्रीले अवश्य गर्नेछन् ।
३. एकता र अस्तित्व
क्र्णाली प्रदेश सरकारको गठनले सबै कर्णाली भूगोलका मानिसहरुलाई एकतामा बाधेको छ । हिजोका दिनमा पनि कर्णालीको नाम थियो । तर त्यो नाम वैधानिक, औपचारिक, स्वतन्त्र अस्तित्व रहने गरि थिएन । आज कर्णालीको नाम पहिचान, भूगोल र एकतामा अस्तित्व भएको नाम हो । कर्णाली प्रदेश सरकार अन्तर्गत ७९ वटा पालिका छन् ।
जसको साझा उद्धेश्य कर्णालीको विकास गर्नु हुन्छ । यदि पालिकाले विकास गरे भनेपनि प्रदेश सरकार नहुँदा त्यसले एकतामा बाँधेर कर्णालीको अस्तित्व बचाइराख्न सक्दैन । केन्द्र सरकारले कर्णाली मात्रै हेर्दैन । त्यसैले कर्णालीका सबै पालिका, जनप्रतिनिधि, सरोकारवाला र सम्बन्धित निकायलाई एकतामा बाँध्ने र अस्तित्व रक्षाको काम प्रदेश सरकारले गर्छ । जुन आफैँमा कर्णाली समृद्धिको सुरुवात हो ।
अहिले त्यो सुरुवात बलियो र प्रभावकारी छैन । आगामी आउने प्रदेश सरकारले त्यसलाई बलियो र पावरफूल बनाउनेमा शंका छैन । किनकी अहिलेको नेतृत्व भर्खर नयाँ, अपरिपक्व र हतारमै आएको नेतृत्व हो । जसकारण सही पात्र प्रदेशमा नहुँदा संरचनाअनुसार विकास भएको छैन । जुन ढिलोचाँडो विकासको गतिमा अगाडि बढ्छ ।
४. स्वतन्त्रता र सफलता
क्र्णाली प्रदेश आज स्वतन्त्र छ । आफ्नै विधि, विधान, ऐन नियमअनुसार सरकार गठनदेखि प्रदेशभरी भएका हरेक विकास निर्माणका कामलाई स्वतन्त्र रुपमा प्रदेश सरकारको उपलब्धीका रुपमा व्याख्या गर्न सक्छ । आज कर्णालीमा सरकार छ । मन्त्रालय छन् । मन्त्री छन् । प्रदेश राजधानीमा कारखाना उद्योग थपिएका छन् ।
नयाँ नयाँ बजार उत्पादन कर्णालीमा भरिएका छन् । शपिङ मल निर्माणदेखि बैंकको शाखा र कार शोरुम बढेका छन् । यो कर्णालीको विकास र विविधता हो । यदि प्रदेश नभएको भए कुनै पनि बजार यसरी तीव्र रुपमा अगाडि बढ्ने थिएन । प्रदेश आफैँमा स्वतन्त्र भएपछि नै त्यसले विस्तारै भौतिक विकासमा पनि सफलता हात पार्ने हो ।
अहिले कर्णाली बजार क्षेत्र, निजी क्षेत्र, व्यापारिक क्षेत्र तीव्र रुपमा अगाडि बढ्नु पनि कर्णाली प्रदेशको सफलता हो । जुन हिजोका दिनमा थिएन । तर आज प्रदेश सरकार भएर कर्णालीमा विकास भइरहेको छ ।
५. कर्णालीका जनतालाई कर्णालीकै नेतृत्व
आज कर्णाली प्रदेशका हरेक कार्यक्रम तथा गतिविधिमा सरकारको उपस्थिती हुन्छ । जुन प्रदेश सरकार हो । कुनै पनि विकास निर्माणको माग गर्न केन्द्रीय राजधानी काठमाडौँ पुग्नैपर्छ भन्ने बाध्यताको अन्त्य भएको छ । हरेक जसो कार्यक्रम, गतिविधि प्रदेश सरकारको नेतृत्वमा अगाडि बढेको छ ।
आजका दिनमा कुनै पनि महत्वपूर्ण कामका लागि केन्द्रबाट मन्त्री गइरहनु पर्दैन । प्रदेश सरकारकै मुख्यमन्त्री र मन्त्री भएको खण्डमा कार्यक्रम अगाडि बढ्छ । हरेक पालिकाका जनप्रतिनिधि आज आफ्नो सरकारको रुपमा प्रदेश सरकारलाई लिन्छन् । किनकी त्यसले पहिचान र एकता दर्शाउँछ । सोहीकारण कर्णालीका जनताले आफ्नै प्रदेश सरकार र अभिभावकत्व पाएका छन् ।
आज त्यो अभिभावकीय भूमिकामा रहेका पात्र परिपक्व छैनन् । तर अहिलेका खराब पात्र बिदा भएर नयाँ र परिपक्व पात्र आएको खण्डमा प्रदेश सरकारले काँचुली फेर्छ । कर्णालीको पनि कायापलट हुन्छ । कर्णालीको कायापलट अरुले होइन, केन्द्रले होइन, कर्णाली प्रदेशकै नागरिक, नेता र नेतृत्वले गर्छ । यो नै संघीयता र प्रदेश सरकारको सुन्दरता हो ।
अहिले पहिलो वर्षको अभ्यास हो । विस्तारै योजनाबद्ध परिपक्व नेतृत्व आएको खण्डमा कर्णाली प्रदेश सरकार समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्छ । तर अहिले सुरुवात भएको छ, यो नै आफैँमा ऐतिहासिक समृद्धिको सुरुवात हो ।